मुख्यमन्त्रीद्धयले जारी गरेको संयुक्त वक्तव्यमा के छ ?

सुर्खेत– कर्णाली र लुम्बिनी प्रदेशको समग्र विकास र समृद्धिका लागि दुई प्रदेश सरकारका प्रमुखबीच भेटवार्ता भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको प्रतिनिधिमण्डलबीच संयुक्त बैठक भएको हो ।

बैठकपछि मुख्यमन्त्रीद्धयले १९ बुँद्वे साझा प्रतिवद्वतापत्रमा हस्ताक्षर गरेका छन् । सयुंक्त वक्तव्यमा भनिएको छ, ‘संविधानले अङ्गीकार गरेको सहकारिता, सहअस्तित्व, समन्वय र पारस्परिक सहयोगको सिद्धान्तलाई आत्मसात गर्दै दुई प्रदेश सरकारबीचको यो प्रतिवद्वताले अन्तर प्रदेशबीच आपसी समझदारीसंगै विकास,समृद्वि र सुशासनका क्षेत्रमा थप सहकार्यका सम्भावनाहरू खुलेका छन् ।’ प्रतिवद्धतामा व्यक्त सरोकारलाई दुवै प्रदेशले आफ्ना नीति तथा कार्यक्रम र बजेट निर्माणमा समावेश गर्नुका साथै संघीय सरकारको ध्यानार्कषण गराउने भएका छन् ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कर्णालीका मुख्यमन्त्री कँडेलले कतिपय सन्दर्भमा प्रदेशका आ आफ्नै सवाल हुँदाहुँदै दुई प्रदेश सरकार साझा सवाललाई सम्बोधन गर्न सहमत भएको धारणा राखे । प्रदेशका द्धिपक्षीय हितका सवालमा एकमतका साथ संघीय सरकारको ध्यानाकर्षण गराउने उनको भनाई थियो । त्यस्तै लुम्बिनीका मुख्यमन्त्री आचार्यले अन्तरप्रदेश समन्वयात्मक बैठकका लागि कर्णाली प्रदेश सरकारलाई धन्यवाद दिँदै यस प्रकारको बैठक आगामी दिनमा लुम्बिनीमा आयोजना गरिने बताए । साथै लुम्बिनी र कर्णाली प्रदेशबीच प्राकृतिक स्रोतका बाँडफाँडमा सम्बन्धमा कुनै विवाद नहुने गरी समाधान गर्न आफूहरु सक्षम रहेको बताए । यस्ता छन् बैठकपछि जारी १९ बुँदे साझा प्रतिवद्धता-
१. प्रदेशबाट तर्जुमा हुने र भएका कानूनको सम्बन्धमा पारस्परिक सहयोग, समन्वय र सहकार्य गरी एकरूपता कायम गर्ने ।
२. प्रदेश कानून बमोजिम लगाइने करका सम्बन्धमा दुवै प्रदेशबीच एकरुपता कायम गर्ने र प्राकृतिक स्रोत साधनबाट सङ्कलन हुने रोयल्टी बाँडफाँटको विषयमा सामञ्जस्यता कायम गर्ने ।
३. राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना शीघ्र सम्पन्न गर्न दुवै प्रदेश सरकारको तर्फबाट नेपाल सरकार समक्ष समन्वय गर्ने र स्थानीय स्तरका आयोजना सम्बद्ध सवालहरूमा स्थानीय तह समेतको समन्वयमा विवाद समाधानका लागि आवश्यक पहल गर्ने ।
४. अन्तर प्रदेश आवद्ध भएका देहायका सडक पूर्वाधार निर्माणका लागि आवश्यकता अनुसार नेपाल सरकारसँग समन्वय गरी साझेदारी र सहकार्य गर्नेः–
(क) जमुनाह–हिल्सा सडक,
(ख) सुर्खेत–तेलपानी–भुरीगाउँ सडक,
(ग) राप्ती लोकमार्ग निर्माण,
(घ) कोहलपुर सुर्खेत सडक विस्तार,
(ड) कोहलपुर–बबई तथा बबई छिन्चु सुरुङमार्ग सम्भाव्यता अध्ययन
५. लुम्बिनी प्रदेशका विमानस्थलबाट कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई उडान गर्न आवश्यक पहल गर्ने ।
६. भैरहवा–सुर्खेत हवाई सेवा सञ्चालन गर्न नेपाल सरकारसँग अनुरोध गर्ने ।
७. कोहलपुर सुर्खेत १३२ के.भी. प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने ।
८. दुवै प्रदेशको वृहत्तर हित गर्ने सहलगानीमा सञ्चालन हुन सक्ने सम्भावित ठूला आयोजनाको पहिचान गर्ने ।
९. विपद् व्यवस्थापनका लागि साझेदारी, सहकार्य र समन्वयात्मक ढङ्गबाट कार्य गर्ने ।
१०. लागुऔषध ओसारपसार प्रभावकारी रुपमा नियन्त्रण र रोकथामका लागि सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने ।
११.लुम्बिनी प्रदेशमा आउने धार्मिक पर्यटकहरूलाई कर्णालीको साहसिक पर्यटकीय गन्तव्यसम्म जोड्नेगरी एकीकृत पर्यटन मार्ग निर्माण गर्न गुरुयोजना तयारी र लगानीमा सहकार्य गर्ने ।
१२. दुवै प्रदेशका पर्यटकीय क्षेत्रलाई जोडेर संयुक्त पर्यटन प्याकेज निर्माणको लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्ने ।
१३. दुवै प्रदेशकी सीमानामा रहेका नदीनालाहरूमा जलविद्युत् उत्पादन प्रसारण लाइन विस्तार तथा सिँचाइ संरचना निर्माण गर्दा समन्वय र सहकार्य गर्ने ।
१४. प्रदेशका सीमा क्षेत्र नजिकका सडक, पुल जस्ता पूर्वाधारहरूको निर्माणमा सहलगानी तथा साझेदारी गर्ने।
१५. बर्दिया जिल्लाको बाँसगढी नगरपालिका, वडा नं. १ र सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नं. ५ की साँध सिमानाको विवाद प्रचलित कानून र प्रमाणका आधारमा समाधान गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्ने।
१६. दुवै प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीको यात्रु भाडादर संयुक्त रुपमा निर्धारण गर्ने र सडक यातायात दुर्घटना जोखिम न्यूनीकरणका लागि सवारी गति नियन्त्रण र मादक पदार्थ सेवनको जाँच, चालक प्रशिक्षण, अनुगमन तथा निरीक्षण लगायतका कार्यक्रम सञ्चालन गर्ने ।
१७. कर्णाली प्रदेशको फलफूल, जडीबुटी, अर्गानिक तरकारी र अन्य उत्पादनलाई लुम्बिनी प्रदेशका मुख्य बजार केन्द्रहरूसम्मको पहुँच एवं लुम्बिनी प्रदेशको खाद्यान्न लगायतका कृषि उत्पादनको प्रवद्र्धन गर्दै कर्णाली प्रदेशका बजार केन्द्रहरूसम्मको पहुँच बढाउन तथा बजार पूर्वाधार तयार गर्न समन्वय र सहकार्य गर्ने ।
१८. दुवै प्रदेशको विकास, समृद्धि र सुशासन प्रवद्र्धनको लागि सूचना प्रविधिको माध्यमबाट सेवाप्रवाहलाई प्रभावकारी बनाउन आवश्यक सहयोग र सहकार्य गर्ने ।
१९. दुवै प्रदेशको साझा सहकार्य, समन्वय र साझेदारीलाई प्रवद्र्धन गर्न समन्त्रयात्मक बैठकलाई निरन्तरता दिँदै आगामी बैठक लुम्बिनी प्रदेश सरकारले आयोजना गर्ने ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,