सुर्खेत–विश्व बैंकको सहयोगमा कर्णाली प्रदेशका चार स्थानीय तहको ग्रामिण सडक स्तरोन्नति हुने भएको छ ।
दैलेखको डुङ्गेश्वर गाउँपालिका, हुम्लाको अदानचुली गाउँपालिका, डोल्पाको छार्का ताङसोङ गाउँपालिका र कालीकोटको महावै गाउँपालिकाको मुकाम जोड्ने सडकको कालोपत्रे, आवधिक मर्मत, नियमित मर्मत र स्तरोन्नतिको गर्ने योजना अघि बढेको छ ।
प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) सञ्चालन गर्न सहरी विकासमन्त्री प्रकाशमान सिंह र कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीको उपस्थितिमा स्थानीय तहका प्रतिनिधिहरुका बीचमा समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । हाल पाइलट प्रोजेक्टका रुपमा चार स्थानीय तह छनौट भएका हुन् । बाँकी जिल्लामा आगामी वर्षमा संघीय सहरी विकास मन्त्रालयले थप गर्दै लैजाने योजना रहेको छ ।
‘संघीय सरकार तथा विश्व बैंकको सहयोगमा अहिले तीन प्रदेशमा यो कार्यक्रम लागू भएको छ । सहरी विकास मन्त्रालयका अनुसार दैलेख डुङ्गेश्वर गाउँपालिकामा ठेक्काको अन्तिम चरणमा रहेको, कालिकोटका महावै गाउँपालिका, हुम्लाको अदानचुली गाउँपालिका डिपिआर तयार भएको र डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा चालू आर्थिक वर्षमा कार्यक्रम सञ्चालन हुनेछ ।
धेरै स्थानीय तहमा सडक नपुगेकाले यो कार्यक्रम कर्णालीका सबै स्थानीय तहमा लागू गर्न प्रदेश सरकारले संघीय सरकार समक्ष आग्रह गरेको जनाएको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिकामा डुङ्गेश्वर बजारदेखि गाउँपालिकाको मूकामसम्म आठ किलोमिटर सडक र करिब १२ सय मिटर ब्रिज सडक गरेर झण्डै १० किलोमिटर सडकको सडकको मर्मत, कालोपत्रे, स्तरन्नतिको काम हुने त्यसका लागि ठेक्कालगायतका अन्य काम गर्ने र स्थानीय तहले जग्गाको व्यवस्थापन गर्नुपर्ने सम्झौता भएको डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर केसीले बताए ।
कालीकोटको महावै गाउँपालिकामा कालिकोट–जुम्ला सडकखण्डको खाँडाचक्र नगरपालिकाको सेरावाडादेखि महावै गाउँपालिकाको मुकाम पादमघाटसम्म जोड्ने नौ किलोमिटर सडक निर्माणका लागि सम्झौता भएको र त्यसको डिपिआर लगाएतका अन्य काम सम्पन्न भएपछि सडक निर्माणको ठेक्का प्रक्रिया अघि बढ्ने महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले जानकारी दिए ।
त्यस्तै, हुम्लाको अदानुचुली गाउँपालिकामा लागू हुँदैछ । त्यसका लागि कर्णाली राजमार्गको गल्फागाडदेखि गाउँपालिकाको मुकाम श्रीनगरसम्म नौ किलोमिटर र थप ९९० मिटर गरेर झण्डै १० किलोमिटर सडकको मर्मत तथा स्तरोन्नति हुने गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताए । डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको मुकाम कागकोटसम्म जोड्नका लागि करिब १२ किलोमिटर सडक निर्माण हुने त्यसका लागि आवश्यक प्रक्रिया भइरहेको गाउँपालिकाले जनाएको छ । छार्का ताङसोङ गाउँपालिकाका राष्ट्रिय सडक सञ्जाल र केन्द्रीय विद्युत प्रशारण लाईनबाट जोडिन नसके र आर्थिक, सामाजिक, पुरातात्विक, धार्मिक एवं ऐतिहासिक महत्व बोकेको प्रमुख दर्शनीयस्थलहरुमा विश्व कै उचाईमा रहेको मानव बस्ती छार्का पर्दछ । त्यसैले कारणले पनि यो ठाउँमा सडक जोड्नका लागि सरकारले प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष कार्मादुण्डुप गुरुङले बताए ।
प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) अन्तर्गत विश्व बैंकको र नेपाल सरकारको १६ अर्ब ६४ करोडको लागतमा कर्णाली, मधेश र सुदूरपश्चिम प्रदेशमा उक्त कार्यक्रम लागू हुनेछ । सडक सुधारका लागि विश्व बैंकले १० करोड र सरकारले २ करोड ८० लाख अमेरिकी डलर खर्च गर्नेछन् । बैंकले सफ्ट लोनअन्तर्गत सहयोग गरेको हो । आवधिक मर्मत, नियमित मर्मत, स्तरोन्नति र नयाँ बनाउनेसमेत करिब ३१ सय किमि सडक क्षेत्रमा उक्त रकम खर्च गरिनेछ ।
कर्णाली समय । ९ मंसिर २०८१, आईतवार १३:४६