दशौं राष्ट्रिय खेलकुद : जेठमा पनि नहुने निश्चित

सुर्खेत– आगामी जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेशमा तय गरिएको नेपाली खेलकुदको महाकुम्भ दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्ततः नहुने भएको छ ।


राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको प्रतियोगिता अनुगमन समितिले पछिल्लोपटक घोषित मितिमा प्रतियोगिता गर्न नसकिने आधार प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयलाई अर्को मिति तय गर्न सुझाव दिएको हो । राखेपका उपाध्यक्ष ध्रुव आचार्य नेतृत्वको समितिले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसमक्ष प्रतिवेदन पेश गर्दै पर्याप्त तयारी र कानुनी प्रक्रियाबिनै प्रतियोगिता गर्न नसकिने सुझाव दिएको छ ।

समितिले हालसम्म कुन खेल कहाँ खेलाउने भन्ने टुंगो नलागेको, रंगशाला निर्माणको केही काम पुरा हुन बाँकी रहेको, प्रदेशस्तरमा खेलाडी छनौट हुन नसकेको, खेलाडी, प्रशिक्षक र निर्णायकको संख्या यकिन हुन नसकेको, खेल सामग्रीको टेण्डर नभएको र खरिदका कानुनी प्रक्रिया गर्न बाँकी समय पनि अपर्याप्त, रहेकाले प्रतियोगिता सार्नुपर्ने निष्कर्शमा निकालेको हो । त्यस्तै प्रतिकूल मौसम, विद्युत् र खानेपानीको समस्या जस्ता कारणले जेठमा उपर्युक्त नदेखिएको समितिको ठहर छ ।

राखेपका उपाध्यक्ष आचार्यले हालसम्म अर्थ मन्त्रालयबाट विनियोजित बजेटको विषयगत शिर्षकमा बाँडफाँड र एलएमबीआईए समेत नभएकाले खरिद र अन्य तयारीका काम गर्न समय अभाव रहेको जानकारी दिए । ‘अहिलेसम्म विषयगत उपसमितिहरु गठन भएका छैनन्, यसअघि मिति तोक्ने मात्रै काम भएको रहेछ,’ उनले भने, ‘प्रतियोगिताको मुखैमा आएर सबै तयारी गर्न सकिन्न, वस्तुगत अवस्थाको अध्ययन गरेर अर्को मिति तय गर्न अनुरोध गरेका छौं ।’ यस सम्बन्धमा निर्णय गर्न शुक्रबार राखेपको बोर्ड बैठक बोलाइएको थियो । तर बैठकले ठोस निर्णय गरेन । प्रतियोगिताको मुख्य आयोजक राखेप र सह–आयोजक एवं व्यवस्थापक प्रदेश खेलकुद विकास परिषद् हुने प्रावधान छ ।

प्रतियोगिताको मिति सारिएको यो तेस्रोपटक हो । जेठ अघि मंसिर २ देखि ९ र चैत्र २३ देखि ३० गतेको मिति प्रस्ताव गरिएको थियो । साढे तीन वर्ष अघि गण्डकीको पोखरामा नवौं राष्ट्रिय खेलकुद समापन हुँदा मंसिर २–९ गतेको मिति प्रस्ताव गरिएको थियो । पूर्वाधार तयारी अवस्थामा हुँदासमेत बारम्बार मिति सारिँदा प्रतियोगिताको समग्र व्यवस्थापनका साथै खेलाडी प्रशिक्षण लगायतका कामहरुमा असर पुगेको थियो । प्रतियोगिताको तयारीका लागि एक महिनाअघि वीरेन्द्रनगरस्थित प्रदेश रंगशाला परिसर र काठमाडौंमा मूल आयोजक समितिको सचिवालय स्थापना गरिएको थियो । यद्यपि सचिवालयबाट कुनै तयारीका कामहरु हुन सकेका थिएनन् । राखेपले दशौं राष्ट्रिय खेलकुदका लागि लोगो र मस्कट डिजाइन गरिसकेको थियो ।

दशौं राष्ट्रिय खेलकुदलाई लक्ष्य गर्दै कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर ८ मा एक अर्ब ५९ करोड रुपैयाँ लागतमा अत्याधुनिक रंगशाला निर्माण आयोजना अघि बढाएको थियो । त्यसको निर्माण कार्य करिब पुरा भएको बताइएको छ । ९ बिघा क्षेत्रफलमा रहेको रंगशालामा झन्डै १० हजार दर्शक अट्ने क्षमताको छ ।

प्रतियोगिता सञ्चालन गर्न वीरेन्द्रनगरमा चिसापानी फुटबल मैदान, कालिञ्चोक रग्बी मैदान र प्रदेश रंगशाला परिसरभित्र क्रिकेट मैदानको निर्माण गरिएको छ । प्रतियोगिताका लागि कर्णालीमा ३५ मध्ये २४ खेल खेलाउने गरी राखेपले कार्ययोजना बनाएको थियो । प्रदेश रंगशालामा मात्रै फुटबलसहित १६ खेल खेलाउनले प्रदेश सरकारको तयारी थियो । सरकारले प्रतियोगिताका लागि चालू आवमा ६० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

प्रदेश रंगशाला दशौंको पखाईमा भएपनि सरकारको बेवास्ताका कारण फेरी राष्ट्रिय खेलकुद अनिश्चित हुँदा खेलप्रेमीहरु निराश भएका छन् । कर्णाली खेलकुद विकास परिषद्का निवर्तमान सदस्य सचिव विश्वामित्र सञ्ज्याल आफ्नो हातमा लगाम हुँदाहुँदै पनि प्रदेश सरकार पन्छिएको आरोप लगाउँछन् । ‘कर्णालीमा खेल पूर्वाधार सबै तयार भइसके, कहाँ कुन खेल खेलाउने भन्ने कार्ययोजना राखेपमा पेश गरिसकेका हौं, उपसमितिहरु गठन गरेर धमाधम तयारी गर्नुपर्ने बेला विभिन्न बहाना बनाएर प्रतियोगिता सार्ने प्रयास भयो,’ उनले भने, ‘सवाल राखेपको मात्रै होइन, राष्ट्रिय खेलकुदलाई अनिश्चिततातर्फ धकेल्ने काम मात्रै भयो ।’

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,