मानव सेवा आश्रमको अभियानमा कर्णाली प्रदेश सरकार सदैव साथमा छ : मुख्यमन्त्री कँडेल

सुर्खेत–मुख्यमन्त्री यामलाल कँडेलले वीरेन्द्रनगर १२ स्थित मानव सेवा आश्रम कर्णाली प्रदेश सरकारकै अभिन्न अंग भएको बताएका छन् ।

मानव सेवा आश्रम सुर्खेत सेवा केन्द्र निर्माण गर्ने उद्देश्यले शुक्रबारदेखि खुलामञ्चमा शुरु श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञको उद्घाटन गर्दै उनले विगतदेखि नै प्रदेश सरकारले साथ र सहयोग प्रदान गर्दै आएको बताएका हुन् । मुख्यमन्त्री कँडेलले वीरेन्द्रनगर नगरपालिकाले आश्रम स्थापनामा महत्वपूर्ण सहयोग गर्दै आएपनि यो प्रदेश स्तरकै संरचनाका रुपमा विकास हुँदै गएको धारणा राखे ।

‘मानव सेवा आश्रमका हरेक क्रियाकलापमा प्रदेश सरकारको सहभागिता रहेको छ, प्रदेश सरकार सामेल छ, यद्यपि हामीले गर्नुपर्ने धेरै छ, उनले भने, कर्णाली प्रदेशलाई सडक मानवमुक्त प्रदेश बनाउने अभियान सञ्चालनमा पनि सहयोग रही आएको अवस्था थियो ।’ चालू आवमा आश्रम निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै उक्त बजेट कार्यान्वयनमा देखिएका जटिलता हटाउने प्रयासमा प्रदेश सरकार तयार रहेको उनको भनाई थियो । आयोजकले परिकल्पना गरेको आश्रम बनाउन सहयोग गर्ने दाता, स्थानीय सरकारलाई धन्यवाद दिँदै उनले प्रदेश सरकारको पूर्ण साथ र सहयोग रहने विचार व्यक्त गरे । साथै उनले सबै धर्मावलम्बीका आस्थाका धरोहर विकास र प्रर्वद्धनमा कर्णाली प्रदेश सरकारले सम्मान एवं आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले महाअभियानमा संकलित रकममा प्रश्न नउठ्ने गरी सदुपयोग गर्न आयोजकलाई सुझाव दिइन् । मानव सेवा आश्रम सुर्खेत सेवा केन्द्रको भवन निर्माणार्थ आर्थिक र भावनात्मक सहयोग जुटाउने उद्देश्यले सञ्चालित महायज्ञ उद्घाटन समारोहमा प्रदेश सरकारका मन्त्रीहरु राजीवविक्रम शाह, विनोदकुमार शाह, सुरेश अधिकारी, घनश्याम भण्डारी, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, प्रमुख सचिव चुडामणी पौडेल लगायतले मन्तव्य राखेका थिए ।

महायज्ञ उद्घाटन अघि कलश यात्रा गरिएको थियो । शोभा कलश यात्रा बिहान ९ बजे बुलबुल उद्यानबाट सुरु भई मंगलगढी चोक, वीरेन्द्र चोक, गणेश चोक, भानु चोक, घन्टाघर चोक हुँदै खुलामञ्चमा पुगेर यात्रा विश्राम गरिएको थियो । यात्रामा विभिन्न संघ संस्था, विद्यालय, टोल विकास समिति र वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाबाट र विभिन्न समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

महायज्ञमा प्रमुख कथावाचक भास्कर कमलनयन गौतमले कथा वाचन गर्नेछन् । महायज्ञ यही मंसिर २८ गतेसम्म सञ्चालन हुनेछ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,