‘स्कूल अफ ल’ लाई अनुसन्धान केन्द्रको रुपमा विकास गरिनेछ : उपकुलपति सिंह

सुर्खेत– मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले ‘ग्य्राजुएट स्कुल अफ ल’ लाई अन्तर्राष्ट्रियस्तरको कानून अध्ययन, अध्यापन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न लागिएको बताएका छन् । ‘स्कूल अफ ल’ द्धारा शुक्रबार आयोजित सामाजिक न्यायका लागि सामाजिक कानूनी शिक्षासम्बन्धी अनुभव आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि विभिन्न कार्यहरु अगाडि बढिसकेको जानकारी दिए ।


संयुक्त राष्ट्र संघका आवासीय संयोजक हान्ना सिंगर ह्याम्डीले सामाजिक न्यायको क्षेत्रमा ग्य्राजुएट स्कुल अफ ल तथा विद्यार्थीहरुले गरेको योगदानको उच्च मुल्यांकन गरिन् । कार्यक्रममा ग्य्राजुएट स्कुल अफ लद्वारा प्रकाशित ‘द जर्नल अफ लिगल स्टडिज’ को अनावरण गरिएको थियो । ग्य्राजुएट स्कुल अफ ल का निर्देशक सुरेन्द्रकुमार अधिकारीको सञ्चालन गरेको उक्त कार्यक्रममा सह–प्राध्यापक विनयकुमार झाले सामाजिक न्यायका लागि सामाजिक कानूनी शिक्षासम्बन्धी प्रस्तुतीकरण दिए भने ग्य्राजुएट स्कुल अफ ल मा अध्ययनरत विद्यार्थीहरुले कानुनसंग सम्बन्धित सामाजिक न्यायका लागि गरेका विभिन्न सकारात्मक प्रयास र कार्यहरुबारे अनुभव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति सिंह, संयुक्त राष्ट्र संघका आवासीय संयोजक ह्याम्डीका साथै विश्वविद्यालयका रजिष्ट्रार प्राडा नारायणप्रसाद पौडेल, डीन सह–प्रा डा लीलाधर तिवारी, प्रिन्सिपल जस्बिर रोका, युनएनडिपीका पोर्टफोलियो म्यानेजर टेक टमाटा, ग्य्राजुएट स्कुल अफ ल का प्राध्यापक र विद्यार्थीहरुको समेत सहभागिता थियो । नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको साझेदारीमा संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना दोस्रो चरणको कार्यक्रम कर्णाली प्रदेशमा सञ्चालनमा रहेको छ ।