सुर्खेत– लेखक माधव चौलागाईंको पुस्तक सपादलक्ष कर्णाली’ विमोचन गरिएको छ । विश्व पुस्तक दिवसका अवसरमा मंगलबार वीरेन्द्रनगरमा आयोजित कर्णाली लिटरेचर फेस्टिभलमा पुस्तक विमोचन गरिएको हो ।
खस भूमी केन्द्र, जुम्लाले प्रकाशन गरेको पुस्तकको विमोचन कर्णाली प्रदेश प्रमुख तिलक परियार र लेखककी आमा मनशोभा चौलागाईंले विमोचन गरे । पुस्तकको सम्पादन राजकुमार कुँवर, आवरण डिजाइन कोशल हमाल र भाषा सम्पादन डा प्रेम चौलागाईंले गरेका हुन् ।
३०४ पेजको पुस्तकमा मइडो, काँचुली र सुइना गरी तीन खण्ड छन् । मइडोमा खस सभ्यता, शासन प्रशासन, मार्सी महिमा, तीर्थारु र हटारु, मष्टो, कथ्य इतिहास, सम्पदा विषयसूची छन् । काँचुली खण्डमा शिशु संघीयता, कर्णालीमा लगानी, बजेट, पर्यटन, खस भाषा र मिथ्यांक जस्ता विषयसूची छन् । त्यस्तै सुइनामा तथ्यांकमा कर्णाली, द्रुतमार्गी सपना, खेलाडी, कर्णालीमा साइकल, महाबु, बिम्ब विनिर्माण छन् ।
लेखक चौलागार्ईंले कर्णाली हेर्ने र बुझ्ने एक आलोचनात्मक विश्लेषण र विवेचनाका रुपमा पुस्तक लेखिएको बताए । ‘कर्णाली क्षेत्र आफ्नो इतिहासको कालखण्डमा के कस्तो युगबाट गुज्रियो भन्ने जिज्ञासाले यो पुस्तक लेखिन पुग्यो,’ उनले भने, पुस्तकमा सरकार, सत्ता र सार्वजनिक सेवाका जिम्मेवारीमा हुनेहरुका गतिविधि, अभिव्यक्ति र आचरणबारे चर्चा गरिएको छ, इतिहासले नबिर्सियोस् भनेर आम नागरिकको दृष्टिमा गरिएको ती भूमिकाको लेखाजोखा हो ।’
पुस्तकको सम्पादकीय खण्डमा राजकुमार कुँवरले सभ्यता र सुइनाको कोसेलीका रुपमा पुस्तक रहेको चर्चा गरेका छन् ।
कर्णाली समय । ११ बैशाख २०८१, मंगलवार २०:४४