
सुर्खेत — १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले स्थलगत अनुसन्धान सकेर काठमाडौं फर्किसकेको छ भने अब केही ल्याब रिर्पोटको पर्खिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
२३ फागुनमा मृत्यु भएकी इनिशाको शव १८ दिनदेखि कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिशा परिवारका साथ वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी थिइन् । फागनु २३ गते शनिबार बिहान ६ बजे नै ट्युसन पढ्न भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले उनलाई प्रदेश अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले घटनास्थलबाट नै एक १६ वर्षे किशोरलाई नियन्त्रणमा लिएको थियो, जसले इनिशाको प्रेमी भएको बयान दिएका छन् ।
घटनापछि परिवारले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै चार जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले घटनाकै दिन एक १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको थियो भने उनको बयानका आधारमा भोलिपल्ट थप तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो । वीरेन्द्रनगरकै १६ वर्षीय ती किशोर इनिशाका प्रेमी भएको खुलेको छ । पक्राउ परेका चारै जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीको भनाई छ । मुख्य घटनामा अन्य तीन जनाको प्रत्यक्ष संलग्नता पुष्टि नभएपनि घटनास्थलमा पुगेपछि आवश्यक सूचना समयमै नदिएको लगायतका कारण उनीहरूविरुद्ध पनि मुद्दा चलाइने तयारी गरिएको छ । तर अन्य तीन जनाका परिवारले भने उद्धारका लागि घटनास्थल पुगेकालाई फसाउन नहुने जिकिर गर्दै आएका छन् ।
१८ दिनदेखि शव अस्पतालमै
पीडित परिवारले दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । “छोरी गुमाइसकेका छौं, अब न्याय नपाई शव बुझ्ने कुरा आउँदैन,” इनिशाका बुवा इन्द्रबहादुर विकले भने । न्यायिक प्रक्रियामा भइरहेको ढिलाइले परिवारलाई थप पीडा दिएको छ । रोजगारीका लागि दुबईमा रहेका इन्द्रबहादुरको बिदा सकिन लागेको छ । “उता काममा फर्किनुपर्ने दबाब छ, यता छोरीको दाहसंस्कार गर्न पाइएको छैन,” उनले भने । घटनाबारे स्पष्ट जानकारी सार्वजनिक नभएको भन्दै उनले अनुसन्धानप्रति आशंका समेत व्यक्त गरे ।
घटनाको गाम्भीर्यतालाई ध्यानमा राख्दै सुर्खेत प्रहरीले फागुन २८ गते सीआईबीको सहयोग मागेको थियो । त्यसपछि विज्ञ टोली स्थलगत अनुसन्धानमा खटिएको थियो । हालसम्म जिल्ला प्रहरी कार्यालय र सीआईबीसहित चारवटा टोलीले अनुसन्धान गरेका छन् । सुर्खेत प्रहरीका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार पोस्टमार्टम, डिजिटल तथा प्रारम्भिक फरेन्सिक प्रतिवेदन आइसकेका छन् भने टक्सिकोलोजिकल, भिसेरा र बायो–सेरोलोजिकल प्रतिवेदन आउन बाँकी छन् । ती प्रतिवेदन प्राप्त हुनासाथ अनुसन्धान टुंगिने उनले बताए । पोस्टमार्टम प्रतिवेदनमा बलपूर्वक शारीरिक सम्बन्धपछि संवेदनशील अंगमा गम्भीर चोट लागी अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख छ ।
प्रहरीका अनुसार इनिशाका प्रेमी भनिएका १६ वर्षीय किशोरले इनिसासँग सहमतिमै शारीरिक सम्बन्ध भएको र त्यसपछि अत्यधिक रक्तस्राव भएपछि उनी अचेत भएको बयान दिएका छन् । त्यसपछि साथीहरूलाई बोलाएको बताएका छन् । अन्य तीन जनाले आफूहरू सहयोगका लागि घटनास्थलमा पुगेको बताएका छन् । उनीहरूको बयान, सीसीटीभी फुटेज र कल विवरणबीच टाइमलाइन मिलेको डिएसपी थापाको दाबी छ । साथै उनले अनुसन्धान लगभग पूरा भइसकेको र छिट्टै सबै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइने जनाए ।



कर्णाली समय । १० चैत्र २०८२, मंगलवार १७:१७