यसरी हुँदैछ, कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइनको निर्माण

सुर्खेत– कर्णाली प्रदेशको लाइफलाइनको रुपमा हेरिएको निर्माणाधिन कोहलपुर सुर्खेत १३२ केभी प्रशारणलाइनको ९५ प्रतिशत काम पुरा भएको छ । स्थानीयसंगको मुआब्जा विवाद र रुख कटान लगायतका कानुनी समस्या समाधान भएसंगै आयोजनाले गति लिन थालेको छ ।

प्रशारणलाइन आयोजना कार्यालयले १६२ टावरमध्ये ३ वटाको निर्माण बाँकी रहेको र ५२ किमीमध्ये १० किमी मात्र लाइन जोड्ज बाँकी रहेको जनाएको छ । आयोजना प्रमुख रवि चौधरीले बाँके बानियाँभारमा खेतको पानीले गर्दा टावरको जग खन्न ढिलाइ भएको र पानी कम हुन बित्तिकै यसलाई पुरा गरिने बताए । आयोजनाले हाल गाभरमा टावर निर्माण गरिरहेको छ भने रुख कटान र काठ ढुवानीमा भौगोलिक कठिनाई देखिएका केही स्थानमा ड्रोनबाट लाइन जडान गर्ने तयारी गरेको छ । कोहलपुर सबस्टेशनबाट प्रशारणलाइनको माध्यमबाट सुर्खेतको सुब्बाकुनास्थित सब स्टेशनमा विद्युत् जडान गरिनेछ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शनिबार सुर्खेतदेखि बाँकेको कोहलपुरसम्मका प्रशारणलाइनका संरचनाहरुको निरीक्षण गर्दै उनले जनस्तरमा देखिएका समस्या समाधान भइसकेकाले अब निर्माणमा ढिलाइ गर्न नहुने बताए । उनले आउँदो तिहारसम्म प्रशारणलाइनको फिल्डको काम सकेर सब स्टेशनमा विद्युत् जोड्ने गरी काम सम्पन्न गर्न आयोजना कार्यालयलाई निर्देशन दिए । मुख्यमन्त्री कँडेलले बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा प्रशारणलाइनका कर्मचारीसंग बाँकी कामहरुको बारेमा छलफल गरेका थिए । चिसापानी गाभरमा सरोकारवालासंगको छलफलमा संघीय वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही पनि सहभागी थिए ।

मुख्यमन्त्री कँडेलले संस्थागत क्षमता बढाएर कामलाई छिटो छरितो सम्पन्न गर्न तर्फ ध्यान दिन आग्रह गरे । ‘अहिलेसम्म विभिन्न कानुनी र स्थानीयसंगको विवादलाई देखाएर ढिलाइ भयो, अब ती समस्याहरु समाधान भइसकेका छन्, उनले भने, मौसम प्रतिकुलतालाई देखाएर अब धेरै समय ढिला गर्ने छुट छैन्, जतिसक्दो छिटो प्रशारणलाइनको काम सम्पन्न गर्नुस, प्रदेश र संघीय सरकारबाट कुनै निर्णय, समन्वय एवं सहकार्य गर्नुपर्ने भए जानकारी गराउनुस् ।’

उनले निकुञ्जका कर्मचारीलाई कर्णालीबासीको दिनचर्यासंग जोडिएको राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनामा देखिएको अवरोधलाई स्थानीयस्तरबाटै समाधान गर्न पहलकदमी लिन जोड दिए । संघीय वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले अधिकतम प्राथमिकतामा राखेर काम अघि बढाइएपनि केही ढिला हुन पुगेको बताए । ‘मन्त्रालयको तर्फबाट गर्नुपर्ने कामहरु हामी गर्छौं, गरिरहेका पनि छौं बाँकी केही समस्या देखिएमा लेखेर पठाउनुस्, मन्त्रालयस्तर र मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने भए गर्छौं’ उनले भने । मुख्यमन्त्री र वनमन्त्रीसंगको छलफलमा बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन अशोक रामले काटिएका काठहरु ल्याउन बाँकी रहेकाले अब रुख कटान र ढुवानीमा ढिलाइ नगर्ने प्रतिवद्धता जनाए ।

यसअघि बाँकेको बानियाँभार, गाभर र सुर्खेतको सुब्बाकुनामा मुआब्जा विवाद थियो । सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको हकमा मुआब्जा नीतिमा फेरबदल गरेपछि यो विवाद हल भएको हो । ७० करोड लागत रहेको आयोजना निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टसँग २२ असार २०७६ मा सम्झौता भई काम अघि बढेको थियो । सम्झौता अनुसार २३ असार २०७८ मै आयोजना सम्पन्न हुनुपर्ने हो । तर रुख कटान अनुमतिमा ढिलाइ र स्थानीयको अवरोधका कारण अपेक्षित गति लिन सकेको थिएन । हालसम्म ९५ प्रतिशत भौतिक प्रगति हासिल गरेको आयोजनाको दाबी छ । सुरुदेखि नै आयोजना विस्तार हुने क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा जग्गा भोगाधिकार, रुख कटान तथा बाँकेको बैजनाथ गाउँपालिका १ गाभर र वडा नं. ४ को बानियाँभारका स्थानीयबाट अवरोध सिर्जना हुँदै आएको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,