
सुर्खेत- पश्चिम नेपालको गजल साहित्यमा लामो समयदेखि सक्रिय साहित्यकार तथा गजलकार धीरेन अनुपमको नयाँ गजल सङ्ग्रह ‘प्रच्छाया’ विमोचन गरिएको छ । शनिबार मध्यपश्चिम विश्वविद्यालयमा आयोजित साहित्यिक कार्यक्रममा वरिष्ठ कलाकार प्रेमदेव गिरी, वरिष्ठ नृत्य निर्देशक कुलमान नेपाली लगायतले उक्त कृतिको लोकार्पण गरे ।
मध्यपश्चिम गजल मञ्च र मध्यपश्चिम विश्वविद्यालय साहित्य समाजको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा ‘प्रच्छाया’ सँगै विष्णुकुमार खड्काको सांगीतिक गजल कृति ‘अप्सरा’ पनि सार्वजनिक गरिएको थियो ।
लोकार्पण कार्यक्रममा बोल्दै समालोचक तथा वरिष्ठ गजलकार ऋषिशर्मा सुदाम ले ‘प्रच्छाया’ ले केवल लेखकको जीवन अनुभूति मात्रै नभई समाजको वास्तविक चित्र प्रस्तुत गरेको बताए । उनका अनुसार कृतिमा समाज परिवर्तन, क्रान्तिकारी चेतना, पारिवारिक संवेदना तथा समयको यथार्थलाई सशक्त रूपमा अभिव्यक्त गरिएको छ । “साहित्यले समाजलाई सन्देश दिनुपर्छ, र यो कृतिले त्यही जिम्मेवारी पूरा गरेको छ,” उनले भने ।
त्यस्तै, वरिष्ठ कलाकार प्रेमदेव गिरीले साहित्य समाजको आवाज बन्नुपर्ने धारणा राख्दै ‘प्रच्छाया’ मा समाजको धड्कन र यथार्थ भेटिएको बताए । कार्यक्रममा कृतिमाथि समीक्षा गर्दै युवा गजलकार महेन्द्र चन्द महासागरले धीरेन अनुपमलाई केवल गजलकार मात्र नभई गजल आन्दोलनका अभियान्ता भएको उल्लेख गरे । उनका अनुसार सङ्ग्रहमा विविध विषय, स्वाद र जीवन भोगाइ समेटिएका गजलहरू समावेश भएकाले कृति पठनीय र सशक्त बनेको छ ।
पश्चिम नेपालको गजल साहित्यलाई निरन्तर उचाइँ दिँदै आएका धीरेन अनुपमको ‘प्रच्छाया’ ले समकालीन समाजको प्रतिबिम्बलाई कलात्मक रूपमा उजागर गरेको सहभागीहरूले बताएका छन् ।




कर्णाली समय । १० जेष्ठ २०८३, आईतवार १७:२५