सुर्खेत– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्पर्धात्मक युगमा शिक्षा युगस्तरीय र गुणस्तरीय हुन नसके नागरिकहरु पछाडि पर्ने निश्चित रहेको बताएका छन् ।
शुक्रबार सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले आजको युग एआई युक्त प्रविधि र सिर्जनशिलताको युग रहेकाले विश्वविद्यालयले युगसापेक्ष गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिए । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले शिक्षा डिग्री प्राप्त गर्नुमात्र नभई जीवनलाई सही दिशा दिने मार्ग भएकाले राष्ट्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्ने साझा जिम्मेवारी रहेको बताए ।
उच्च शिक्षा अध्ययनमा लाखौं विद्यार्थी र अर्बौं पुँजी विदेश पलायन भइरहेकामा चिन्ता व्यक्त गर्दै सरकारले स्वदेश फिर्तीलाई उच्च प्राथमिकतामा राखेको बताए । ‘मुलुकमा रहेका विश्वविद्यालयले समयानुकल शिक्षा दिएर विदेश पलायन हुनबाट रोक्ने प्रयास गर्नुपर्छ, उनले भने, ‘शैक्षिक, प्राज्ञिक स्वतन्त्रताको बुद्धिमतापूर्ण उपयोग गर्दै सरकारको सहयोग लिने र आवश्यकतामा आधारमा निजी प्रतिष्ठानहरुलाई उच्च शिक्षाको गतिलो साझेदार बनाउन सके विश्वविद्यालय स्थापनाको उद्देश्य पुरा हुन जान्छ ।’ साथै उनले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले विश्वबजारलाई ध्यान दिएर जनशक्ति उत्पादनलाई योजनाबद्ध अघि बढाइएमात्र उच्च शिक्षण संस्थाहरु सफल हुने विचार व्यक्त गरे । सरकारले शिक्षा नीतिमा आमूल परिवर्तन ल्याई प्राविधिक तथा वैज्ञानिक शिक्षालाई प्राथमिकता दिँदै डिजिटल शिक्षाको प्रयोगलाई प्रर्वद्धन र शिक्षालाई रोजगारीसंग जोड्न विशेष पहल गरिरहेको उनको भनाई थियो ।
दीक्षान्त समारोहका प्रमुख अतिथिका रुपमा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका वरिष्ठ प्राध्यापक एवं सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा डा महेन्द्र पि लामालाई निम्त्याइएको थियो । प्राध्यापक लामाले सुन्दर कर्णाली भूमिमा उपस्थित भएर विद्यार्थीलाई दीक्षित गर्न पाउँदा खुसी लागेको बताए । मध्यपश्चिम विश्वविद्यालयबाट उत्पादित दक्ष जनशक्तिलाई रोजगारीको विश्वबजारले स्वागत गर्ने भन्दै उनले विद्यार्थीहरुलाई विश्वबजारका हरेक प्रतिष्पर्धामा सहभागी हुन आग्रह गरे ।
विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले विश्वविद्यालयमा सञ्चालित सबै शैक्षिक कार्यक्रमलाई गुणस्तरीय, व्यवहारिक र सर्वसाधारणको पहुँचयोग्य बनाउन लागिरहेको प्रष्ट पारे । ‘शिक्षालाई रैथाने ज्ञान, सीप र व्यवहारिकतासंग जोड्दै उत्पादनमुखी बनाउने र विश्वविद्यालयलाई शैक्षिक उत्कृष्टताको केन्द्रका रुपमा स्थापित गराउने प्रयासमा छौं,’ उनले भने, ‘कर्णालीको मौलिक ज्ञान, भाषा संस्कृति, जडीबुटी, खनिज पदार्थ, वनस्पति आयुर्वेद, लगायतका कार्यक्रमहरु एवं अनसुन्धान केन्द्रका रुपमा विश्वविद्यालयलाई विकसित गरिनेछ ।’
उपकुलपति गौतमले विज्ञान तथा प्रविधि, व्यवस्थापन, इन्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामाजिक शास्त्रका गरी ३ हजार ८४१ विद्यार्थी दीक्षित भएको जानकारी दिए । तीमध्ये १९ जनाले व्यवस्थापन संकायको दर्शानाचार्य शोधकार्य पुरा गरेका छन् ।


कर्णाली समय । २३ फाल्गुन २०८१, शुक्रबार १७:४४