दैलेख–१ मा एमालेका रविन्द्रलाई कांग्रेस र पूर्व सहकर्मीहरुको दोहोरो चुनौती

प्रकाश अधिकारी/सुर्खेत– विगतका निर्वाचन परिणामहरु हेर्दा दैलेख १ मा कांग्रेस र एमाले नै मुख्य प्रतिष्पर्धी हुन् । एकातिर कांग्रेसले युवा र महिला नेतृत्वको सन्देशसहित उम्मेदवार अघि सारेको छ भने अर्कोतिर एमालेका अनुभवी नेता रविन्द्रराज शर्माले आफ्नै पूर्व सहयोद्धाहरूबाट दबाब झेल्नुपरेको छ ।

कांग्रेसले दैलेख–१ बाट युवा नेतृ बासना थापालाई उम्मेदवार बनाएको छ । पहिलोपटक संसदीय चुनावी मैदानमा उत्रिएकी थापा एमालेका रविन्द्रराज शर्मा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अम्मरबहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नन्दकिशोर बस्नेतसँग प्रतिस्पर्धा गर्दैछिन् । अनुभवी र स्थापित नेताहरूको भीडमा कांग्रेसले नयाँ पुस्ता र महिला नेतृत्वको भरोसा देखाउन खोजेको देखिन्छ ।

एमाले उम्मेदवार शर्मा दैलेखको राजनीतिमा पुरानो र परिचित नाम हो । उनी एमाले दैलेखको संस्थापक र हाल प्रदेश कमिटी उपसचिव हुन् । २०४८ देखि संसदीय निर्वाचन लड्दै आएका शर्मा दुई पटक कांग्रेसका गणेशबहादुर खड्कासँग पराजित भएपनि २०५४ को स्थानीय निर्वाचनमा नारायण नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनको बलमा उनले पहिलोपटक संसदीय सफलता हासिल गरे । उक्त निर्वाचनमा शर्माले २३ हजार ७७३ मत प्राप्त गर्दै कांग्रेसको समर्थन पाएका राप्रपा उम्मेदवार दीपक शाहीलाई पराजित गरेका थिए ।

शर्माको राजनीतिक यात्रासँगै जोडिएको अर्को नाम हो, अम्मरबहादुर थापा । २०७४ को प्रतिनिधिसभा निर्वाचनसम्म शर्मा र थापा एउटै दल एमालेमा थिए । २०६४ को संविधानसभामा एमालेबाट सभासदको टिकट पाएका थापा पनि कांग्रेसका गणेशबहादुर खड्काबाट पराजित भए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने थापाले खड्कालाई पराजित गर्दै बदला पूरा गरे । थापाको उक्त निर्वाचन परिचालनको कमाण्डर बनेका थिए, शर्मा ।

२०७४ मा प्रदेशसभा रोजेका थापा दैलेख १ (ख) बाट कर्णाली प्रदेशसभामा निर्वाचित भए । पार्टी विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेका थापा २०७९ को निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बने । उक्त निर्वाचनमा एमालेका शर्मालाई ८५२ मतले पछि पार्दै थापा विजयी भए । थापाले १८ हजार २९७ तथा र शर्माले १७ हजार ४४५ मत प्राप्त गरेका थिए । चौध वर्षसम्म एमाले दैलेखको नेतृत्व गरेका थापा अहिले नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार बनेर पुनः शर्माको बाटो छेक्न उभिएका छन् । उनी जेन्जी आन्दोलनपछि विघटित प्रतिनिधिसभामा शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति थिए । २०७४ को प्रदेशसभाको कार्यकालमा उनी भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री भएर ६ महिना मन्त्रालयको नेतृत्व गरेका थिए ।

शर्माका लागि चुनौती यतिमै सीमित छैन । रास्वपाबाट उम्मेदवार बनेका नन्दकिशोर बस्नेत पनि पूर्व एमाले नेता हुन् । कर्णाली प्रदेश कमिटी सदस्य रहिसकेका बस्नेत केपी शर्मा ओली प्रधानमन्त्री र महेश बस्नेत उद्योगमन्त्री हुँदा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष तथा महाप्रबन्धकका रूपमा दुई कार्यकाल बिताइसकेका व्यक्ति हुन् । एमालेले दैलेख–१ बाट टिकटका लागि शर्मासँगै बस्नेतको नाम पनि सिफारिस गरेको थियो । तर पार्टीले टिकट वितरणको निर्णय लिनु अघि नै बस्नेत रास्वपामा प्रवेश गरिसकेका थिए ।

एमाले उम्मेदवार शर्माले यसपटक कांग्रेससँग मात्र होइन, आफ्नै दलबाट राजनीति सिकेका र स्थानीयस्तरमा संगठन बनाएका पूर्व सहकर्मीहरूसँग पनि प्रतिस्पर्धा गर्नुपरेको छ । अम्मरबहादुर थापा र नन्दकिशोर बस्नेत दुवै लामो समय एमालेको नेतृत्वदायी भूमिकामा रहेकाले एमालेकै मत काटिन सक्ने आँकलन छ । एमाले उम्मेदवार शर्मा भने सबै पार्टी अलग–अलग लड्दा एमालेलाई सहज भएको बताउँछन् । ‘हरेक चुनावमा नयाँ नयाँ चुनौती हुने नै भयो, ती चुनौतीलाई पार लगाउने सांगठनिक एकता, जनताको भरोसा एमालेमा छ,’ उनले भने ।

उता, कांग्रेस उम्मेदवार बासना थापा महाधिवेशन प्रतिनिधि हुन् । राजनीतिका साथै व्यवसाय र लायन्स लगायतका संस्थाहरुमा संलग्न छिन् । लायन्स क्लब लगायतका संस्थामा आवद्ध छिन् । युवाको भरोसा, संगठनात्मक सक्रियता र महिला नेतृत्वको प्रतीकका रूपमा आफूले चुनाव जित्ने दाबी गर्छिन् । ‘मेरो उम्मेदवारीले दैलेख–१ को चुनावलाई पुस्तान्तरण र परिवर्तनको बहसतर्फ मोडेको छ, उनी भन्छिन् । त्यस्तै नेकपा उम्मेदवार थापा भने दैलेखी जनताले विकासवादी नेताका रुपमा आफूलाई बुझेकाले आफूलाई जिताउने दाबी गर्छन् ।

यो चुनावलाई झनै रोचक बनाउने तथ्य के छ भने एमाले उम्मेदवार शर्मा र कांग्रेसकी बासना नारायण नगरपालिका–२ का बासिन्दा मात्र होइन, पारिवारिक नातेदारसमेत हुन् । यसले दैलेख–१ को चुनावी प्रतिस्पर्धालाई राजनीतिक मात्र नभई सामाजिक चासोको विषयसमेत बनाइदिएको छ ।

२०७९ को समानुपातिक मत हेर्दा यो क्षेत्रमा एमाले पहिलो छ । एमालेले १६ हजार ३१६ मत ल्याउँदा कांग्रेसले १५ हजार ८३७ मत ल्याएको थियो । माओवादीले २ हजार ६४५ र एकिकृत समाजवादीले ३ हजार १६७ मत ल्याए । त्यस्तै रास्वपाले ८८७ मत ल्याएको थियो । सदरमुकाम रहेको नारायण नगरपालिकासहित महाबु गाउँपालिका, नौमूले गाउँपालिका, भगवतीमाई गाउँपालिका, डुंगेश्वर गाउँपालिका र गुराँस गाउँपालिका रहेको यस क्षेत्रमा ९७ हजार ७०१ मतदाता छन् । तीमध्ये सबैभन्दा बढी मतदाता नारायण नगरपालिकामा छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,