वीरेन्द्रनगरको नीति तथा कार्यक्रम : विद्यालय शिक्षामा एआईको प्रयोगलाई जोड दिइने

सुर्खेत- कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ लाई “शैक्षिक सुधार वर्ष” का रूपमा घोषणा गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी र पूर्वाधार विकासलाई केन्द्रमा राखेर महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख मोहनमाया ढकाल भण्डारीले १९औँ नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरलाई नमूना, प्रविधिमैत्री र आर्थिक रूपमा आत्मनिर्भर स्थानीय सरकार बनाउने दीर्घकालीन लक्ष्य अघि सारिएको छ।

नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार, डिजिटल शिक्षक बैंक स्थापना, एआई सहितको प्रविधिमैत्री शिक्षण, दुई करोड रुपैयाँको छात्रवृत्ति कोष परिचालन तथा विद्यालय पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै आगामी वर्षलाई शैक्षिक सुधार वर्षका रूपमा कार्यान्वयन गर्ने जनाएको छ। नगर प्रमुख भण्डारीले शिक्षामा लगानी बढाएर वीरेन्द्रनगरलाई कर्णालीकै उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिएको बताइन्।

नीति तथा कार्यक्रममा नगरको बढ्दो शहरीकरणलाई व्यवस्थित गर्न एकीकृत नगर बस सेवा सञ्चालन, गढीचोकस्थित आकाशे पुल निर्माण सम्पन्न गर्ने, सिटी बसपार्क विस्तार, कर्णाली बसपार्क निर्माण प्रक्रिया अगाडि बढाउने तथा मुख्य बजार क्षेत्रको पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिइएको छ। घण्टाघर पार्क, दक्षिण पार्क र गोदामलाइन पार्किङ निर्माणलाई नगर गौरवका आयोजनाका रूपमा अगाडि बढाइने उल्लेख छ।

कृषि क्षेत्रमा ‘हाम्रो अठोट, व्यावसायिक पकेट क्षेत्रमा जोड’ भन्ने नारासहित वडा नम्बर १३, १४, १५ र १६ लाई तरकारी, फलफूल, दुग्ध तथा मासुजन्य उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजना सार्वजनिक गरिएको छ। साना तथा सीमान्तकृत किसानलाई उत्पादनमा आधारित अनुदान, सिँचाइ विस्तार, जग्गा करार खेती, स्थानीय बीउ संरक्षण तथा कृषि यान्त्रीकरणमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराइने भएको छ।

युवालाई लक्षित गर्दै नगरपालिकाले स्टार्टअप इन्क्युबेसन सेन्टर स्थापना गर्ने, रोजगार सूचना केन्द्रमार्फत रोजगारीका अवसर सिर्जना गर्ने, सीप परीक्षण कार्यक्रम सञ्चालन गर्ने तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप उपयोग गर्ने नीति लिएको छ। “एक वडा, एक उद्यमशीलता” अभियानमार्फत स्थानीय उत्पादन र साना उद्योगको प्रवर्द्धन गरिनेछ।

पर्यटन विकासतर्फ वीरेन्द्रनगरको पर्यटन गुरुयोजना निर्माण, डिजिटल लोकेशन म्यापिङ एप विकास, बुलबुले उद्यान, बुलबुले ताल, देउती बज्यै मन्दिर र काँक्रेविहार क्षेत्रको पूर्वाधार विकासलाई तीव्रता दिने कार्यक्रम समेटिएको छ। छेडादेखि गढी भ्यूटावरसम्मको क्षेत्रलाई विशेष पर्यटन क्षेत्र घोषणा गर्ने र ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रचारप्रसारलाई प्राथमिकतामा राखिएको छ।

स्वास्थ्य क्षेत्रमा नगरपालिकाले ‘सरसफाइ र स्वस्थ जीवनशैली हाम्रो रहर, स्वास्थ्य सेवामा सबैको पहुँच वीरेन्द्रनगर’ भन्ने नारासहित समुदायमा आधारित स्वास्थ्य सेवा विस्तार गर्ने योजना अघि सारेको छ। गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स–रे सेवा, सुत्केरी पोषण कोसेली, निःशुल्क एम्बुलेन्स सेवा, महिला स्वास्थ्य शिविर, नसर्ने रोगको परीक्षण तथा मानसिक स्वास्थ्य सेवाको विस्तार गरिने भएको छ। वडा नम्बर ९ मा निर्माणाधीन १५ शय्याको नगर अस्पताल आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याइने लक्ष्य राखिएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रमअन्तर्गत हिंसापीडित महिलाका लागि सुरक्षित आवास गृह सञ्चालन, छोरी बचत कार्यक्रममा खाताखोल्ने रकम एक हजारबाट दुई हजार रुपैयाँ पुर्‍याउने, बालमैत्री स्थानीय शासन अभियान विस्तार गर्ने तथा सडक बालबालिकामुक्त नगर बनाउने कार्यक्रम समेटिएका छन्।

खानेपानी तथा सरसफाइ क्षेत्रमा सबै घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार, भेरी लिफ्टिङ खानेपानी आयोजनाको निर्माणलाई तीव्रता, ढल निकास गुरुयोजना कार्यान्वयन तथा सार्वजनिक शौचालय निर्माण गरिने नीति लिइएको छ।

राजस्व सुधारलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको छ। करको दायरा विस्तार, करदाताको डिजिटल प्रोफाइल निर्माण, जीआईएस प्रणालीमा करदाताको विवरण आबद्ध गर्ने तथा समयमै कर तिर्ने उत्कृष्ट करदातालाई सम्मान गर्ने व्यवस्था गरिने भएको छ। महिला, दलित, अपांगता भएका व्यक्ति तथा युवाले सञ्चालन गरेका घरेलु उद्योगको व्यवसाय शुल्कमा २० प्रतिशत छुटलाई निरन्तरता दिइनेछ।

नगरपालिकाले सार्वजनिक पूर्वाधारलाई लैङ्गिक उत्तरदायी, अपांगतामैत्री र जलवायु उत्थानशील बनाउने नीति पनि अघि सारेको छ। फोहोर व्यवस्थापनमा स्रोतमै वर्गीकरण अनिवार्य गर्ने, प्लास्टिकजन्य प्रदूषण नियन्त्रण गर्ने र चक्रीय अर्थतन्त्रको अवधारणाअनुसार पुनः प्रयोग तथा पुनर्चक्रणलाई प्रोत्साहन गर्ने कार्यक्रम समेटिएका छन्।

नगर प्रमुख भण्डारीले सीमित स्रोत–साधनका बीच पनि नगरवासीको अपेक्षालाई सम्बोधन गर्दै वीरेन्द्रनगरलाई शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार र आर्थिक विकासका क्षेत्रमा नमूना नगरका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। नीति तथा कार्यक्रमले वीरेन्द्रनगरलाई उपमहानगरपालिकाको हैसियत अनुरूपको सेवा र पूर्वाधारयुक्त आधुनिक शहर बनाउने स्पष्ट रोडम्याप प्रस्तुत गरेको नगरपालिकाको दाबी छ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,