सुर्खेत– लेखक तथा निर्देशक निर्मल पौडेलको सर्ट फिल्म ‘निलो आकाश’ मा निकिता चन्दकले मुख्य भूमिकामा अभिनय गरेकी छन् । तराई मधेसको पात्रको रुपमा उनले अभिनय गरेकी हुन् ।
यो लघु चलचित्रले मधेसका महिलाको कथा उठान गरेको छ । निलो आकाश सर्ट फिल्मका लागि निकिता चन्दकले आफ्नो तस्बिरको लुक पनि सार्वजनिक गरेकी छन् । निकिता २०१७ मिस नेपालको विजेता हुन् । २०७४ जेठ १९ गते काठमाडौंमा भएको ग्रान्ड फिनालेमा १९ जना सुन्दरीलाई पछि पार्दै निकिताले उपाधि जितेकी थिइन् ।
निकिता आफ्नो चलचित्र यात्रामा ‘रानी महल’बाट कदम राख्ने तयारी गरेकी थिइन । तर, आन्तरिक विवादका कारण यो चलचित्र बन्न सकेन ।
अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘साङ्लो’ मा निकिता चन्दकले मुख्य अभिनेत्रीको भूमिका निभाएकी छिन् । यो चलचित्र २०७६ माघ २४ गते देखि प्रदर्शनमा आएको थियो ।
निर्मल पौडेल निर्देशित लघु फिल्म ‘निलो आकाश’ ले सुटिङ सम्पन्न गरेर हाल पोष्ट प्रोडक्सनको काम गरिरहेको छ । काफिया मिडिया सेन्टर र निर्मल पिक्चर्सको ब्यानर निर्मित फिल्मको निर्माताको रुपमा आस्था शर्मा, गणेशकञ्चन भारती रहेका छन् भने को–प्रोडुसरको रुपमा तेजु पाण्डे छन् । फिल्मको सिनेमाटोग्राफी दीपंकर सिक्देरले गरेका छन् । उनी भारतीय सिनेमाटोग्राफर हुन । बलिउडमै काम गरिरहेका उनी उक्त सर्ट फिल्म खिच्न नेपाल आएका थिए ।
सुरज यादव, सुरभी सापकोटा लगायत कलाकारहरुको अभिनय रहेको सर्ट फिल्म ‘निलो आकाश’लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलहरुमा प्रर्दशन गर्ने योजना रहेको निर्देशक पौडेलले बताए ।अस्कर कलेज अफ फिल्म इन्डस्ट्रिजबाट फिल्म निर्देशनमा स्नातक पौडेलको ‘म कमरेड’ नामक सर्ट फिल्म सिकागो साउथ एशियन फिल्म फेष्टिबल, ढाका फिल्म फेष्टिबल लगायतका विभिन्न महोत्सवमा छनौटमा परेको थियो ।


कर्णाली समय । ११ श्रावण २०८०, बिहीबार ०८:५४