त्यो बालुवाटार, यो बालुवाटार !

सुर्खेत– ‘बालुवाटार’ भन्न वित्तिकै आम मानसपटलमा आउने ठाउँ हो, मुलुकका कार्यकारी प्रधानमन्त्रीको निवास । पछिल्ला केही वर्ष यताका सबै प्रधानमन्त्रीहरुले बालुवाटारबाटै राज्य चलाइरहँदा शासनको प्रतिक ‘सिंहदरबार’ अहिले नाम मात्रको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा हुने कामकाज सबै बालुवाटारबाटै गर्ने गरिएको छ । त्यसले गर्दा शक्तिको केन्द्र बालुवाटार सधैं चर्चामै रहन्छ । सङ्घीय राजधानी काठमाडौंको यो नाम नसुन्ने विरलै नेपाली होलान् । तर कर्णाली प्रदेशको राजधानी सुर्खेतको ‘बालुवाटार’ को नाम न राज्यले सुनेको छ नत आम जनताले ।

राज्यको नजरमा गुमनाम यो ठाउँको परिचय बेग्लै छ । वीरेन्द्रनगर नगरपालिका वडा नं ११ धुलियाबिट चोकबाट पूर्वपट्टि झण्डै आधा घण्टा ओरालो हिँडेर पुग्न सकिन्छ, बालुवाटार बस्तीमा । घना जंगलको छेउ र झुप्राखोला किनारमा ३६ घरधुरीको बसोबास छ । यो भूमिहिन, सुकुम्बासी, दलित, अति विपन्न यो बस्तीको परिचय हो । ४० वर्षदेखि एक बिगाहा क्षेत्रफलमै साँघुरिएको छ, यो बस्ती । भोकप्यास मेटाउन दैनिक ज्यालादारीकै कामको पर्खाइमा हुन्छन्, यहाँका बासिन्दाहरु ।

समस्याका चाङ, नेताप्रति आक्रोश
बालुवाटारका समस्या के के छन् ? यो प्रश्न बस्तीमा कसैलाई सोध्नुपर्दैैन । बस्तीमा जता हे¥यो उति नै समस्यै समस्या देखिन्छन् । आक्रोश मिश्रित भावभंगीमा स्थानीयबासी समस्याका फेहरिस्त सुनाउँछन् । नेता र पत्रकारदेखि अझ बढी रिसाएका छन् । कारण– नेताले आश्वासन दिइराखे, भोट बैंकका रुपमा मात्र उपयोग गरे । बस्तीमा अहिले झण्डै १५० जनसंख्यामध्ये ९८ प्रतिशत दलित (नेपाली, गन्धर्भ, विक थर) समुदायको बसोबास छ । तीमध्ये ७५ जना मतदाता छन् । हरेक चुनावमा नेताहरुले प्रलोभन दिएर भोट तान्छन्, जितेपछि वास्तै गर्दैनन् । बालुवाटारबासीको मुख्य चित्त दुखाई यही छ । त्यसैले उनीहरु नेताप्रति भरोसा होइन, गाली पोख्छन् ।

मिडियाकर्मीप्रति पनि बालुवाटारबासी सन्तुष्ट छैनन् । आफूहरुको अभाव र पीडालाई गतिलो गरी ‘हाइलाइट’ नगरेको गुनासो सुनाउँछन् । थुप्रै पत्रकारलाई आफ्ना पीडा, दर्दना सुनाउँदासमेत कतैबाट सुनुवाइ नभएको दुखेसो छ । केही दिन अघि बस्ती पुग्दा टिका नेपाली भन्दै थिइन्, ‘पत्रकारले हाम्रो गरिबीमाथि मजाक उडाइरहेका छन्, कति हामी क्यामरामा बोलिरहने, कति समस्या बताइरहने ?’ मिडियाको खबरदारीप्रति उति भरोसा नगरेका बालुवाटारबासीका कष्ट लेखिसाध्य छैनन् ।

बालुवाटार भूमिहिन र सुकुम्बासीको बस्ती हो । जहाँ घरको नाममा स साना टहरा छन् । तरकारी लगाउने जग्गासमेत छैन् । ४ दशकदेखि यहीँ बस्दै आएपनि जग्गा उनीहरुको नाममा छैन् । ६३ वर्षीय भीमबहादुर गन्धर्व भन्छन्, ‘लालपुर्जा पाउने आस छैन्, खासमा लालपुर्जा चाहिने हामीलाई हो सरकार हुने खानेहरुलाई लालपुर्जा बाँड्दै हिँडेको छ ।’ उनी कपाल कोेर्ने काठको काइँयो र लिखटो बनाउँछन् । पलाष्टिकका आधुनिक काइँयो बजारभर छ्याप्छ्याप्ती हुँदा उनको सीप पनि बिक्न छाड्यो । अचेल काठको काइँयो किन्ने मान्छे नहुँदा बनाउनै छाडेका छन् । यहाँका अधिकांशले झुप्राखोलाको बालुवा चालेर बिहान बेलुकाका छाक टार्थे । तर पछिल्ला केही महिनायता बस्ती छेवैको सडक बन्द भएपछि ज्यालादारीको यो काम पनि धरापमा परेको छ । ‘हाम्रो मुख्य पेशा बालुवा चाल्ने थियो, बालुवा चालेर गर्जो टाथ्र्यौं, यही काम बन्द हुँदा हामी बिचल्लीमा छौं,’ भीमबहादुर भन्छन्, ‘बस्तीमा एकपछि अर्को समस्या देखिँदा तनाव बढेको छ, यहाँ छाडेर जाने अन्त कतै ठाउँ छैन्, जहान परिवार पाल्नै समस्या छ ।’ लालपुर्जा आफूहरुको सपना भएपनि त्यो अझैं आश्वासनमै सीमित हुने उनको भनाई छ ।

बस्तीमा सडक पुगेको छैन् । गम्भीर बिरामीलाई उपचारमा लैजान बोकेर लैजानुपर्ने बाध्यता छ । पविदेवी नेपालीले २०५४ सालयताका सबै निर्वाचनमा उनले भोट खसालेकी छन् । भोट खसाल्ने अधिकारबाहेक आफूहरुले अरु अधिकार नपाएको उनी बताउँछिन् । ‘यो नेताका लागि चाहिने भएर भोट हाल्ने अधिकार दिएका हुन,’ ७० वर्षीय पविदेवी भन्छिन्, जति व्यवस्था फेरिएपनि हाम्रा दुःख झन् बढेका छन्, भोट हाल्ने अधिकारबाहेक राज्यबाट कुनै अधिकार पाएका छैनौं । कम्तीमा लालपुर्जा त दिनुपथ्र्यो, त्यही पनि छैन् ।

बस्तीकै ३५ वर्षीय दीपक नेपाली आफूसंग गाडी चलाउने सीप भएपनि काम नपाएको बताउँछन् । लाइसेन्स लिएको १० वर्ष भयो । तर नियमित काम पाउन सकेका छैनन् । अब उनी भारत जाने तयारीमा छन् । ‘यहाँ काम पाइँदैन, भारत जाने सोचमा छु,’ उनी भन्छन्, ‘पोहोरसम्म बालुवा बेचेर, ट्याक्टर चलाएर खर्च चलाउँदै आएको थिएँ, अहिले दुवै काम खोसिएको छ ।’ ज्याला मजदुरीमै काम गर्न नपाउँदा घर खर्च चलाउन समस्या भएको दीपक बताउँछन् । उनीजस्तै बस्तीमा युवाहरु दैनिक कामको खोजीमै भौंतारिरहेका हुन्छन् ।

बालबालिकाको पढाइ पनि प्रभावित
शिक्षाको आधारभूत सुविधादेखि धेरै टाढा छ, बालुवाटार । जहाँ प्रारम्भिक बाल विकास कक्षा पनि सञ्चालनमा छैन् । त्यसले गर्दा बालबालिकाहरू साधारण अक्षर चिन्नबाट बञ्चित छन् । विद्यालय पनि नजिक छैन् । कलिला बालबालिकाहरु जंगलको बाटो हुँदै एक घण्टाको पैदल हिँडेर शिव माध्यमिक विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ । बस्तीमा आधारभूत स्कूल नहुँदा बालबालिकाको पढाइ अनियमित हुने गरेको छ । स्थानीय टीका नेपाली भन्छिन्, ‘स्कूल नजिक नहुँदा धेरैजसोले पढाइ बीचैमा छाड्ने गर्दछन्, घरायसी समस्याले काम खोज्दै बजारतिर हिँड्नुपर्ने बाध्यता छ ।’ टीकाले पनि पढाइ छाडेर १३ वर्षको उमेरमै विवाह गरेकी थिइन । उनका अहिले ४ छोरी र १ छोरा छन् । गरिबीका कारण छोराछोरीलाई नियमित पढाउन नसकेको उनको दुखेसो छ । ‘घरमा खाने चामल हुन्न, पेटभरी खान नपाए कसरी स्कूल पठाउनु,’ गीता सुनार भन्छिन्, ‘न रोजगारी छ नत जीविकोपार्जनका अरु कुनै उपाय । ज्यालामजदुरीमा काम पाउनै मुस्किल छ । काम पाइए त दाल चामल किन्ने पैसा आउँछ, नत्र भेटभरी खान पाइँदैन । पैसा नहुँदा साहुले नै उधारो पत्याउँदैनन् ।’

पर्याप्त कापीकलम, पोशाक, खाजानास्ता नपाउँदा बालबालिकाहरु खुसीका साथ स्कूल जान नसकेको उनको भनाई छ । चरम गरिबीका कारण यो बस्तीका बालबालिकामा एकसरो नयाँ कपडा फेर्न समस्या छ । ‘आफूले जति कष्ट भोगेपनि केटाकेटीलाई चिटिक्क पारेर स्कूल पठाउन पाए हुन्थ्यो जस्तो लाग्छ, तर सकिएको छैन्’, टीका भन्छिन् । यो बस्तीमा खाद्य अधिकारको क्षेत्रमा काम गर्ने एक गैरसरकारी संस्था दुई वटा खानेपानी धारा र ६ घरधुरीलाई विद्युत उपलब्ध गराइदिएको छ । सरकारले वर्षौंसम्म पुरा नगरेको खानेपानीको माग गैरसरकारी संस्थाले पुरा गरिदिएपछि भने बालुवाटारबासी खुसी छन् ।

वीरेन्द्रनगर नगरपालिका ११ का वडाध्यक्ष खिमलाल देवकोटाले पहिलो चरणमा लालपुर्जा वितरण गरिने बताए । कम्युष्टर प्रविष्ट गर्ने काम भइसकेको छ,’ उनी भन्छन्, ‘मुख्य समस्या व्यवस्थित बसोबास हो, यसका लागि काम शुरु गर्दैछौं ।’ बालुवाटार बस्तीमा झोलुंगे पुल, खानेपानी आयोजना र सडक निर्माणको काम सम्पन्न गर्ने नगरपालिकाको स्वीकृत कार्ययोजनामा उल्लेख छ । बस्तीमा कच्ची सडक पु¥याउन वडा कार्यालयले ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अति विपन्न दलित बस्ती भएका कारण नगरपालिकाको प्राथमिकतामा परेको उनको भनाई छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,