
सुर्खेत- चौकुने गाउँपालिका वडा नं. ६, ७ र ८ का कक्षा ८ देखि १२ सम्म अध्ययनरत किशोरी छात्राहरूका लागि किशोरी आत्मरक्षा तालिम सुरु भएको छ । आइतबारदेखि सुरु तालिम २४ गतेसम्म सञ्चालन हुनेछ ।
चौकुने गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा सञ्चालित तालिममा श्री जीवन ज्योति मावि झकमके, श्री सिद्देश्वरी मावि सान्नेघारी र नेपाल राष्ट्रिय मावि भट्टेसराका गरी जम्मा ३० जना छात्राहरू सहभागी छन् । तालिम शुभारम्भ कार्यक्रममा सभाध्यक्ष खड्क विक, प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विक, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टेकेन्द्रबहादुर बुढा, चौकुने गाउँपालिका खेलकुद विकास समिति उपाध्यक्ष विजय विक, महिला तथा बालबालिका शाखा प्रमुख मनिषा कुमारी कँडेल, प्रशिक्षकहरू तेजु गुरुङ र सोना थापा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा मन्तव्य राख्दै शिक्षा शाखा प्रमुख टेकेन्द्रबहादुर बुढाले नयाँ सुरुवातका रूपमा सञ्चालन गरिएको यस तालिमबाट सहभागी छात्राहरूले अधिकतम लाभ लिई आत्मरक्षा सम्बन्धी सीप सिकेर आफ्नो क्षमता विकास गर्न सक्ने अपेक्षा व्यक्त गरे । प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विकले स्रोत अभावका कारण हाल सबै वडामा तालिम सञ्चालन गर्न नसकिए पनि नमुनाका रूपमा गुटुबाट सुरु गरिएको बताउँदै, सहभागी छात्राहरूलाई अनुशासित भएर प्रशिक्षकले सिकाएको ज्ञान तथा सीप आत्मसात गर्न आग्रह गरे ।
अध्यक्ष खड्क विकले आत्मरक्षा सीप अप्ठेरो परिस्थितिमा अत्यन्तै उपयोगी हुने उल्लेख गर्दै सहभागी छात्राहरूलाई तन–मन लगाएर अनुशासित ढंगले तालिम लिन आग्रह गरे । तालिमले किशोरीहरूलाई शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि मजबुत बनाउने विश्वास व्यक्त गर्दै उनले तालिम सफलताको कामना गरे ।


कर्णाली समय । २० पुष २०८२, आईतवार १९:२६