कर्णालीका युवामाझ के भने पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ र पत्रकार दिलभुषण पाठकले ?

सुर्खेत– वीरेन्द्रनगरमा सञ्चालित कर्णाली युवा महोत्सवमा शनिबार कर्णालीका युवाहरुमाझ प्रेरणादायी सन्देश लिएर उपस्थित थिए, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ र वरिष्ठ पत्रकार दिलभुषण पाठक ।

सन् २०१० की मिस नेपाल सदिक्षाले युवाहरुलाई दृढ अठोट लिएर निरन्तर अघि बढेमा आफ्नो लक्ष्यमा सफलता मिल्ने बताइन् । यसका लागि हरेकले आफ्नो क्षमतामा विश्वास गर्नुपर्ने बताइन् । ‘अरुले जे सुकै भनोस् तर आफूले आफ्नो क्षमतामा विश्वास राख्नुपर्दछ, कुनै पनि अवसर तपाईँको अगाडि आउँछ भने समाउनुस्, अवसर टाढा टाढा जान खोज्छ भने पछ्याउनुहोस्,’ उनले भनिन्, ‘हरेक कामको सम्मान गर्नुपर्छ, ठुलो सानो जे–जस्तो भएपनि त्यो एउटा अवसर हो, त्यसलाई अंगाल्न सक्नुस् ।’
साथै उनले युवाहरुलाई कुनै काममा एकपटक असफल हुँदैमा निराश नहुन सुझाइन् । ‘तपाई सबै असफल हुनुहोस्, असफल त्यस्तो होस्, त्यसले तपाईंलाई सफलताका लागि अग्रसर गराउन सिकाउँछ,’ उनले भनिन् ।

वरिष्ठ पत्रकार दिलभुषण पाठकले युवाहरुलाई सही सूचनालाई पछ्याउन आग्रह गर्दै सत्य सूचना भएको मान्छे नै अहिलेको शक्तिशाली हुने बताए । ‘तपाइँको हातमा स्मार्ट मोबाइल फोन छ, सही प्रयोग गरे एकदम ठिक छ तर गलत प्रयोग भएमा भयानक अवस्था निम्तिनसक्छ, उनले भने, ‘अध्ययनले युवाहरु पनि फेक समाचारको सिकार बनेका छन्, फेक समाचार फैलाउनमा पनि युवा प्रयोग भएका छन्, सूचना आधिकारिक भए मात्र विश्वास गर्नुस् ।’ डिजिटल प्रविधिले सात गुना बढी झुटो समाचार सबैभन्दा छिटो आइपुग्ने उनको भनाई थियो ।

आफू तीन दशक अघि कर्णाली आएको स्मरण गर्दै उनले त्यतिबेलाको कर्णाली र अहिलेको कर्णालीमा निकै फरक पाएको बताए । ‘३० वर्ष अघि कर्णाली पुग्दा सिटामोल र दुई छाक खाना नपाएर ज्यान गुमाएका मान्छेहरु भेटेँ, कर्णालीमा बाटो थिएन, गाडी थिएनन्, सरकारले चामल ढुवानी गर्ने गरेको थियो, त्यही चामल पाउन हानाथाप हुने गर्दथ्यो,’ उनले भने, ‘तर अहिले परिस्थिति फरक छ, अहिले जता हे¥यो उतै सम्भावनै सम्भावना छन् ।’

दिलभुषणले युवाहरुलाई कर्णालीका सुन्दर दृश्यहरुलाई सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गर्न आग्रह गरे । ‘जुम्लामा फल्ने उचाइको धान जस्तो अन्त छैन्, मूल्यवान जडिबुटी पाइने ठाउँ कर्णाली नै हो, तर यस्ता विषयहरु टिकटिकमा देखिँदैनन्,’ उनले भने । कर्णाली युवा महोत्सव परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा शुक्रबारदेखि वीरेन्द्रनगरमा सञ्चालित छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,