सुर्खेत– वेबसाइटलाई स्वतःस्फूर्त प्रकाशन हुने सूचनाका रुपमा लिने गरिन्छ । सुशासन ऐनले हरेक सार्वजनिक सूचनाहरु वेबसाइटमार्फत प्रकाशन गर्न बाध्यकारी व्यवस्था पनि गरेको छ । वेबसाइट नियमित अपडेट गर्न सूचना प्रविधि अधिकृत नियुक्ति गरिएको हुन्छ ।
तर दैलेखको नारायण नगरपालिकाको वेबसाइट अंग्रेजी र नेपाली संस्करणमा बग्रेल्ती गल्तीहरु देख्न सकिन्छ । नियमित अपडेट हुनु त के जनप्रतिनिधिको मर्यादाक्रम र शुद्धाशुद्धी पनि ख्याल गरिएको छैन् । https://narayanmun.gov.np/en मा नगर प्रमुख लोमनकुमार शर्मालाई अंग्रेजीमा लेख्दा Deputy mayor अंग्रेजीमा उल्लेख गरिएको छ । नगर प्रमुख शर्मादेखि माथि उपप्रमुख तप्ता थापालाई राखिएको छ। पहिलो पेजमा प्रमुख उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रवक्ता, सूचना अधिकारीको तस्बिरसहितको नाम, इमेल ठेगाना, सम्पर्क नम्बर लगायतका सूचना राख्नुपर्छ । तर नारायणको वेबसाइटमा यतिसम्म लापरबाही गरिएको छ की मेयरको ठाउँमा उपमेयर राखिएको छ । “वेबसाइटमै छिटो छरितो हेर्न मिल्ने गरी मुख्य–मुख्य पदाधिकारीको विवरण पहिलो पेजमै राख्नुपर्ने हो,” प्रदेश सुशासन केन्द्रका एक विज्ञ भन्नुहुन्छ, “हामीकहाँ झारा टार्ने हिसाबले वेबसाइटलाई सञ्चालन गर्ने गरिएको पाइन्छ, अधिकांश वेबसाइटहरु सूचनामैत्री पनि हुँदैनन् ।”
नारायण नगरपालिकाको वेबसाइटमा आर्थिक वर्ष २०७५/७६, ७६/७७ मा राजस्वका दररेट, पहिलो नगरसभा २०७४/७५ का निर्णय र २०७६/७७ पौष र माघ महिनासम्मका नगर पालिका बैठकका निर्णयहरुमात्र अपडेट गरेको छ । अंग्रेजी संस्करण भनेपनि दस्तावेजहरु सबै नेपाली राखिएको छ । महत्वपूर्ण शब्दहरु अशोभनीय देखिने गरी अशुद्ध लेखिएको पाइएको छ । शब्दहरुमा सामान्यदेखि पढ्दा अनर्थ लाग्नेसम्मका गल्तीहरु वेबसाइटमा हुँदासमेत जनप्रतिनिधि र कर्मचारीले सच्याउन सकेका छैनन् । उदाहरणका लागि पहिलो पेजको शुरुमै नगरकार्यपालिकालाई एउटै डिकोमा उल्लेख गरिएको छ । जबकी नारायण नगरपालिका माथिल्लो डिको र तल्लो डिकोमा नगर कार्यपालिकाको कार्यालय दैलेखबजार हुनुपर्ने हो ।
वेबसाइटमा भएको लापरबाहीबारे प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले आफूले हेरेर सच्याउने प्रतिक्रिया दिनुभयो । “म अहिले बाहिर छु, अफिस पुगेर हेरेर सच्याउन आइटीलाई निर्देशन दिन्छु,” मल्लले भन्नुभयो । नगरपालिकाका सूचना अधिकारी निरकबहादुर रावलले पनि वेबसाइटमा देखिएका त्रुटीहरु सच्याउने बताउनुभयो । कर्णाली समयडटकमले यस विषयमा प्रतिक्रिया लिन खोज्दा सूचना प्रविधि अधिकृत प्रकाशकुमार बिसी भने सम्पर्कमा आउनुभएन ।
कर्णाली समय । ७ जेष्ठ २०८०, आईतवार २०:०६