सिकाइ स्तरमा आधारित शिक्षण पद्धति प्रभावकारी

सुर्खेत–विद्यार्थीहरुको स्तर अनुसार सिकाइ उपलब्धी हासिलका लागि सिकाइ स्तरमा आधारित शिक्षण पद्धति प्रभावकारी रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

हेम्पल फाउण्डेशनको आर्थिक सहयोग र स्ट्रीट चाइल्ड अफ नेपालको प्राविधिक सहयोगमा आसमान नेपालले सुर्खेतको चौकुने गाउँपालिकामा सञ्चालन रहेको बिल्ड द बेसिक परियोजना अन्र्तगत पालिका स्तरीय संयुक्त अनुगमन कार्यक्रममा सहभागीहरुले सिकाइ स्तरमा आधारित शिक्षण पद्धति (ट्राल) प्रभावकारी रहेको बताएका हुन् ।

चौकुने ६ स्थित जीवन ज्योति माध्यमिक विद्यालय र चौकुने ८ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा ट्राल कक्षाहरु अनुगमन र अनुभवका बारेमा विद्यालयको व्यवस्थापन समिति, अभिभावक र ट्राल शिक्षकहरु संग छलफल समेत गरिएको थियो । छलफलमा शिक्षकहरुले विद्यार्थीहरुको स्तर थाहा नपाए अन्धाधुन्ध शिक्षण गर्दाको अनुभव भन्दा यो अनुभव पृथक र प्रभावकारी रहेको बताए । जीवनज्योति माध्यमिक विद्यालयका ट्राल शिक्षक पूर्णबहादुर सावँदले भने, ‘शिक्षण पेशामा मेरो दशकांै अनुभव छ, तर अहिलेको यो ट्राल विधि विद्यार्थीहरुको सिकाइ स्तर उकास्नका लागि अति उत्तम विधि छ, यसलाई निरन्तरता दिन आवश्यक छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामलाल बयकले पनि सिकाइ उपलब्धी कमजोर रहेका विद्यार्थीहरुलाई खेल्दै सिक्दै गर्नका लागि यस पद्धति प्रभावकारी रहेको बताए । चौकुने गाउँपालिकाका शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढाले परियोजना सुरुवात गरेको यस कक्षाहरुलाई पालिकाले आगामी दिनमा निरन्तरता दिन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘सबै शिक्षकहरुको अनुभव सुन्दा र प्रत्यक्ष कक्षाहरु अनुगमन गर्दा निकै प्रभावकारी छ, पालिका यसमा सकारात्मक छ परियोजना कार्यान्वयन गर्ने साझेदार संस्था संग प्राविधिक सहयोग लिई आगामी दिनमा निरन्तरता दिन्छौ,’ उनले भने ।

शिक्षा तथा सामाजिक विकास समितिका संयोजक एवं वडा न ८ का अध्यक्ष कमल जिसीले पनि स्तर अनुसारको सिकाइ र समय समयमा उपलब्धी मापन गर्ने तरिका निकै प्रभावकारी रहेको हुँदा यसले चौकुनेको शैक्षिक गुणस्तर वृद्धिका लागि टेवा पुग्नेमा जोड दिए । उनले पालिकाको पहलमा परियोजना अन्तरगत पालिकाभर तालिम प्राप्त सबै शिक्षकहरुको भेला गरी समिक्षा गर्ने र आगामी योजना निर्माण गरी यस कक्षाहरुलाई निरन्तरता दिने बताए । गाउँपालिका अध्यक्ष खड्ग बिकले तल्लो स्तरका बालबालिकाको सिकाइ स्तर उकास्न यो विधि उपयोगी र उत्कृष्ट रहेको बताए । ‘यो पद्धति मलाइ निकै प्रभावकारी लागेको छ, हामीले हाम्रो तालिम प्राप्त जनशक्तिलाई प्रयोग गरेर आगामी वर्ष यसलाई निरन्तरता दिन्छौ’ उनले भने ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय शिक्षा क्षेत्र योजना अन्तर्गत विकास साझेदार संस्थाहरूको सहकार्यमा विकास गरिएको सिकाइ आपुरण तथा दु्रत सिकाइ योजनामा सहयोग गर्ने गरी सञ्चालनमा गरिएको यस परियोजना अन्र्तगत चौकुनेका ४९ वटा विद्यालयमा सिकाइ स्तरमा आधारित शिक्षण पद्धति (ट्राल) कक्षाहरु सञ्चालित छ । विद्यालय ११२ जना शिक्षकहरुलाई सुरुवातमा ८ दिने तालिम प्रदान गरी विगत तीन महिनादेखि कक्षाहरु चलिरहेका छन् । परियोजना अन्र्तगत सुरुमा विद्यार्थीको अवस्था पहिचान गरी समूह विभाजन गरी विद्यार्थीको स्तर अनुसारका गतिििधहरु गराउने गरिन्छ । यस विधि अन्र्तगत रहेका नेपाली र गणित विषयको शिक्षण गरिन्छ । कक्षा सञ्चालन भएकादेखि करिब ४५ दिनको अन्तरमा मध्य मुल्याकंन र ९० दिन पछि अन्तिम मुल्यांकन गरी विद्यार्थीहरुको सिकाइ स्तर परिवर्तन भए नभएको मापन गर्ने गरिन्छ ।

यो परियोजनाले मधेस र कर्णाली प्रदेशमा विद्यार्थीहरूको सिकाइ क्षतिलाई आपूरण गर्दै विद्यार्थीको सिकाइ स्तरलाई तीव्रता दिन तथा निरन्तर सिकाइ कायम राख्न शिक्षकहरूको क्षमता अभिवृद्धिसँगै तथ्यमा आधारित पैरवी र योजना निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै कर्णाली र मधेश प्रदेश अन्र्तगत ३६ हजार बालबालिकाहरूको सिकाइमा भएको क्षतिलाई आपूरण गर्न नेपालका ६ सय सामुदायिक विद्यालयहरूमा १८ सय शिक्षकहरू मार्फत विद्यार्थीहरूको आधारभूत भाषिक तथा गणितीय सिप सुधारका लागि परियोजनाले मद्दत गर्नेछ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,