सुर्खेत- मुख्यमन्त्री यामलाल कँडेलले कालीकोट दुर्घटनाका घाइतेको उपचारमा कुनै कमजोरी हुन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । आइतबार साँझ कालागाउँस्थित प्रदेश अस्पताल पुगेका उनले घाइतेको स्वास्थ्य अवस्था बुझ्नुका साथै उपचारमा कुनै कसर बाँकी नराख्न भनेका हुन् ।
घाइतेको स्वास्थ्य अवस्था बुझ्दै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल
मुख्यमन्त्री कँडेलले घाइतेका साथै अस्पतालका सुपरीवेक्षक तथा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीसंग कुराकानी गरेका गरे । सो क्रममा उनले घाइतेको उपचारमा कुनै शुल्क नलिन निर्देशन दिए ।
आइतबार दिउँसो साढे २ बजेतिर कालीकोटको उत्तरपश्चिमा पर्ने पलाँता गाउँपालिका–४ राडुनेटामा कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बोलेरो जिप दुर्घटना भएको थियो । छ जनाको दुर्घटनास्थलमै र एक जनाको प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेहरुमा पलाता–६ की दसकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता–५ की छाया शाही, पलाता–३ का दमन रोकाया र जिप चालक धनिराम रावत रहेका छन् । चालक रावतको सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । उनको ठेगाना खुलेको छैन् ।
दुर्घटनामा परी घाइते भएका केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया र भूपेन्द्र रोकाया, दोली विक, आयुशा विक, दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकायाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।
पलाँता ५ खिनबाट थिर्पुतर्फ जाँदै गरेको बोलेरो जिप दिउँसो करिब साढे दुई बजेतिर दुर्घटना भएको हो । राडुको उकालोमा अनियन्त्रित भई काप्री खोलामा खसेर दुर्घटना भएको बताइएको छ । जिपले क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । कच्ची ग्रामीण सडकमा क्षमताभन्दा तेब्बर लोड हालेपछि दुर्घटना हुने नै भयो,’ घटनास्थल पुगेका कालीकोट प्रहरी प्रमुख (डीएसपी) टेकबहादुर रावतले भने, अरु कारण भन्दा पनि सरासर ओभरलोड देखिन्छ ।’ ५ जना सिट यात्रु क्षमताको जिपमा २० सवार थिए ।
कर्णाली समय । २५ कार्तिक २०८१, आईतवार २०:२०