
सुर्खेत- शनिबारदेखि जारी कर्णाली उत्सवको सातौं संस्करणको ‘महिला मुखिया’ सत्रका सहभागी जनप्रतिनिधिहरूले समाजको वास्तविक रूपान्तरणका लागि महिलाहरू निर्णायक पदमा पुग्नुपर्नेमा जोड दिएका छन् । सुर्खेतको भेरीगंगा, बर्दियाको ठाकुरबाबा र चितवनको गैंडाकोट नगरपालिकाका उपप्रमुखहरूले आफ्ना अनुभव सुनाउँदै चुनौतीपूर्ण अवस्थामा पनि न्याय र विकासका लागि अडिग रहेको बताए ।
भेरीगंगा नगरपालिकाकी उपप्रमुख धनसरा बोहोराले शिक्षा, स्वास्थ्य र महिला अधिकारलाई आफ्नो मुख्य एजेण्डा बनाएको बताइन । ‘महिलाहरूलाई आर्थिक रूपमा सम्पन्न नबनाई समाज बदलिँदैन,’ बोहोराले भनिन्, ‘न्यायिक समितिमा काम गर्दा धेरै दबाब आए पनि सधैँ न्यायको पक्षमा उभिएकी छु । अबको निर्वाचनमा महिलाहरूले सहायक मात्र नभई निर्णायक पदमा दाबी गर्नुपर्छ ।’
यस्तै, प्रकृति संरक्षणको क्षेत्रबाट राजनीतिमा आएकी ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख विनाकुमारी भट्टराईले थारु समुदायमा रहेको चेतनाको अभाव र महिलाप्रतिको दृष्टिकोण बदल्न आफूले काम गरेको सुनाइन । उनले आफ्नो कार्यकालमा ठाकुरबाबामा १२ कक्षासम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क गराउँन सफल भएको बताइन । उनले भनिन्, ‘सुरुमा धम्की र राजीनामाको दबाब आए पनि म विचलित भइनँ । कुर्सी पदका लागि मात्र होइन, सेवाका लागि हो भन्ने मेरो मान्यता छ ।’ उनले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न जनप्रतिनिधिका छोराछोरीलाई पनि सामुदायिकमै पढाउनुपर्ने नीति लागू गरिएको जानकारी दिइन ।
गैंडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइरालाले उपप्रमुखको भूमिकालाई एउटा अभिभावकसँग तुलना गरिन । ३० वर्षदेखि रोकिएका बाटोका विवादहरू समाधान गर्न आफूले साहसी कदम चालेको उनले बताइन । जेन–जी आन्दोलनमा आफ्नो घर र कार्यालय जलाइएको दुःखद घटना स्मरण गर्दै कोइरालाले भनिन्, ‘मेरो घर जल्यो, तर आत्मबल जलेन । भौतिक सम्पत्ति फेरि बन्ला, तर जनताको विश्वास नजलोस् भन्नेमा म सधैँ सचेत रहेँ ।’ उनीहरुले महिला सहकारीमार्फत आर्थिक आत्मनिर्भरताका कामहरू गरिरहेको बताउँदै समाजले जहाँ खोज्छ, त्यहीँ उभिएर सेवा गर्ने प्रतिबद्धता जनाएका थिए ।
सत्रका सहभागी तीनै जना महिला नेतृत्वले अबको राजनीतिमा ५० प्रतिशत महिला सहभागिता र निर्णायक भूमिका सुनिश्चित हुनुपर्ने माग राखे । चुनौतीपूर्ण राजनीतिक वातावरण र सामाजिक अवरोधका बाबजुद उनीहरूले सुशासन, निःशुल्क शिक्षा र न्यायिक निष्पक्षतालाई आफ्नो कार्यकालको उपलब्धि मानेका छन् ।



कर्णाली समय । १ बैशाख २०८३, मंगलवार १७:५८