सुर्खेतको पुरानो सदरमुकाम गोठिकाँडामा स्थापना भएको आयुर्वेद कार्यालय विसं २०२३ मा सबै कार्यालयहरू वीरेन्द्रनगर सारिएपनि अञ्चल आयुर्वेद औषधालय तत्कालिन राकम (हाल सिम्ता गाउँपालिका) मा अञ्चल आयुर्वेद औषधालयको रूपमा कायम रह्यो । राजा वीरेन्द्रको सुर्खेत भ्रमणको बेला स्थानीयहरूले आयुर्वेद कार्यालय स्थापना गर्न माग गरेपछि २०४१ साउन १५ मा वीरेन्द्रनगरस्थित गणेशचोकमा कार्यालय स्थापना भयो । त्यसपछि राकम र वीरेन्द्रनगरमा आयुर्वेद कार्यालय सञ्चालमा आए । हाल यो अस्पताल वीरेन्द्रनगर–४ कालागाउँस्थित आफ्नै भवनमा अवस्थित छ । प्रदेश मन्त्रिपरिषद्को २०७९ भदौ २८ गते बसेको बैठकबाट “प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र” नामकरण गरियो । कर्णाली प्रदेशमा आयुर्वेद तथा वैकल्पिक चिकित्साको गुणस्तरीय सेवा र रोग उपचारमा सहयोग पु¥याउने उद्देश्यमा केन्द्रित छ । यसले अहिले के काम गर्दैछ ? उपचारात्मक, प्रर्वद्धनात्मक र अनुसन्धानात्मक कामहरु के के भइरहेका छन् ? लगायतका विषयमा रहेर यस केन्द्रका निमित्त निर्देशक डा लक्ष्मीनारायण तिवारीसंग कुराकानी गरेका छौं । डा तिवारीसंग कर्णाली समयले गरेको कुराकानीको सार संक्षेप यहाँ प्रस्तुत छ–
१. अहिले यो केन्द्र मुख्य गरी के काममा केन्द्रित भएको छ ?
मुख्यतः हामीले तीन वटा पाटोमा काम गर्छौं । यसले बिरामीको बिरामीको उपचार, औषधि उत्पादन र अनुसन्धान गर्ने काम गर्दछ । ओपिडी, आइपिडी, निःशुल्क औषधि वितरण, गुणस्तरीय प्रयोगशाला सञ्चालन, शल्य चिकित्सा, अग्निकर्म, पञ्चकर्म सेवा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सेवा, सशुल्क फार्मेसी सेवा सञ्चालन गरिरहेका छौं । यसका अलावा दैनिक उपचारात्मक योग, आरोग्यका कार्यक्रमहरु, गाउँघर क्लिनिक, आयुर्वेद शिविर लगायतका विभिन्न प्रवर्दनात्मक सेवाहरु पनि गरिरहेका छौं ।
२. औषधि उत्पादनको अवस्था कस्तो छ ?
अहिले चाहिँ हामीले २३ थरीका निःशुल्क औषधिहरुमध्ये ९ थरीका औषधि उत्पादन गर्ने गर्छौं । यहाँ उत्पादित औषधिहरु माग भएबमोजिम जिल्लाहरुमा, स्थानीय तहमा पठाउने गर्छौं । विशेष गरी स्थानीय कच्चा पदार्थलाई पहिलो प्राथमिकतामा राख्छौं । तर अधिकांश कच्चा पदार्थ ठेकेदारहरुले नेपालगञ्ज ढुवानी गर्ने भएकाले उताबाट यता ल्याउनुपर्ने बाध्यता छ । तर अहिले ठूलो परिमाणमा स्थानीय कच्चा पदार्थ छ भने सहकारीमार्फत खरिद गर्छौैं । कतिपय व्यक्तिसंग छ भने पनि त्यसको गुणस्तर हेरेर जिल्ला दररेटबमोजिम सोझै भरपाई गरेर खरिद गर्छौं । जस्तै च्वयप्रासमा प्रयोग हुने अमला हामीले मेहेलकुना क्षेत्रबाट खरिद गर्छौं । २३ मध्ये ९ प्रकारका औषधिहरु उत्पादन गर्दै आएका छौं ।
३. औषधि उत्पादनमा प्रयोग हुने जनशक्तिको व्यवस्थान कसरी गर्नुभएको छ ?
पहिले विज्ञ हुनुहुन्थ्यो । अहिले हुनुहन्न । हामीसंग फार्मासिस्ट, डाक्टर र २ जना कामदार हुनुहुन्छ । उहाँहरुले नै प्याकेजिङ, लेबलिङ लगायतका सबै कामहरु गर्नुहुन्छ ।
४. यसको त नामै अनुसन्धान केन्द्र छ । अनुसन्धानको कामहरु के भइरहेको छ ?
अनुसन्धान शीर्षकमा गत वर्ष १० लाख रुपैयाँ विनियोजन भएको थियो । त्यो बजेटमा कार्यविधि बनाई अनुसन्धान गर्ने भनेर लेखिएको थियो । कार्यविधि बनाएर मन्त्रालयमा बुझायौं । अलि बृहत रुपमा लैजानुपर्छ भन्ने छलफल भयो, अलि केही कन्फ्युज पनि भयो । कुन ऐनमा टेकेर कुन मोडालिटीमा लैजाने भन्ने विषयमा टुंगोमा पुग्न सकिएन, अन्ततः कार्यविधि पारित भएन । तालिमतर्फको पैसा खर्च भएपनि अनुसन्धानतर्फको पैसा फिर्ता भयो । यसपटक पनि १० लाख बजेट छ । दुईटा प्रपोजल पनि आएको छ । कार्यविधि नबनाई सोझै कर्णाली खर्च मापदण्ड अनुसार खर्च गर्न सकिने भएको छ । यस वर्ष पहिलो प्राथमिकतामा राखेर यो अनुसन्धानको बजेट खर्च गर्छौं ।
५. के विषयमा अनुसन्धान गर्दै हुनुहुन्छ ?
हामीले अग्निकर्म सेवा सञ्चालन गरिरहेका छौं । यो विशेषगरी मासु र हाडजोर्नीको दुखाइको उपचार गर्ने पद्धति हो । हामीले अग्निकर्म विधिबाट गरिरहेको उपचारको इफेक्ट (प्रभाव) कस्तो छ ? दुखाईको मात्रा कति घट्दो रहेछ ? भनेर अध्ययन, अनुसन्धान गर्न यो बजेट खर्च गर्दैछौं । अनि अर्को, मानिसहरु कुन अथवा कस्तो अवस्थामा आयुर्वेद आउँछन् ? के सोचेर आउँछन् ? लगायतका विषयमा केन्द्रित भएर अध्ययन गर्छौं । यी दुईटा कुरामा यस वर्ष हामी अनुसन्धान गरेर नतिजा निकाल्छौं ।
६. अनुसन्धानका लागि आवश्यक प्रक्रिया, व्यवस्थापनको तयारी पनि गर्नुपर्छ होला नि ?
हो, हाम्रो आयुर्वेद विभागले अनुसन्धान नीति बनाएको छ, त्यसको पालना गर्छौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट वैधानिक रुपले अनुमति लिन्छौं । त्यो अनुमति लिन बाँकी छ । अग्निकर्म एक प्रकारको थेरापी हो, थेरापी गर्दा हड्डी, मासु, जोर्नी, कुइना इत्यादि भागको दुखाई कम कति मात्रामा भयो भनेर मापन गर्छ, त्यसैले यो महत्वपूर्ण अनुसन्धान हो । यसले हाम्रो अग्निकर्म विधिलाई थप प्रभावकारी बनाउन मद्दत गर्छ । अनुसन्धान कार्यका लागि पब्लिक हेल्थको जनशक्ति हायर गर्नुपर्नेछ । अन्य म्यानपावर हामीसंगै छ ।
७. अहिले प्रदेश आयुर्वेदमा बिरामीको संख्या कस्तो छ ?
हामी कहाँ बिरामी पर्याप्त छन् । बिमा लागू नहुँदा प्रदेश अस्पतालको जस्तो भीड त यहाँ हुँदैन । ठूलो भीड नदेखिएपनि हाम्रो जनशक्ति र पूर्वाधार व्यवस्थापनले धान्न सक्ने बिरामीको संख्या छ । औषतमा ८० देखि ९० जना आउँछन् । पहिला ओपिडी ३ बजेसम्म थियो । म आएपछि चार बजेसम्म ओपडी सञ्चालन गरेका छौं । सेवा चाहिँ पाँच बजेसम्म सञ्चालन गरेका छौैं । चैत १ देखि अन्तरंग वार्ड सुरु गरिएको छ । हालसम्म ९० जनाको अपरेसनपछि डिस्चार्ज गरिएको छ ।
८. प्रदेश आयुर्वेदले अन्य सेवाहरु पनि विस्तार गर्दैछ की ?
अब छिट्टै हामी अकुपञ्चर सेवा सञ्चालन र पञ्चकर्म युनिट स्थापना गर्ने तयारीमा छौं । पञ्चकर्म सुगर, प्रेसर लगायतका बिरामीका लागि भरपर्दो उपचार विधि हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय कार्यक्रम अन्र्तगत स्वर्णबिन्दु प्राशन सञ्चालन हुँदैछ । जो भदौ ५ देखि सुरु हुन्छ । ६ महिनादेखि पाँच वर्ष मूनीका बालबालिकालाई यो थोपा खुवाइन्छ । सुनको भस्म, औषधि मिसाएको घिउ र महको मिश्रण भएकाले यसले बालबालिकाको समग्र स्वास्थ्य राम्रो बनाउँछ । शारिरीक, मानसिक विकासमा मद्दत पु¥याउँछ, पाचन शक्ति बढाउँछ, रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यसको नामदर्ता र स्वास्थ्य परीक्षण निःशुल्क गर्छौं ।
९. प्रदेश आयुर्वेदले औषधि बिक्री वितरण पनि गर्छ ? यसको आम्दानीको अवस्था के छ ?
हामीले वार्षिक ६० लाख बढी आम्दानी गर्छौं । तर आम्दानीको पैसा हाम्रै खाता जम्मा हुन्छ । त्यो पैसा हामीले चलाएका छैनौं । यसलाई अझ व्यवस्थापन गर्न सके प्रदेशको राम्रो आम्दानीको स्रोत आयुर्वेद बन्नसक्छ । यसमा जनशक्ति र बजेट थप गर्न सके यहाँबाटै उल्लेख्य राजस्व संकलन हुनसक्छ ।

कर्णाली समय । २९ श्रावण २०८२, बुधबार ११:५७