सुर्खेत प्रहरीको सफलता : विभिन्न हतियार र लागुऔषधसहित दुई पक्राउ

सुर्खेत– प्रहरीले विभिन्न हतियार र ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । सुर्खेत प्रहरीले विहीबार राती वीरेन्द्रनगर ८ का २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरेलाई सोही ठाउँको राधाकृष्ण मन्दिर नजिकबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट एक थान सेमी–अटोमेटिक चाइनिज पेस्तोल, सोही पेस्तोलमा लाग्ने दुई थान म्यागजिन, १२ राउन्ड गोली, चार थान खुकुरी, दुई थान चक्कु, एकथान बञ्चरो, एक थान स्टिल स्टिक र एक हजार ४२६ ट्याब्लेट ट्रामाडोल र नाइट्राजेपाम, प्रतिबन्धित वन्यजन्तु जरायोको सिङ बरामद गरेको छ ।

प्रहरीका अनुसार स्थानीय एक व्यक्तिले कन्ट्रोल रुममा आएर आफ्नो टोलमा केही शंकास्पद गतिविधि भइरहेको र केही युवाहरूले लागुऔषधको कारोबार तथा हतियार बोकेर हिँड्ने गरेको सूचना दिएका थिए । ‎‎सोही सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई बिहीबार राती ९ बजेतिर पक्राउ गर्न सफल भएको हो ।‎ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले ती दुई युवाले आफ्नो व्यक्तिगत सुरक्षा र अन्य समूहसँगको झंै–झगडाको लागि यस्ता हतियारहरू प्रयोग गर्ने गरेको प्रारम्भिक बयान दिएको जानकारी दिए । उनीहरुले नेपालगञ्जको सीमावर्ती क्षेत्रबाट लागुऔषध खरिद गरी सुर्खेतमा अत्यधिक महँगोमा बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

‎पक्राउ परेका विधान शाही ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त रहेको पनि खुलेको छ । शाहीमाथि ०७८ साल भदौमा निरज श्रेष्ठलाई खुकुरी प्रहार गरेको आरोपमा मुद्दा दर्ता भएको थियो‎ । ‎सोही घटनामा संलग्न अन्य तीन जना पक्राउ परेपनि शाही फरार रहँदै आएका थिए ।‎‎ प्रहरीले पक्राउ परेका दुवै जनालाई लागुऔषध, हतियार तथा खरखजाना र वन्यजन्तु ओखेटोपहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

सुर्खेत प्रहरीको नेतृत्व परिवर्तन भएसंगै लागुऔषध, हातहतियार तथा खरखजाना, नक्कली नोटसम्बन्धी कारोबारमा संलग्नहरुविरुद्ध कडा एक्सनमा उत्रिएको छ । केही दिन अघि ठूलो परिमाणमा नक्कली नोट, नोट छाप्ने मेसिन र लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको थियो । त्यस्तै होटलमा अनैतिक क्रियाकलापमा संलग्नलाई पक्राउ गरी मुद्दा चलाएको छ । वीरेन्द्रनगरका होटल चेकजाँच क्रममा प्रहरीले एचआईभी संक्रमित महिलालाई पनि यौनकर्मीका रुपमा फेला पारेको थियो ।