मुगु हत्याकाण्डका अभियुक्त सार्वजनिक: रिसइबी र सम्पत्ति लुटपाट मुख्य कारण

सुर्खेत– मुगुमा एकै परिवारको चार जनाको हत्या गरेको घटनाका अभियुक्तलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । छायाँनाथ रारा नगरपालिका ६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहरासहित उनका तीन छोराछोरीको हत्या आरोपी पिनाका ३१ वर्षीय काले भनिने गार्खराज शाही र सोही गाउँकै गोपालबहादुर बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो ।


कात्तिक ८ गते गोर्खराज र गोपालले श्रीदेवीसहित उनका ११ वर्षीय मनोज, ७ वर्षीया अप्सरा र ५ महिने रहर हत्या गरेको साबिता बयान दिएका छन् । गोपाल श्रीदेवीका मामाका छोरा हुन् । श्रीदेवीका श्रीमान दीपक कतारमा थिए । गोपाल पनि कतारमा दुई वर्ष बसेर राम्रो कमाइ नभएको भन्दै फर्किएको खुल्न आएको छ । ‘गोपालले दीपकलाई भिसा पठाइदिन आग्रह गरेको पाइयो, दीपकले उक्त कुरा अस्वीकार गरेपछि गोपाल रिसाएको अनुसन्धानबाट देखिएको छ, कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी भीमप्रसाद ढकालले भने, त्यही रिसिइबीका कारण परिवारकै हत्या गर्ने योजना बनाएको देखियो, साथै घरमा रहेको पैसा, सुन लगायतका गरगहना लुटपाट गर्ने पनि उद्देश्य रहेछ ।’

प्रहरी अनुसन्धानका अनुसार राम्रो कमाइरहेका दीपकको घरमा सुन, नगद हुन सक्ने अनुमानका साथ गत जेठदेखि उनीहरुले लुटपाट गर्ने योजना बुनेका थिए । तर श्रीदेवी गर्भवती भएकाले उनीहरु उक्त योजनाबाट पछि हटेका थिए । गोपालले बाँकेबाट गोर्खराज शाहीलाई कात्तिक ५ गते मुगु बोलाएका थिए । भोलिपल्ट पुगेका गोर्खराजले गोपाललाई भेटेर उनको घरको भुइँ तलामा रहेको खरायोको खोरमा बसेका थिए । कात्तिक ७ गते दिनभर मुन्दुस्थित सामुदायिक विद्यालयनजिकै खोलामा लुकेर पुनः गोठमै आएर बास बसेको अनुसन्धानबाट खुलेको छ ।

दसैंको टीका लगाएर कात्तिक ८ गते साँझ श्रीदेवी माइतीबाट फर्किएकी थिइन् । त्यही बेला उनीहरू घरभित्र प्रवेश गरेर चारै जनाको हत्या गरेको खुलेको छ । हत्यापछि उनीहरूले श्रीदेवीको फोन, साढे २ तोला सुनको रिङ र २५ लालको घाँटीमा रहेको तिलहरी लुटेर भागेका थिए । घटनापछि गोर्खबहादुर मुगु र जुम्लाको सिमाना भुलभुलेसम्म हिँडेर पुगे भने त्यहाँबाट सुर्खेत जाने बस चढेर कात्तिक ९ गते सुर्खेत पुगेका थिए । त्यसपछि उनले श्रीदेवीको फोनको सिम निकालेर आफ्नो सिम राखे । दुई साताको अनुसन्धानपछि प्रहरीले कात्तिक २३ गते नेपालगञ्जबाट गोर्खराजलाई पक्राउन गर्न सफल भएको हो ।

गोर्खराजबाट एक लाख रुपैयाँ, नेपाली राहदानी बरामद भएको छ । उक्त रकम उनले सुन बेचेर लिएको बताएका छन् । साथै उनले घटनास्थलमा गलबन्दी छाडेको पाइएको छ । प्रहरीले घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत मुगुबाट ११ दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,