काठमाडौँ– विश्वमा सन् १८६० मा दास प्रथा अन्त्य भएको थियो । दक्षिण एसियामा भुटानले १९९७ मा सबैभन्दा ढिलो दास प्रथा अन्त्य गरेको थियो । नेपालमा चन्द्रशमशेरको पालामा दासहरूलाई गाँस, बाँस र कपासको व्यवस्था गरेर मात्र दास प्रथाको अन्त्य गरेका थिए ।
नेपालमा दास प्रथा अन्त्य भएको करिब एक सय वर्ष पश्चात् पनि कृषिमा आधारित बँधुवा मजदुरहरू अझै स्वतन्त्र भने हुन पाएका छैनन् । पश्चिम नेपालबाट बँधुवा मजदुरी कमैया प्रथा अन्त्य भएको २४ वर्ष भएको छ तर उनीहरू अझै पनि स्वतन्त्र हुन सकेका छैनन् ।
बिहीबार राजधानी काठमाडौँमा एक्सन एड इन्टरनेश्नल नेपालको अगुवाइमा बँधुवा श्रमको अन्त्य विषयमा अन्तक्र्रियासंगै प्रसार कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा नीति निर्माता, सरकारका प्रतिनिधि, दातृ निकाय तथा मुक्त बँधुवा मजदुरहरूको भव्य सहभागिता रहेको थियो ।
दातृ संस्था एक्सनएड नेपालले बँधुवा मजदुरी अन्त्य गर्न विगत ४० वर्षदेखि नेपालमा क्रियाशिल रहेको छ । एक्सनएड नेपालका नीति तथा व्यापार विकासका प्रमुख सरोज पोखरेलले नेपालमा बँधुवा मजदुरीमा गरेको क्रियाकलापहरूको बारेमा जानकारी गराएका थिए । सन् २००० मा कमैया मुक्तिको अभियान पश्चात् मुक्तिले झनै अन्याय बढाएको बताउँदै उनले भने, ‘मुक्तिले मजदुरुहरुलाई श्रम बजारमा धकलेको कारण अन्याय अन्त्य नभएर झन् बढाएको छ ।’ एक्सन एड यस विषयमा केही हदसम्म सफल भएता पनि कमैया मुक्त भएको २४ वर्षमा पनि पुनस्र्थापना हुन नसकेको अन्यायको अर्को रूप रहेको उनले प्रस्टाएका थिए ।
कृषिमा आधारित बँधुवा श्रमको अन्त्य, परियोजनाको सिकाई आदान प्रदान विषयक कार्यक्रममा मुक्त कमैया र कमलरीहरूको पनि बाक्लो उपस्थिति रहेको थियो । समस्या भोगेरै उद्धार भएकी डोटीकी खिना कोलीदेखि बर्दियाकी अष्टुर्नी थारुले आफ्ना अनुभव सुनाएका थिए । २०५७ सालमा कमैया मुक्ति घोषणा गरेपछि धेरैले परिचयपत्र पनि पाए । ४ हजार ९ सय भन्दा धेरैले परिचय पत्र त पाए तर परिचय पत्र बाहेक केही पनि पाएनन् । उनीहरूसँग न शिक्षा छ न त सिप । उनीहरूमाथि झन् अन्याय भइरहेको नागरिक अगुवाइको ठम्याई छ ।
संविधानसभाका सदस्य श्याम श्रेष्ठले नेपाल सरकारले तानाशाही चन्द्र शमशेरले जति पनि काम गर्न नसकेको बताए । पुराना आन्दोलनबाट पाठ सिकेर, थकाई नमानी, एनजिओको मुख नताकी नयाँ आन्दोलनमा होमिन उत्रिन उनको आग्रह थियो । सायल गाउँपालिका कार्यपालिका सदस्य डम्बर विक हलिया मुक्त भएको १५ वर्षपछि पनि समीक्षा गर्न सकेनौँ भने हामी यस क्षेत्रमा लाग्नु व्यर्थ रहेको बताए ।
सन् २०२१ बाट एक्सनएड र अरू ८ स्थानीय संस्थाहरू बाट सुरु गरिएको यस अभियानमा फ्रिडम फन्डको पूर्ण साथ सहयोग रहिरहने द फ्रिडम फन्डका सिनियर प्रोग्राम म्यानेजर पौलिने आरोनले प्रतिबद्धता व्यक्त गरिन् । एक्सन एड इन्टरनेश्नल नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले सुरुवातका दिनहरू स्मरण गर्दै जमिनदारहरुसँग लुकी लुकी मध्यरातबाट सुरु गरिएको आन्दोलनबाट केही न केही उपलब्धी हासिल गरेको बताइन् ।
कर्णाली समय । २५ जेष्ठ २०८१, शुक्रबार २१:१५