गोठीकाँडा–कल्याणकाँध सडकको स्तरोन्नति कार्य सुरु

सुर्खेत– सुर्खेतको पर्यटकीय क्षेत्र गोठीकाँडा हुँदै बराहताल गाउँपालिकाको कल्याणकाँध जोड्ने सडकको स्तरोन्ती कार्य सुरु भएको छ ।

सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उक्त सडकको शिलान्यास गरे । वीरेन्द्रनगर–१४ स्थित गोठिकाँडाबाट सुरु भई बराहताल गाउँपालिकाको कल्याणकाँध जोड्ने (छेडा–गढी–लेखगाउँ–श्रीचौर–कल्याणकाँध) सडक शिलान्यास गर्दै मुख्यमन्त्री कँडेलले पर्यटकीय सम्भावना बोकेको गोठिकाँडा क्षेत्रको विकास तथा बराहताल गाँउपालिकाकोे माथिल्लो भेगका नागरिकलाई यातायात सेवामा सहजता ल्याउने बताए । गोठिकाँडा क्षेत्रलाई प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने प्रशस्त आधार भएको उल्लेख गर्दै कँडेलले स्थानीयस्तरमा विवाद सिर्जना नभएको खण्डमा तोकिएकै समयमा सडकले पूर्णता पाउने विश्वास व्यक्त गरे ।

गोठिकाँडा क्षेत्रलाई पर्यटकीय हब बनाउने योजना अन्तर्गत प्रदेश सरकारले सडक स्तरोन्नति कार्य अघि बढाएको उनको भनाई थियो । विकास जनप्रतिनिधि र कर्मचारीको मात्रै हो भन्ने मानसिकता त्याग्नुुपर्ने बताउँदै उनले सडकसँगै स्थानीय उत्पादन र उत्पादकत्व बढ्ने खालका आयमुलक क्षेत्रमा जोडिन स्थानीयलाई आग्रह गरे । सडक शिलान्यास कार्यक्रममा कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढा, राज्यमन्त्री गमता विक, प्रदेशसभा सदस्य सन्तोषी शाही, वीरेन्द्रनगरका उपप्रमुख निलकण्ठ खनाल लगायतको उपस्थिति थियो ।

आगामी १५ असार २०८३ भित्र सम्पन्न गर्ने कार्यादेशसहित सडक स्तरोन्नतिको कार्य शुभारम्भ भएको पूर्वाधार निर्देशनालयका निर्देशक सूर्यबहादुर शाहीले जानकारी दिए । प्रदेश सरकारले हालै स्वीकृत गरेको प्रादेशिक सडक गुरुयोजनामा समावेश भएको छेडा–गढी–लेखगाउँ–श्रीचौर–कल्याणकाँध खण्डको सात किमि सडक स्तरोन्नति गरिनेछ । पहिलो खण्डमा साढे तीन किमि सडक कालोपत्रे गरिनेछ भने बाँकी साढे तीन किलोमिटर सडक नालासहित ग्राभेल गरिनेछ ।

यो सडकको स्तरोन्नति कार्य सुरु भएसँगै पर्यटकीय सम्भावना बोकेको गोठिकाँडा क्षेत्रसँगै बराहताल गाउँपालिकाको उत्तरी क्षेत्रका नागरिकलाई यातायात सेवा लिन सहज हुनेछ । सात करोड ९८ लाख लागतमा पूर्वाधार निर्देशनालय र निर्माण व्यवसायी बिआईएस कन्सट्रक्सन प्रालि धुलिखेल बिच निर्माण सम्झौता भई सडक स्तरोन्नति कार्य अघि बढेको हो ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,