सुर्खेत–प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको उपाधि आर्मीका नरेन्द्र रावल तथा एपिएफका पुष्पा भण्डारीले जित हासिल गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ रावल र महिलातर्फ भण्डारीले उपाधि हात पारे ।
नेपाली सेनाका रामजी बस्नेत दोस्रो र श्रीकेश राई तेस्रो भए भने सशस्त्र प्रहरी बल (एपीएफ) का राजन चौधरी चौथो भए । हाफ म्याराथनको महिलातर्फ उपाधि हासिल गर्न सफल भण्डारी एपीएफबाट अन्तर्राष्ट्रियस्तरका दौडमा उपाधि चुम्दै आएकी छन् । यस्तै, नेपाली सेनाकी सिर्जना पाण्डे दोस्रो हुँदा जुम्लाकी राज्यलक्ष्मी रावत तेस्रो भईन ।
हाफ म्याराथन (२१ किमी दौड) को विजेता महिला तथा पुरुषलाई समान ५५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । यस्तै, दोस्रो स्थान प्राप्त गर्नेलाई ३० हजार र तेस्रो स्थान हासिल गर्नेलाई समान २० हजार रुपैयाँ नगदले पुरस्कृत गरिएको छ । विजेता खेलाडीलाई मुख्यमन्त्री यामलाल कँडेल, वीरेन्द्रनगरका प्रमुख मोहनमाया ढकाल, खेलकूद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्याल, उपाध्यक्ष प्रमोद हमाल, विश्व विजेता धावक हरिबहादुर रोकाया, म्याराथनका संयोजक देवकुमार सुवेदीले नगद तथा प्रमाणपत्रका साथै ट्रफी हस्तान्तरण गरे ।
रेस नेपालको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा प्रथम ज्ञान कर्णाली हाफ म्याराथन आयोजना गरिएको हो । आयोजकका अनुसार म्याराथनमा एक हजारभन्दा बढी सहभागी भएका थिए । रेस नेपालका अध्यक्ष टीएस ठकुरीले दौड संस्कृतिको विकास गर्न भन्दै कर्णाली हाफ म्याराथनको शुरुवात गरिएको बताए ।
कर्णाली समय । २९ बैशाख २०८१, शनिबार १३:१३