अदालतमा धर्ना बसेकी दिदीको शरीरमा बहिनीले पेट्रोल छर्केपछि…

सुर्खेत– श्रीमानको हत्यामा संलग्नलाई जिल्ला अदालतले धरौटी र तारेखमा छाडेपछि जाजरकोटकी एक महिलाले विहीबार उच्च अदालत सुर्खेतको गेटमै आत्मदाहको प्रयास गरिन् ।

सेतो कफन पहिरेर नाबालक छोराका साथ धर्ना बसेकी जुनीचाँदे गाउँपालिका–६ मइपकी निर्मला शाही र उनकी बहिनी शर्मिला शाहीलाई प्रहरीले नियन्त्रणमा लियो । बहिनी शर्मिलाले पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेकी थिइन् । उनले दिदीको निर्मलाको शरिरमा आगो लगाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।
जाजरकोट जिल्ला अदालतले निर्मलाका श्रीमान रामबहादुर शाहीको कर्तव्य ज्यान मुद्दामा चार जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो ।

बाँकी दुई जनालाई धरौटी र दुई जनालाई साधारण तारेखमा छाडेपछि निर्मला सोमबारदेखि उच्च अदालतमा धर्ना बसेकी हुन् । ‘शान्तिपूर्ण रुपमा धर्नामा बसिराख्नु भएको थियो आज एक्कासी शर्मिला शाहीले पेट्रोल ल्याएर छर्केर आगो लगाउन खोजेपछि हामीले नियन्त्रणमा लिएका हौं,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी वीरेन्द्रबीर विश्वकर्माले भने, ‘आगो लगाउन खोज्ने शर्मिलालाई प्रहरीले नियन्त्रणमा लिएपछि धर्नामा बस्नुभएकी उहाँको दिदीले आफू पनि प्रहरी कहाँ जान्छु भनेपछि कार्यालयमा ल्याएका छौं ।’
रामबहादुर माघ १७ गते जुनिचाँदे गाउँपालिका–५ स्थित शिवपुरी माध्यमिक विद्यालयमा भइरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हेर्न गएका थिए । भोलिपल्ट उनी काहाँरे खोलामा मृत अवस्थामा भेटिए । घटना शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटले थप प्रहरी टोली खटाएर गहिरो अनुसन्धान ग¥यो । घटनास्थलमा रगतजस्तो देखिने रातो पदार्थ भेटिएको र उनको टाउको र कानमा चोट देखिएको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा बताएको थियो ।

अनुसन्धानको क्रममा रामबहादुरको हत्यामा संलग्न भएको आरोपमा जाजरकोट प्रहरीले ९ जनालाई पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको थियो । रामबहादुरको हत्यामा संलग्न भएको आरोपमा सोही ठाउँका तुलाकुमारी शाही, बीरबहादुर शाही, जयबहादुर शाही, प्रेमबहादुर शाही, रत्नबहादुर शाही, मैसरा शाही, रेशमबहादुर शाही, रामबहादुर शाही र मैप १ नाबालकलाई पक्राउ गरेको थियो । जाजरकोट प्रहरीले उनीहरु विरुद्ध फागन ११ गते अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरायो । अदालतले फागुन १३ गते थुनछेक बहसपछि पाँच जनालाई धरौटी र चार जनालाई कारागार चलान गरेपछि रामबहादुर पत्नी निर्मला अदालतको निर्णयप्रति आक्रोशित बनिन् ।
जाजरकोट जिल्ला अदालतले रेशम, राम र एक नाबालकलाई साधारण धरौटीमा छाड्न आदेश दिएको थियो । पुर्पक्षका लागि तुलाकुमारी, बीरबहादुर, जयबहादुर र प्रेमबहादुरलाई कारागार चलान गर्ने आदेश दियो । मुद्दाको अन्तिम सुनुवाइ भएको छैन् ।

रामबहादुरकी श्रीमती निर्मलाले धरौटीमा अदालतले छाडेकोमा चित्त नबुझेको भन्दै छुटेकाहरुलाई थुनामा पठाइ पाउँ भन्दै उच्च अदालतमा निवेदन दर्ता गराएकी छन् । निर्मलाले विभिन्न आठ बुँदे माग राख्दै उच्च अदालत अगाडि सोमबारदेखि धर्नामा बसेकी थिइन् । ‘जिल्ला अदालतको आदेश चित्त नबुझेपछि धरौटी छुटेकाहरुलाई थुनामा राखी पाउँ भन्ने मुद्दा विचाराधिन छ,’ उच्च अदालत सुर्खेतका प्रवक्ता प्रेमप्रकाश थापाले भने, ‘जिल्ला अदालतबाट कैफियत माग भइसकेकाले प्रक्रियामा गइसकेको छ, दुवै पक्षलाई जानकारी दिएपछि पेशी तोकेर थप प्रक्रिया अघि बढ्छ ।’

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,