प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाउने कि नबनाउने ?

सुर्खेत– वरिष्ठ चिकित्सकहरु सम्मिलित एक समितिले वीरेन्द्रनगरस्थित प्रदेश अस्पताललाई विशिष्टिकृत प्रेषण तथा शिक्षण अस्पतालका रुपमा विकास गर्न सकिने सम्भावना औंल्याएको छ ।


प्रदेश अस्पतालको समग्र विकासका लागि अवस्था र सम्भावना अध्ययन गर्न प्रा डा भगवान कोइरालाको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले प्रदेश सरकारलाई प्रतिवेदन बुझाउँदै प्राज्ञिक तथा शिक्षण केन्द्र बनाउन विभिन्न विकल्पहरु प्रस्तुत गरेको हो । कर्णाली प्रदेशको सामाजिक विकासमन्त्री स्तरीय बैठकले गत भदौ २७ मा डा कोइरालाको संयोजकत्वमा प्रा डा अर्जुन कार्की, डा सुरेश तिवारी, डा केशरबहादुर ढकाल, डा नवराज केसी र डा विकास केसी सदस्य रहेको समिति गठन गरेको थियो ।

अघिल्ला प्रदेश सरकारहरुले यो अस्पताललाई शिक्षण अस्पताल वा प्रतिष्ठानका रुपमा स्तरोन्नति गर्ने नीति अघि सारेपछि यामलाल कँडेल नेतृत्वको सरकारले अध्ययन समिति गठन गरेको थियो । समितिको प्रतिवदेनका आधारमा आवश्यक निर्णय लिने सरकारको योजना छ । समितिले जनस्वास्थ्य नियमावली, २०७७ को अनुसूची–४ बमोजिमका विशिष्टिकृत स्वास्थ्य सेवा सुचारु गरी प्रदेशमा विद्यमान स्वास्थ्य सेवाको पहुँच र गुणस्तरलाई सुदृढ बनाउनका लागि प्रदेश अस्पताललाई प्रदेशको नेतृत्वदायी अस्पताल र स्वास्थ्य प्राज्ञिक केन्द्रको रूपमा विकास गर्नुपर्ने आवश्यकता देखाएको छ ।

समितिको प्रतिवदेनमा भनिएको छ, ‘कर्णाली प्रदेश अन्तर्गत क्रियाशिल सम्पूर्ण स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिएका सेवाहरुलाई गुणस्तरीयता कायम गर्न, विशिष्टिकृत स्वास्थ्य सेवाका लागि प्रदेश बाहिर जाने अवस्थालाई अन्त्य गर्न, कर्णाली प्रदेशको जनस्वास्थ्यको आवश्यकता र प्राथमिकतालाई सिर्जनशिल तरिकाले सम्बोधन गर्न, सेवा प्रवाह गर्दा लाग्ने खर्चमा मितव्ययिता कायम गर्न र कर्णाली प्रदेशमा आवश्यक स्वास्थ्य जनशक्तिको उत्पादन प्रदेशभित्रै गर्न सक्ने गरी शैक्षिक कार्यक्रम, गुणस्तरीय सेवा र अनुसन्धानलाई एकिकृत रूपमा अगाडि बढाउन सक्ने सुदृढ संस्थाको रूपमा कानुनी मान्यता दिई सञ्चालनमा ल्याउन उपर्युक्त हुनेछ ।’

समितिका संयोजक प्रा डा कोइरालाले यस सम्बन्धमा पाँच वटा विकल्पमा अध्ययन गरिएको बताए । उनका अनुसार कर्णाली प्रदेश सरकार अन्तर्गत नीतिगत, कानुनी र संस्थागत रूपमा सञ्चालन हुने स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरी सञ्चालनमा ल्याउन सकिनेछ । यसरी प्रतिष्ठान बनाउँदा वर्तमान र भविष्यका स्वास्थ्यका समस्या समाधान गर्न सक्ने गरी नीतिगत र कानुनी व्यवस्था गर्नु उपर्युक्त हुन्छ ।

प्रदेश अस्पताल सुर्खेतलाई विशिष्टिकृत सेवा सहितको अस्पतालमा स्तरोन्नति गरी पोष्ट ग्य्राजुएट कार्यक्रमहरू चिकित्सा शिक्षा आयोग अन्तर्गत नेशनल बोर्ड अफ मेडिकल स्पेसिलिटिज (एनबिएमएस) वा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (एनएएमएस) लगायतको आंगिक शिक्षण संस्थाको रुपमा सञ्चालन गर्न सकिने, संघीय शिक्षा मन्त्रालयले अघि बढाइरहेको सुर्खेत मेडिकल कलेज स्थापनाका लागि कार्यालय खडा भई भवन निर्माण कार्य प्रारम्भ भइरहेकामा प्रदेश अस्पताल सुर्खेत र सुर्खेत मेडिकल कलेजबीच समन्वय र सहकार्यमा आवश्यक ढाँचा÷विधि तयार गरी स्वास्थ्य क्षेत्रका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न सकिने सुझाव दिएको छ ।

त्यस्तै, संघीय सरकार अन्तर्गत जुम्लामा सञ्चालित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्यमा रणनीति तयार गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने, मध्यपश्चिम विश्वविद्यालयसंगको सहकार्यमा मेडिकल साइन्सका कार्यक्रमहरु सञ्चालन गर्न सकिने समितिको सुझाव छ । डा कोइरालाले यसलाई काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको सहकार्यको मोडल अध्ययन गरी सोका राम्रा पक्षहरूलाई आत्मसाथ गर्दै प्रदेश अस्पताल सुर्खेत र मध्यपश्चिम विश्वविद्यालयबीच समझदारी कायम गरी स्वास्थ्य क्षेत्रका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न सकिने सम्भावना रहेको बताए ।

आइतबार प्रतिवेदन बुझ्दै मुख्यमन्त्री कँडेलले प्रदेश अस्पतालबाट हालसम्म सञ्चालन हुन नसकेका विशिष्टिकृत सेवाहरूको प्रवाह हुने र अस्पतालको आयस्रोत बढाउन सकिने बताए । ‘प्रदेश सरकारले समितिले दिएको सुझावका आधारमा आवश्यक कदम चाल्छ, यो केवल अध्ययनकै लागि मात्र बनाइएको होइन्,’ उनले भने, ‘प्रदेशको समग्र स्वास्थ्य प्रणालीलाई राष्ट्रियस्तरमा उकास्न स्वास्थ्य क्षेत्रका सुधारका काम गर्दछौं ।’



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,