
सुर्खेत- धेरैलाई लाग्दो हो, उमा वादी धेरै पढेकी छन् । तर वास्तविकता अर्कै छ । ‘मैले स्कुल धेरै धाएँ तर कक्षा थोरै पढेँ । मसँग शैक्षिक प्रमाणपत्रको डिग्री त छैन, तर जीवनमा भोगेका भोगाइ र पीडाको डिग्री भने अवश्य छ,’ शनिबारबाट जारी कर्णाली उत्सवको सातौ संस्करणको प्रतिरोधि पाइला सत्रमा विद्वत प्रवचनमा उमाले सुनाएका अनुभुतिका शब्द हुन् यी । कर्णाली र सुदूरपश्चिमको भूगोललाई जोड्ने ऐतिहासिक वादी आन्दोलनकी अगुवा एवं पूर्व सुदुरपश्चिम प्रदेशसभा सदस्य उमा वादीले आफ्नो जीवनको सङ्घर्ष र समुदायले भोग्नुपरेको विभेदलाई शब्दमा उतारिन ।
सल्यानमा जन्मिएर कर्मथलो सुदूरपश्चिम बनाएकी उमाले वादी समुदायको आत्मसम्मानका लागि भएको ४८ दिने ऐतिहासिक आन्दोलन र त्यसपछिका उपलब्धिबारे स्मरण गरिन । वादी समुदायको आन्दोलन केवल एउटा जात विशेषको मात्र नभई सम्पूर्ण नेपाली महिलाको आत्मसम्मानको लडाइँ भएको उमाको ठहर छ । ‘हामीले ४८ दिनसम्म सरकारसँग घुँडा धसेर लड्यौँ,’ उनले भनिन्, ‘आमाको नामबाट नागरिकता र जन्मदर्ता पाउने अधिकार केवल वादीका लागि मात्र होइन, यो देशका सम्पूर्ण महिला र दलित महिलाहरूको ठुलो उपलब्धि हो ।’
समाजमा व्याप्त जातिय विभेदको चित्र प्रस्तुत गर्दै उनले आफू प्रदेशसभा सदस्य हुँदाको एउटा तितो अनुभव सुनाइन । जनप्रतिनिधि जस्तो गरिमामय पदमा रहँदा समेत ‘वादी’ भएकै कारण आफूले कोठा भाडामा नपाएको खुलासा गरिन । ‘कोठा खाली छ भनेर देखाउने घरबेटीले जब मेरो नाम ‘उमा वादी’ सुन्थे, तब कोठा दिन इन्कार गर्थे,’ उनले भनिन् । वादी भएकैले सभामुखको पहलमा सरकारी कार्यालयको एउटा कोठामा बसेर सदन धाउनुपरेको पीडा उनले व्यक्त गरिन ।
वादी समुदायलाई हेर्ने परम्परागत र संकुचित दृष्टिकोण अझै परिवर्तन नभएकोमा उनले चिन्ता व्यक्त गरिन । सबै वादी महिलाहरू यौन पेसामा छैनन् भन्ने तथ्य बुझ्न समाजलाई आग्रह गर्दै समुदायको व्यापाक आर्थिक र सामाजिक सुधार गर्न आवश्यक रहेको बताइन । उनले भनिन्, ‘वादी समुदायका लागि बनाएको जुन ‘वादी उत्थान विकास समिति’ थियो, त्यसलाई जीवित पार्नुपर्छ । आज पनि वादी समुदाय ओडारमा, खोलामा, नदीको किनारमा झुप्रोमा बसिरहेका छन् । उनीहरूका लागि गास, बास र कपासको ग्यारेन्टी हुनुपर्छ । सँगसँगै शिक्षाको ग्यारेन्टी हुनुपर्छ । वादी समुदायले पनि अरू सरह पढ्न पाउनुपर्छ ।’



कर्णाली समय । १ बैशाख २०८३, मंगलवार १८:०९