कर्णालीमा बेरुजु फर्छ्यौट गर्न परामर्शदाताको सहयोग लिइने

कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितिले बेरुजु फर्छ्यौट कार्यलाई अघि बढाउन परामर्शदाताको रुपमा विज्ञ माग गर्ने निर्णय गरेको छ ।
समितिको आइतबारको बैठकले यसका लागि संसद सहयोग परियोजनासंग सहयोग माग गर्ने निर्णय गरेको हो ।

समितिका सभापति जीतबहादुर मल्लले बेरुजु फर्छ्यौट कार्यलाई प्रक्रियागत रुपमा अगाडि बढाउनका लागि परियोजनासंग परामर्शदाताको रुपमा तीन जना आर्थिक प्रशासन विज्ञ माग गर्ने निर्णय भएको जानकारी दिए । महालेखा परीक्षकको कार्यालयका अनुसार कर्णाली प्रदेशको बेरुजु ४ अर्ब ३६ करोड नाघिसकेको छ । अन्य प्रदेशभन्दा कर्णालीको बरुजु बढी भएपछि सार्वजनिक लेखा समितिले प्रदेश सरकारलाई बेरुजु फर्छ्यौट गर्न ताकेता गरेको छ ।

समितिले पछिल्लो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी, भौतिक पूर्वाधारमन्त्री मंगल शाही, सामाजिक विकासमन्त्री खड्ग बहादुर पोखरेल र सामजिक विकास मन्त्रालयका सचिव डा. भोजराज शर्मा काफ्लेलाई बोलाएर आर्थिक वर्ष ०७७÷०७८ को बेरूजुको बारेमा छलफल गरेको थियो । बैठकमा मन्त्रीहरुले मन्त्रालयस्तरबाट आवश्यक छलफल तथा अध्ययन गरी समितिमा विवरणसहित जानकारी गराउने प्रतिबद्धता जनाएका थिए ।

लेखा समितिका सचिव उपेन्द्र गुरुङका अनुसार बैठकले यही भदौ १३ गते कृषिमन्त्री, उद्योगमन्त्री, जलस्रोतमन्त्री र सचिवहरूलाई पनि छलफलका लागि बोलाउने निर्णय गरेको छ । यसैबीच, आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बेरुजु फर्छ्यौट गर्ने कार्यलाई अभियानकै रुपमा लिन कार्यालय प्रमुख र लेखा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,