पढाइको होइन, पीडाको डिग्री छ : उमा वादी

सुर्खेत- धेरैलाई लाग्दो हो, उमा वादी धेरै पढेकी छन् । तर वास्तविकता अर्कै छ । ‘मैले स्कुल धेरै धाएँ तर कक्षा थोरै पढेँ । मसँग शैक्षिक प्रमाणपत्रको डिग्री त छैन, तर जीवनमा भोगेका भोगाइ र पीडाको डिग्री भने अवश्य छ,’ शनिबारबाट जारी कर्णाली उत्सवको सातौ संस्करणको प्रतिरोधि पाइला सत्रमा विद्वत प्रवचनमा उमाले सुनाएका अनुभुतिका शब्द हुन् यी । कर्णाली र सुदूरपश्चिमको भूगोललाई जोड्ने ऐतिहासिक वादी आन्दोलनकी अगुवा एवं पूर्व सुदुरपश्चिम प्रदेशसभा सदस्य उमा वादीले आफ्नो जीवनको सङ्घर्ष र समुदायले भोग्नुपरेको विभेदलाई शब्दमा उतारिन ।

सल्यानमा जन्मिएर कर्मथलो सुदूरपश्चिम बनाएकी उमाले वादी समुदायको आत्मसम्मानका लागि भएको ४८ दिने ऐतिहासिक आन्दोलन र त्यसपछिका उपलब्धिबारे स्मरण गरिन । वादी समुदायको आन्दोलन केवल एउटा जात विशेषको मात्र नभई सम्पूर्ण नेपाली महिलाको आत्मसम्मानको लडाइँ भएको उमाको ठहर छ । ‘हामीले ४८ दिनसम्म सरकारसँग घुँडा धसेर लड्यौँ,’ उनले भनिन्, ‘आमाको नामबाट नागरिकता र जन्मदर्ता पाउने अधिकार केवल वादीका लागि मात्र होइन, यो देशका सम्पूर्ण महिला र दलित महिलाहरूको ठुलो उपलब्धि हो ।’

समाजमा व्याप्त जातिय विभेदको चित्र प्रस्तुत गर्दै उनले आफू प्रदेशसभा सदस्य हुँदाको एउटा तितो अनुभव सुनाइन । जनप्रतिनिधि जस्तो गरिमामय पदमा रहँदा समेत ‘वादी’ भएकै कारण आफूले कोठा भाडामा नपाएको खुलासा गरिन । ‘कोठा खाली छ भनेर देखाउने घरबेटीले जब मेरो नाम ‘उमा वादी’ सुन्थे, तब कोठा दिन इन्कार गर्थे,’ उनले भनिन् । वादी भएकैले सभामुखको पहलमा सरकारी कार्यालयको एउटा कोठामा बसेर सदन धाउनुपरेको पीडा उनले व्यक्त गरिन ।

वादी समुदायलाई हेर्ने परम्परागत र संकुचित दृष्टिकोण अझै परिवर्तन नभएकोमा उनले चिन्ता व्यक्त गरिन । सबै वादी महिलाहरू यौन पेसामा छैनन् भन्ने तथ्य बुझ्न समाजलाई आग्रह गर्दै समुदायको व्यापाक आर्थिक र सामाजिक सुधार गर्न आवश्यक रहेको बताइन । उनले भनिन्, ‘वादी समुदायका लागि बनाएको जुन ‘वादी उत्थान विकास समिति’ थियो, त्यसलाई जीवित पार्नुपर्छ । आज पनि वादी समुदाय ओडारमा, खोलामा, नदीको किनारमा झुप्रोमा बसिरहेका छन् । उनीहरूका लागि गास, बास र कपासको ग्यारेन्टी हुनुपर्छ । सँगसँगै शिक्षाको ग्यारेन्टी हुनुपर्छ । वादी समुदायले पनि अरू सरह पढ्न पाउनुपर्छ ।’



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,