
सुर्खेत- यही आइतबार बिहान वीरेन्द्रनगरमा हुन लागेको तेस्रो एक्सट्रिम काँक्रेविहार राष्ट्रिय हाफ म्याराथनले पुरस्कार राशी बढाएको छ । “दौडिन्छ कर्णाली” नारासहित आयोजना हुने म्याराथनमा पुरस्कारको राशी यसअघि निर्धारण गरिएको भन्दा बढाएको हो ।
अब २१ किमी हाफ म्याराथनका प्रथम धावकले १ लाख ५० हजार तथा दोस्रोले ७५००० राशाीको पुरस्कार पाउनेछन् । महिला म्याराथन र छात्रछात्राको प्रतिष्पर्धामा पनि पुरस्कार राशी बढाइएको छ । प्रतियोगिताको मस्कट, टिर्सट सार्वजनिक गर्दै आयोजकले सो जानकारी दिएको हो ।
वीरेन्द्रचौकबाट मंगलगढी, एयरपोर्ट, धुलियाबिट र सुब्बाकुना हुँदै पुनः सुब्बाकुनाबाट मंगलगढी, बांगेसिमल हुँदै वीरेन्द्रचौक आउने दौड समापन हुनेछ । आयोजक मध्यपश्चिम फिटनेस सेन्टरका प्रबन्ध निर्देशक प्रमोद हमालले २१ किमी दौडमा पुरुष, महिलालाई १० किमी र स्कूले छात्रछात्राका लागि ५ किमी निर्धारण गरिएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग तथा मिड वेस्टर्न फिटनेस सेन्टर, सुर्खेतको आयोजनामा प्रत्येक वर्ष ओलम्पिक डेका अवसरमा सञ्चालन हुँदै आएको प्रतियोगिताको यो तेस्रो संस्करण हो । यसपटक प्रतियोगिताको टाइटल स्पोन्सर एक्सट्रिम इनर्जी ड्रिंक रहेको छ ।
“दौडिन्छ कर्णाली” नारालाई मूर्त रूप दिन कर्णाली खेलकुद विकास परिषद्को अनुरोधमा विगत दुई वर्षदेखि फिटनेस सेन्टरले प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापन गर्दै आएको जनाइएको छ । प्रबन्ध निर्देशक हमालले यो परिषद्कै वार्षिक कार्यक्रम रहेको बताए । परिषद्ले कर्णालीमा दौड संस्कृतिको विकास गर्ने उद्देश्यसहित जुम्ला सञ्चालित रारा म्याराथन र सुर्खेतमा कांक्रेविहार म्याराथनलाई वार्षिक बजेट उपलब्ध गराउँदै आएको छ । परिषद्ले आफै म्याराथन प्रतियोगिता सञ्चालन गर्न सम्भव नभएकाले खेल संस्थाहरुलाई परिचालन गरिएको आयोजकको भनाई छ ।




कर्णाली समय । ५ असार २०८३, शुक्रबार १६:४७