सुर्खेत- जिफन्टका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले सबै मजदुर संगठनहरुबीच एकता हुन सकेमात्र उपलब्धी हासिल गर्न सकिने बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र प्रदेश समन्वय समितिद्धारा मंगलबार वीरेन्द्रनगरमा आयोजित श्रम सम्मेलनमा बोल्दै उनले सबै मजदुर संगठनहरु मिल्नुपर्ने आवश्यकता औंल्याए ।
मजदुर नेता श्रेष्ठले श्रमिक मजदुरको क्षेत्रमा केही पनि प्रगति नभएको भ्रम सिर्जना नगर्न आग्रह गरे । “मजदुरका क्षेत्रमा संविधान र ऐन कानूनमा जे जति उल्लेख भएका छन्, ती सबै हामीले गरेको आन्दोलनका परिणाम हुन्,” उनले भने, “हरेक ऐन कानुन श्रमिक मैत्री त्यत्तिकै बनेका होइनन्, त्यसका लागि हामीले ठुलो संघर्ष गरेका हौं, बाँकी उपलब्धी प्राप्त गर्न सबै संगठनहरुबीच बलियो एकता हुन आवश्यक छ ।”
नेपालका मजदुरहरु सामाजिक सुरक्षा कोषमा जोडिन पाउने अधिकार स्थापित भएको उनको भनाई थियो । उनका अनुसार १९ लाख नेपाली श्रमिकहरु सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । तीमध्ये ५८७ जनाले कोषबाट पेन्सन पाउँछन् । साथै श्रम कार्यालयले श्रममैत्री कार्यक्रम सञ्चालन नगरेको विषयमा सरकारको ध्यानाकर्षण गराउने बताए ।
नेपाल ट्रेड युनियन कंग्रेसका प्रदेश अध्यक्ष गोपालकृष्ण गिरीले मजदुरका समस्या समाधान गर्न सबै एकजुट हुनुपर्ने धारणा राखे । आआफ्ना क्षेत्रका समस्याको पहिचान गरी समाधान गर्न संयुक्त ट्रेड युनियन समन्वय केन्द्र तयार रहेको उनको भनाई थियो । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले प्रदेशस्तरमा उठेका मजदुरका समस्यालाई संकलन गरी समाधानको कार्ययोजना बनाउनेछ ।
कार्यशालामा मजदुरहरुले श्रमिकको औषधि उपचार, बिदा पाउनका साथै सामाजिक सुरक्षा कोषमा जोडिन समस्या भइरहेको गुनासो गरेका थिए । जिफन्टका प्रदेश उपाध्यक्ष राधा श्रेष्ठ आचार्यले सञ्चालन गरेको कार्यक्रममा विभिन्न संगठनका मजदुर नेताहरुले आफ्नो धारणा राखेका थिए ।


कर्णाली समय । ११ पुष २०८१, बिहीबार १३:१३