सुर्खेत– कर्णाली प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । सोमबार राती १२ बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य भएको सभामुख नन्द गुरुङ्गले जानकारी दिइन् ।
प्रदेशसभाको दोस्रो अधिवेशनमा कुल ३९ बैठक बसे । दोस्रो अधिवेशन जेठ १० गतेदेखि सुरु भएको थियो । कुल ५४ घण्टा बसेको अधिवेशनले दुई वटा मात्रै कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक पारित गरेको छ । कर्णाली प्रदेश प्रतिष्ठान विधेयक प्रदेश प्रमुख तिलक परियारले प्रमाणिकरण गरिसकेका छन् भने निजामति विधेयक सोमबारमात्र पारित भएको हो ।
कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको र कर्णाली प्रदेशको विधुत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक थप छलफलका लागि विषयगत समितिमा पठाइएको छ ।


कर्णाली समय । २२ आश्विन २०८०, सोमबार १९:४८