सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समयलाई चिनेर दौडिए मात्र लक्ष्यमा पुग्न सकिने बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा रेस नेपालले शनिबार आयोजना गरेको ज्ञान कर्णाली हाफ म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुद मात्र नभई हरेक ठाउँमा समयलाई चिनेर दौडिएमा मात्र सही गन्तव्यमा पुग्न सकिने बताएका हुन् ।
कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै समयमै सम्पन्न गर्न दबाब स्वरुप यो प्रतियोगिताको आयोजना भएको आफूलाई लागेको मुख्यमन्त्री कँडेलले बताए । कर्णालीको विकासलाई माग आकांक्षाभन्दा पनि स्रोतसाधनको उपलब्धताका आधारमा कार्ययोजना बनाएर काम गरिने उनको भनाइ छ । सामाजिक विकासमन्त्री बीरबहादुर शाहीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णालीलाई चिनाउने अभियानका लागि सुनौलो समय भएको बताए । उनले भने, कर्णालीले पनि खेलकुदमा भारी मात्रामा काम गर्न लागेको छ भन्ने सन्देश दिएको छ ।’
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलकुदका माध्यमबाट कर्णाली चिनाउने अवसरका रूपमा पनि यसलाई लिइएको उनले दाबी गरे । धावक हरिबहादुर रोकायप्रति सम्मान व्यक्त गर्दै यस्तै खालका खेलाडी उत्पादनमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको जोड रहेको उनको भनाइ छ । प्रतियोगिताको शुभारम्भ वरिष्ठ कलाकार प्रेमदेव गिरीले मादल र मुख्यमन्त्री कँडेलले झ्याली बजाएर शुभारम्भ गरेका थिए ।
प्रतियोगिता उद्घाटनमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, प्रदेश खेलकूद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्याल, विश्व विजेता धावक हरिबहादुर रोकाया लगायतको सहभागिता थियो ।
कर्णाली समय । २९ बैशाख २०८१, शनिबार १२:३९