कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुद अनिश्चित

सुर्खेत– कर्णाली प्रदेशमा मंसिर २ बाट शुरु भनिएको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता अनिश्चित बनेको छ । प्रतियोगिता तोकिएकै मितिमा हुन नसक्ने प्रदेश र संघीय सरकारका मन्त्रीहरुले बताएका छन् ।

प्रदेश सरकार प्रतियोगिताको आयोजक संघीय सरकार भएकाले आवश्यक बजेट, कार्यविधि र तयारीका लागि मिति तोक्नुपर्ने बताउँछ । मंगलबार सुर्खेत रंगशाला निर्माणको अवलोकन गर्दै संघीय युवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले मंसिर २ गतेबाट नभई अर्को मिति तय हुने आशय व्यक्त गरे । कर्णाली प्रदेशले गरिरहेको तयारीको बारेमा जानकारी लिँदै उनले भने, १५ दिनको कार्ययोजना र कार्यतालिकाको कार्य प्रगतिअनुसार मिति तय गर्नुपर्छ ।

साथै खेलकूदमन्त्री चौधरीले रंगशाला निर्माणको कार्य तीव्र गतिमा गराउन राष्ट्रिय खेलकुद परिषद्बाट इन्जिनियरसहित प्राविधिक टोली खटाउनुका साथै निर्माण व्यवसायीलाई दुई चरणमा काम गर्न निर्देशन दिए । उनले मिति घोषणालगत्तै प्रदेश र विभागीय टिमलाई रकम पठाउने प्रतिवद्धता जनाए । ‘संरचना निर्माणाधीन अवस्थामा रहेकाले तत्काल मिति घोषणा गर्दा समस्या आउने देखिन्छ, उनले भने, ‘हतार गरेर मिति घोषणा गर्ने तर संरचना नबन्ने अवस्था आयो भनेर सरकारप्रति खेलाडी र आमजनमानसमा वितृष्णा फैलिन्छ ।’

सुर्खेतमा निर्माणाधीन रंगशालामा राष्ट्रिय खेलकुद परिषद्का इन्जिनियरसहितका प्राविधिक टोलीले १५ दिन काम गर्ने लिखित सहमति भएको छ । सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, संघीय युवा तथा खेलकुदमन्त्री चौधरी, सामाजिक सचिव दीर्घ पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, प्रदेश खेलकूद परिषद्का उपाध्यक्ष प्रमोद हमाल र प्रदेश परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालसहितको बैठकले १५ दिनमा मुख्य निर्माण कार्यको प्रगति विवरणको कार्यतालिकाअनुसार काम गर्ने गराउने निर्णय गरेको छ ।

ठेक्काको म्याद समाप्त हुन ३७ दिन बाँकी छ । निर्माण कार्यको जिम्मा लिएको एमएसी–जीएसएल कम्पनीलाई तोकिएको समयमा प्रतियोगिता गर्न दुई सिफ्टमा काम गर्न निर्देशन दिइएको छ । निर्माण व्यवसायीले एक महिनामा सम्पूर्ण काम सक्ने प्रतिबद्धता नगरेसम्म आफू विश्वस्त नभएको मन्त्री चौधरीको भनाई छ । १० औं राष्ट्रिय खेलकुदका लागि कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरमा सुविधासम्पन्न रंगशाला निर्माण गरिरहेको छ । प्याराफिटको ट्रस्ट र रंगशालामा टायल, ढुंगा र मार्बल लगाउने काम पनि अन्तिम चरणमै छ ।

‘प्याराफिटतर्फको ट्रस्ट जोड्नै एक महिना लाग्ने अवस्था देखेको छु । जनशक्ति पनि थोरै रहेछ,’ मन्त्री चौधरीले भने, ‘सम्पूर्ण संरचना सम्पन्न भए पनि मिति कहिले घोषणा गर्ने भन्नेबारे तयारी गर्दै छौं ।’ सबैभन्दा पहिला खेलाडीहरूको आवासको व्यवस्थापन ध्यान दिन आवश्यक रहेको बताउँदै उनले ६ हजार खेलाडीहरू राख्नलाई पहिला आवासमा जोड दिनुपर्ने जनाए । कर्णाली प्रदेशले कति जना खेलाडीहरूलाई आवासको सुविधा दिनसक्छ, सरकारसँग छलफल गर्न आग्रह गरे ।

प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल पनि संघले तयारी नगर्दै प्रदेशले तयारी गर्नु हतारो हुने बताउँछन् । प्रदेश खेलकूद विकास परिषद्ले काउन्टडाउन गरेकामा असन्तुष्टि व्यक्त गरेका उनले सम्बन्धित मन्त्रालयसंग समन्वय गर्न निर्देशन दिएका थिए । सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले पनि कार्य प्रगतिका आधारमा मिति तय हुने बताए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,