
प्रकाश अधिकारी/सुर्खेत– विगतका निर्वाचन परिणामहरु हेर्दा दैलेख १ मा कांग्रेस र एमाले नै मुख्य प्रतिष्पर्धी हुन् । एकातिर कांग्रेसले युवा र महिला नेतृत्वको सन्देशसहित उम्मेदवार अघि सारेको छ भने अर्कोतिर एमालेका अनुभवी नेता रविन्द्रराज शर्माले आफ्नै पूर्व सहयोद्धाहरूबाट दबाब झेल्नुपरेको छ ।
कांग्रेसले दैलेख–१ बाट युवा नेतृ बासना थापालाई उम्मेदवार बनाएको छ । पहिलोपटक संसदीय चुनावी मैदानमा उत्रिएकी थापा एमालेका रविन्द्रराज शर्मा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अम्मरबहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नन्दकिशोर बस्नेतसँग प्रतिस्पर्धा गर्दैछिन् । अनुभवी र स्थापित नेताहरूको भीडमा कांग्रेसले नयाँ पुस्ता र महिला नेतृत्वको भरोसा देखाउन खोजेको देखिन्छ ।
एमाले उम्मेदवार शर्मा दैलेखको राजनीतिमा पुरानो र परिचित नाम हो । उनी एमाले दैलेखको संस्थापक र हाल प्रदेश कमिटी उपसचिव हुन् । २०४८ देखि संसदीय निर्वाचन लड्दै आएका शर्मा दुई पटक कांग्रेसका गणेशबहादुर खड्कासँग पराजित भएपनि २०५४ को स्थानीय निर्वाचनमा नारायण नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनको बलमा उनले पहिलोपटक संसदीय सफलता हासिल गरे । उक्त निर्वाचनमा शर्माले २३ हजार ७७३ मत प्राप्त गर्दै कांग्रेसको समर्थन पाएका राप्रपा उम्मेदवार दीपक शाहीलाई पराजित गरेका थिए ।
शर्माको राजनीतिक यात्रासँगै जोडिएको अर्को नाम हो, अम्मरबहादुर थापा । २०७४ को प्रतिनिधिसभा निर्वाचनसम्म शर्मा र थापा एउटै दल एमालेमा थिए । २०६४ को संविधानसभामा एमालेबाट सभासदको टिकट पाएका थापा पनि कांग्रेसका गणेशबहादुर खड्काबाट पराजित भए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने थापाले खड्कालाई पराजित गर्दै बदला पूरा गरे । थापाको उक्त निर्वाचन परिचालनको कमाण्डर बनेका थिए, शर्मा ।
२०७४ मा प्रदेशसभा रोजेका थापा दैलेख १ (ख) बाट कर्णाली प्रदेशसभामा निर्वाचित भए । पार्टी विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेका थापा २०७९ को निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बने । उक्त निर्वाचनमा एमालेका शर्मालाई ८५२ मतले पछि पार्दै थापा विजयी भए । थापाले १८ हजार २९७ तथा र शर्माले १७ हजार ४४५ मत प्राप्त गरेका थिए । चौध वर्षसम्म एमाले दैलेखको नेतृत्व गरेका थापा अहिले नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार बनेर पुनः शर्माको बाटो छेक्न उभिएका छन् । उनी जेन्जी आन्दोलनपछि विघटित प्रतिनिधिसभामा शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति थिए । २०७४ को प्रदेशसभाको कार्यकालमा उनी भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री भएर ६ महिना मन्त्रालयको नेतृत्व गरेका थिए ।
शर्माका लागि चुनौती यतिमै सीमित छैन । रास्वपाबाट उम्मेदवार बनेका नन्दकिशोर बस्नेत पनि पूर्व एमाले नेता हुन् । कर्णाली प्रदेश कमिटी सदस्य रहिसकेका बस्नेत केपी शर्मा ओली प्रधानमन्त्री र महेश बस्नेत उद्योगमन्त्री हुँदा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष तथा महाप्रबन्धकका रूपमा दुई कार्यकाल बिताइसकेका व्यक्ति हुन् । एमालेले दैलेख–१ बाट टिकटका लागि शर्मासँगै बस्नेतको नाम पनि सिफारिस गरेको थियो । तर पार्टीले टिकट वितरणको निर्णय लिनु अघि नै बस्नेत रास्वपामा प्रवेश गरिसकेका थिए ।
एमाले उम्मेदवार शर्माले यसपटक कांग्रेससँग मात्र होइन, आफ्नै दलबाट राजनीति सिकेका र स्थानीयस्तरमा संगठन बनाएका पूर्व सहकर्मीहरूसँग पनि प्रतिस्पर्धा गर्नुपरेको छ । अम्मरबहादुर थापा र नन्दकिशोर बस्नेत दुवै लामो समय एमालेको नेतृत्वदायी भूमिकामा रहेकाले एमालेकै मत काटिन सक्ने आँकलन छ । एमाले उम्मेदवार शर्मा भने सबै पार्टी अलग–अलग लड्दा एमालेलाई सहज भएको बताउँछन् । ‘हरेक चुनावमा नयाँ नयाँ चुनौती हुने नै भयो, ती चुनौतीलाई पार लगाउने सांगठनिक एकता, जनताको भरोसा एमालेमा छ,’ उनले भने ।
उता, कांग्रेस उम्मेदवार बासना थापा महाधिवेशन प्रतिनिधि हुन् । राजनीतिका साथै व्यवसाय र लायन्स लगायतका संस्थाहरुमा संलग्न छिन् । लायन्स क्लब लगायतका संस्थामा आवद्ध छिन् । युवाको भरोसा, संगठनात्मक सक्रियता र महिला नेतृत्वको प्रतीकका रूपमा आफूले चुनाव जित्ने दाबी गर्छिन् । ‘मेरो उम्मेदवारीले दैलेख–१ को चुनावलाई पुस्तान्तरण र परिवर्तनको बहसतर्फ मोडेको छ, उनी भन्छिन् । त्यस्तै नेकपा उम्मेदवार थापा भने दैलेखी जनताले विकासवादी नेताका रुपमा आफूलाई बुझेकाले आफूलाई जिताउने दाबी गर्छन् ।
यो चुनावलाई झनै रोचक बनाउने तथ्य के छ भने एमाले उम्मेदवार शर्मा र कांग्रेसकी बासना नारायण नगरपालिका–२ का बासिन्दा मात्र होइन, पारिवारिक नातेदारसमेत हुन् । यसले दैलेख–१ को चुनावी प्रतिस्पर्धालाई राजनीतिक मात्र नभई सामाजिक चासोको विषयसमेत बनाइदिएको छ ।
२०७९ को समानुपातिक मत हेर्दा यो क्षेत्रमा एमाले पहिलो छ । एमालेले १६ हजार ३१६ मत ल्याउँदा कांग्रेसले १५ हजार ८३७ मत ल्याएको थियो । माओवादीले २ हजार ६४५ र एकिकृत समाजवादीले ३ हजार १६७ मत ल्याए । त्यस्तै रास्वपाले ८८७ मत ल्याएको थियो । सदरमुकाम रहेको नारायण नगरपालिकासहित महाबु गाउँपालिका, नौमूले गाउँपालिका, भगवतीमाई गाउँपालिका, डुंगेश्वर गाउँपालिका र गुराँस गाउँपालिका रहेको यस क्षेत्रमा ९७ हजार ७०१ मतदाता छन् । तीमध्ये सबैभन्दा बढी मतदाता नारायण नगरपालिकामा छन् ।


कर्णाली समय । १५ माघ २०८२, बुधबार १९:२०