
सुर्खेत- मध्यपश्चिम विश्वविद्यालय (एमयू) का उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालबीच आपसी सहकार्य र सहयोगका विविध पक्षमा छलफल भएको छ ।
नगरप्रमुखको कार्यकक्षमा सोमबार भएको भेटवार्तामा उपकुलपति प्रा.डा. गौतमले विश्वविद्यालय र नगरपालिकाबीच यसअघि भएको सम्झौता अनुरूप उच्च शिक्षा छात्रवृत्ति कोष स्थापना गरी कार्यान्वयन गर्ने विषयमा दुवै पक्ष सहमत भए । वीरेन्द्रनगरले विद्यार्थीहरूको हितका लागि स्वीकृत बजेट तथा कार्यक्रमअनुसार कोष स्थापना तथा सञ्चालनलाई कार्यान्वयनमा ल्याउने भएको हो ।
सो अवसरमा मध्यपश्चिम विश्वविद्यालयमा छात्रावास निर्माण, अन्तर्राष्ट्रिय सम्मेलन आयोजना तथा शैक्षिक गतिविधिमा सहकार्य गर्ने विषयमा समेत छलफल गरिएको थियो । भेटवार्तामा योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्का, विभागीय प्रमुख एवं उपकुलपति सचिवालय सदस्य उप–प्रा. खेमराज रावत, नगर शिक्षा समिति सदस्य गङ्गाराम तिमल्सेना र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाको उपस्थिति थियो ।


कर्णाली समय । २८ माघ २०८२, मंगलवार २०:०६