प्रकाश अधिकारी/ सुर्खेत– कर्णालीको राजधानी वीरेन्द्रनगरको आगामी २५ वर्षपछि वृद्धि हुने जनसंख्यालाई प्रक्षेपण गरी कार्यान्वयनमा ल्याइएको भेरी पम्पिङ खानेपानी आयोजना निर्माणले गति लिएको छ ।
जग्गा भोगाधिकार, रुख कटान लगायत निर्माण पूर्वका तयारीका कार्यहरु सम्पन्न भएसंगै आयोजनाले पहिलो र दोस्रो प्याकेजका क्रियाकलापहरु एकैसाथ अघि बढाएको छ । संघ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा सञ्चालित यो आयोजना गत वर्ष भदौदेखि वीरेन्द्रनगर नगरपालिकाको नेतृत्वमा कार्यान्वयनमा ल्याइएको छ ।
संघीय सरकारको ८०, प्रदेश सरकारको १३ र नगरपालिकाको ७ प्रतिशत लागत साझेदारीमा निर्माण हुने आयोजनाको कुल लागत ६ अर्ब रहेको छ । पहिलो प्योकजका लागि विनियोजित ३ अर्ब ५० करोड ८ लाखमध्ये हालसम्म ५८ करोड खर्च भएको छ भने करिब १४ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । यो विश्व बैंकको ऋण सहयोगमा सञ्चालित परियोजना हो ।
खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाका प्रमुख कन्सल्टेन्ट इन्जिनियर रमेश अधिकारीका अनुसार पानी प्रशोधन प्लान्ट र अमृतडाँडामा ९० लाख लिटर क्षमताका तीन वटा रिजर्ब ट्यांकी निर्माणको काम सुरु भइसकेको छ । मुहान क्षेत्रको माटो परिक्षण पश्चात भेरी नदी किनारमा अवस्थित इन्टेकमा १० मिटर अग्लो सेफ्टी पर्खाल लगाइनेछ । इन्जिनियर अधिकारीले माटो परीक्षणको काम पनि छिटै सम्पन्न हुने बताए । माटो परीक्षणलगत्तै पानीको बहावलाई डाइभर्ट गरी नदी सतहदेखि करिब ७ मिटर गहिरा दुई वटा इन्टेक निर्माण हुँदैछन् । इन्टेकदेखि करिब ४०० मिटरको दूरीमा पानी प्रशोधन प्रणाली निर्माण, पहिलो प्याकेज अन्तर्गत इन्टेक निर्माण, प्रशोधन प्लान्ट, सात किमी लामो ६०० एमएम गोलाईका पाइपको प्रशारण लाइन पर्दछन् ।
त्यस्तै, ३०/३० लाख लिटर क्षमताका तीन वटा रिजर्ब ट्यांकी, उपत्यका क्षेत्रमा पाइपलाईन विस्तार, जुम्ला रोडलाई आधार बनाएर पाँच ठाउँमा पम्पिङ सिस्टम जडान गर्न लागिएको छ । दोस्रो प्याकेज अन्तर्गत प्रत्येक घरधुरीमा पाइपलाइन विस्तार, धारा जडान तथा वितरण प्रणाली व्यवस्थापनका कार्यहरु पर्दछन् । आयोजनाले दोस्रो चरणका यी काम गर्नलाई ग्लोबल टेण्डर आव्हान पनि गरिसकेको छ ।
पहिलो प्याकेज अन्तर्गत पहुँच सडक निर्माण, बजार क्षेत्रमा ३५ मध्ये १६ किमी पाइप बिछ्याउने काम सम्पन्न भएको छ । दोस्रो प्याकेज अन्तर्गत झण्डै ८ सय किमी लम्बाई पानी वितरण गरिने, झुप्रा खानेपानी आयोजनाको शुद्धिकरण, इत्राममा ट्यांकी निर्माण लगायतका कामहरु हुनेछन् । पहिलो प्याकेज अन्तर्गतका कार्यहरु चिनियाँ कम्पनी सिंज्याङ टम्र्स इन्टरनेशनल इकोनोमी एण्ड टेक्निकल को–अपरेसनले गरिरहेको छ ।
आयोजनाले २०२७ वर्षभित्र भेरीको पानी सुर्खेत उपत्यका (वीरेन्द्रनगर) मा ल्याउने गरी दुई चरणका कामहरु एकैसाथ अघि बढाएको दाबी गरेको छ । आयोजनाका अनुसार भेरीको पानी लिफ्टिङका लागि कम्तीमा दुईदेखि तीन मेगावाटसम्म विद्युत् आवश्यक पर्नेछ ।
तोकिएकै समयभित्र उच्च दक्षताका साथ काम सक्नुस : मुख्यमन्त्री कँडेल
आयोजनाको सोमबार अवलोकन गर्दै मुख्यमन्त्री यामलाल कँडेलले वीरेन्द्रनगरबासीको मात्र नभई कर्णालीका नागरिकसंग जोडिएको आयोजना भएकाले तोकिएकै समयमा पूर्णता दिने गरी काम गर्न आग्रह गरे । निर्माण पूर्वका सबै काम पुरा भइसकेको, बजेटको सुनिश्चितता भइसकेको आयोजनामा अब कुनै अलमल हुन नहुने उनको भनाई थियो । आम जनताको छिटो योजना आओस् भन्ने चाहना र मनोविज्ञान थियो, विगतमा केही ढिलाई हुन पुग्यो, अब प्रदेश सरकार र नगरपालिकाबीच कुनै अन्योलता छैन,’ मुख्यमन्त्री कँडेलले भने, ‘अहिलेकै गतिमा काम पुरा गर्न सके ठेकेदारको पनि जनविश्वास बढ्छ ।’
स्थानीय तहले सञ्चालन गरेको सबैभन्दा ठूलो परियोजना : नगर प्रमुख ढकाल
नगर प्रमुख मोहनमाया ढकालले राष्ट्रिय प्राथमिकताप्राप्त अन्य आयोजनाहरु मध्ये भेरी पम्पिङले रुख कटान लगायतका कानुनी उल्झनहरु छिटै पार लगाएको बताइन् । ‘भेरी पम्पिङ खानेपानी आयोजना वीरेन्द्रनगरको नगर गौरवको आयोजना मात्र नभएर प्रदेशले नै गौरव गर्ने आयोजना हो, उनले भनिन्, ‘संघीयतापछि स्थानीय तहले सञ्चालन गरेको यो सबैभन्दा ठूलो प्रोजेक्ट हो ।’ साथै नगर प्रमुख ढकालले वीरेन्द्रनगरमा बढ्दो जनघनत्वका कारण दिनानुदिन चुलिँदो खानेपानीको समस्या समाधानको एकमात्र विकल्प भेरी लिफ्ट रहेकाले अब निर्माण कार्यमा बिलम्ब र कुनै प्रकारको अवरोध सिर्जना नहुने दाबी गरिन् ।
वीरेन्द्रनगरमा हाल दैनिक ३२० लिटर प्रतिसेकण्ड पानीको माग भए पनि आपूर्ति भने प्रतिसेकेन्ड १५३ लिटर भइरहेको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले माग र आपूर्तिको सन्तुलन मिलाउन आलोपालो प्रणाली लागू गर्दै आएको छ । तर, मागबमोजिमको पानी उपलब्ध गराउन भने सकेको छैन । हाल २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गर्दै आएको छ ।




कर्णाली समय । २४ पुष २०८२, बिहीबार १२:१६