
सुर्खेत– नेकपा एमालेको इतिहासमा कर्णाली प्रदेशबाट पहिलोपटक पदाधिकारी तहमा पुग्ने नेता बनेका छन्, यामलाल कँडेल । विहीबार काठमाडौंमा सम्पन्न ११ औं महाधिवेशनबाट कँडेल सचिव पदमा निर्वाचित भएका हुन् । एमालेको इतिहासमा पहिलोपटक कर्णालीबाट केन्द्रीय पदाधिकारीमा प्रतिनिधित्व भएपछि यहाँका कार्यकर्तामा उत्साही बनेका छन् ।
हल कर्णालीका मुख्यमन्त्री रहेका कँडेल यसअघि स्थायी कमिटी सदस्य थिए । यसपटक अध्यक्ष केपी शर्मा ओलीको समूहबाट सचिवमा उम्मेदवारी दिएका उनले एक हजार १८५ मत प्राप्त गरी निर्वाचित भए । चितवनमा सम्पन्न १० औं महाधिवेशनमा सचिव पदमा आकांक्षा राखेपनि अन्तिम उनी उम्मेदवार बन्नबाट रोकिएका थिए । त्यतिबेला पनि अध्यक्ष ओलीले टिममा नपारेपछि उनले उम्मेदवारी दिन चाहेनन् । केन्द्रीय सदस्यमै उम्मेदवारी दिए र जिते । यसपटक भने कँडेललाई पदाधिकारीमा सुनिश्चित गर्न प्रदेश र जिल्ला तहका नेताहरुले चर्को लबिइङ गरेका थिए ।
कँडेलको सांगठनिक पकड, पाको अनुभवी र कुशल नेतृत्व क्षमता कारण उनलाई पदाधिकारी तहमा पु¥याउन नेतृत्वसामू दबाब पुगेको थियो । कतिपयले भने पछिल्लो समय अध्यक्ष ओलीसंग कँडेलको सम्बन्ध सुधार भएका कारण यो अवसर मिलेको दाबी गर्ने गरेका छन् । १० औं महाधिवेशन ताका ओलीले कँडेललाई आफूखुसी संगठन चलाउने गरेको भन्दै टिममा समेट्न नचाहेको चर्चा चलेको थियो ।
कँडेल सचिवमा निर्वाचित भएपछि सिंगो कर्णालीमै पार्टीप्रति उत्साह छाएको नेताहरु बताउँछन् । एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाहले कार्यकर्ताको वर्षौंदेखिको चाहना पुरा भएको बताए । “पार्टी केन्द्रमा कर्णालीको आवाज पु¥याउन कम्तीमा एउटा पदाधिकारी अनिवार्य चाहिन्छ भन्ने माग राख्दै आयौं, हामीसंग पदाधिकारी तहमा पुग्न सक्ने नेताहरुको कमी थिएन, तर अवसर दिनुस भन्ने कुरा राख्यौं, यसपटक नेतृत्वले पनि हाम्रो कुरा सुन्यो,” उनले भने, “अब आम कार्यकर्ताको चाहनाबमोजिम पार्टीलाई थप एकताबद्ध र मजबुत बनाउन केन्द्रीय सचिवको रुपमा यामलालजीले भूमिका निर्वाह गनुहुनेछ भन्ने विश्वास लिएका छौं ।”
कँडेलसंगै केन्द्रीय सदस्यमा निर्वाचित रुद्र शाहीले एमालेको मूल प्रवाह नेपाल कम्युनिष्ट पार्टीको सात दशक लामो इतिहासमा केन्द्रीय पदाधिकारीमा पुग्ने अवसर प्राप्त भएको बताए । “अरु प्रदेशबाट ६ जना पदाधिकारी चुनिसक्दा कर्णाली प्रदेशले हालसम्म पदाधिकारी पाउन सकेको थिएन, यसले गर्दा हाम्रो केन्द्रीय नेतृत्वलाई विरोधीले कर्णाली विरोधीको संज्ञा दिन्थे, अब त्यो आरोप लगाउने आधार पनि रहेन,” उनले भने । एमाले कर्णाली प्रदेश कमिटी सदस्यसमेत रहेका महाधिवेशन प्रतिनिधि नवराज महताराले एमालेको राष्ट्रिय राजनीतिमा कर्णालीको आवाजले विशेष अर्थ राख्ने टिप्पणी गरे । नवनिर्वाचित केन्द्रीय सदस्य पार्वती विशुन्खेले पार्टी केन्द्रले प्रदेशको जनभावनालाई सम्बोधन गरेकाले यसले कर्णालीमा पार्टी कार्यकर्तामा उत्साह छाएको बताइन् ।
केन्द्रीय सचिव पदमा निर्वाचित कँडेलले थप जिम्मेवारी प्राप्त भएको प्रतिक्रिया दिए । ‘खुसीको विषयसँगै थप जिम्मेवारी प्राप्त भएको छ,’ उनले भने, ‘नेकपा एमालेमा रहेका नेताहरूमध्ये आफ्नो इच्छाअनुसार दर्खास्त हालेका थियौँ, त्यसमध्ये प्रतिनिधिहरूले छानेर हामीलाई जिम्मेवारी दिनुभएको छ, यसलाई हामी इमानदारीपूर्वक पूरा गर्छौं ।’ महाधिवेशनबाट थप एकताबद्ध र बलियो जनाधारसहितको पार्टी निर्माण हुने बताए ।
कँडेलसंगै कर्णालीबाट सुर्खेतका नवराज रावत, मोहनमाया ढकाल, पद्मा खड्का, सल्यानका गोविन्द पुन, जाजरकोटका निरज आचार्य, डम्बरबहादुर सिंह, सिपी घर्ती, दैलेखका राजबहादुर बुढा, मिनासिं रखाल, विष्णु रिजाल, पार्वती विशुन्खे, सूर्यकुमारी श्रेष्ठ, रुद्र शाही, सुशिल थापा, कालीकोटका नगेन्द्र शाही, मिनबहादुर शाही, इन्दिरा सन्ज्याल, हुम्लाबाट गोरखबहादुर बोगटी, दल रावल, दल फडेरा, डोल्पाका बद्मी बोहरा, मुगुका जीतबहादुर मल्ल, दानसिं परियार निर्वाचित भएका छन् । त्यस्तै केन्द्रीय लेखा आयोगमा नन्दाकुमारी आचार्य निर्वाचित भइन् ।
को हुन् कँडेल ?
२०१८ सालमा दैलेखको सेरीमा जन्मिएका कँडेल वीरेन्द्रनगर ४ का स्थायी बासिन्दा हुन । उनी राजनीतिमा आउनुपूर्व शिक्षण पेशामा संलग्न थिए । २०३६ मा सुर्खेतको दशरथपुरमा किसान आन्दोलनको साक्षी थिए, उनी । चार जनाले सहादत प्राप्त गरेको उक्त आन्दोलनमा सहभागी भएर कँडेलको औपचारिक राजनीतिक यात्रा सुरु भएको थियो ।
कँडेल त्यतिबेला शिखर माध्यमिक विद्यालय दशरथपुरमा शिक्षण पेसामा संलग्न थिए । किसान आन्दोलनबाट सुरु भएको कँडेलको राजनीतिक यात्रा २०४० सालमा काठमाडौंको शंकरदेव क्याम्पसमा अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिको उम्मेदवारसम्म पुग्यो । तर, उनी नेविसंघका उम्मेदवार सुर्खेतकै हृदयराम थानीसँग पराजित भए । २०४२–४३ मा झण्डै नौ महिना कँडेलले बन्दी जीवनसमेत बिताएका थिए । २०४० देखि २०४६ सम्म पार्टीको काठमाडौं उपत्यकाको विद्यार्थी कमिटीमा रहेर कँडेल क्रियाशील राजनीतिमा संलग्न भएका थिए ।
२०४९ मा एमाले सुर्खेत जिल्लाको प्रथम अधिवेशनबाट सचिव बनेका कँडेल सोही समयबाट पार्टी राजनीतिमा सक्रिय भए । २०४९ को स्थानीय निकायको निर्वाचनमा वीरेन्द्रनगरको मेयर पदमा निर्वाचित भएका थिए । २०५१ मा मेयर पदबाट राजीनामा दिई मध्यावधि निर्वाचनमा कांग्रेसका हृदयराम थानीलाई पराजित गर्दै पहिलोपटक सांसद बने । शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा थानीसँग हारेको बदला कँडेलले प्रतिनिधिसभा सदस्य चुनावमा लिएका थिए । २०५१ मा साविक एमालेको भेरी अञ्चल सचिव भएका कँडेल २०५४ मा एमाले विभाजनपछि वामदेव गौतम नेतृत्वको नेकपा मालेमा आबद्ध भएका थिए । मालेमा आबद्ध भएलगत्तै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी तीन महिना जति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने ।
२०५६ को संसदीय निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर २ मा मालेको तर्फबाट उम्मेदवार बनेका कँडेल कांग्रेसका हृदयराम थानीसँग पराजित भए । २०६४ मा एमालेको तर्फबाट सुर्खेत २ बाट संविधानसभा सदस्यमा निर्वाचित भए । २०७० मा पुनः सोही क्षेत्रबाट कांग्रेसका हृदयराम थानीसँग कँडेल पराजित भए । यस्तै, २०७४ र २०७९ को प्रदेशसभा निर्वाचनमा सुर्खेत २ (क) बाट प्रत्यक्ष निर्वाचित भएका कँडेल एमाले प्रदेशसभा संसदीय दलको नेता समेत हुन् ।
कँडेल एमाले पार्टी राजनीतिमा केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै २०७८ मा पार्टीको १० औँ महाधिवेशनबाट स्थायी कमिटी सदस्य बनेका थिए । उनले कर्णाली प्रदेशको इन्चार्जको जिम्मेवारी सम्हालेको अनुभव छ । कँडेलले शंकरदेव क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् भने भारत, चीन, अमेरिका, फ्रान्स, क्यानडा तथा बेलायत लगायतका देशहरूको भ्रमण गरेका छन् ।


कर्णाली समय । ५ पुष २०८२, शनिबार १७:५१