उम्मेदवारी दर्तासंगै सुरु भयो कर्णालीमा चुनावी सरगर्मी

सुर्खेत– २०४८ सालदेखि सुर्खेत–१ बाट निरन्तर संसदीय निर्वाचन लड्दै आएका नेपाली कांग्रेस नेता पूर्णबहादुर खड्काले यसपटक चुनावी मैदानमा नउत्रिने घोषणा गरे । सर्वोच्च अदालतमा पार्टीको विशेष महाधिवेशन खारेजसम्बन्धी मुद्दा दायर गरेको सन्दर्भ उल्लेख गर्दै नैतिकताका आधारमा निर्वाचन नलड्ने निर्णय लिएको बताए ।

खड्काले सुर्खेत–१ बाट २०४८, २०५१, २०५६, २०७० र २०७९ का संसदीय निर्वाचन जितेका थिए भने २०६४ सालको संविधानसभामा समानुपातिक प्रणालीमार्फत प्रतिनिधित्व गरेका थिए । उपप्रधानमन्त्रीसहित रक्षा, गृह, सूचना तथा सञ्चार, युवा तथा खेलकुद लगायतका विभिन्न ८ वटा मन्त्रालय सम्हालिसकेका उनी पार्टी केन्द्रीय सदस्य, सहमहामन्त्री र महामन्त्री हुँदै १४ औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थिए । जेन्जी आन्दोलनपछि कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई कार्यवाहक सभापतिको जिम्मेवारी पनि सुम्पेका थिए । विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा निर्वाचित कार्य समितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि कार्यवाहक सभापतिको हैसियतमा खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए ।

पूर्णबहादुरको अनुपस्थितिमा सुर्खेत–१ बाट उनका सहोदर साहिँला भाइ विष्णुबहादुर खड्का उम्मेदवार बनेका छन् । उनी जिल्ला पार्टी उपसभापति हुन् । मंगलबार कांग्रेसका विष्णुबहादुर खड्कासँगै एमालेका ध्रुवकुमार शाही, नेकपाका जीतबहादुर राना, रास्वपाका टेकबहादुर सिंह, राप्रपाका रविकिरण हमाल र उज्यालो नेपाल पार्टीका ठम्मर विष्टले उम्मेदवारी दर्ता गराएका छन् । रविकिरण जेन्जी अभियन्ता पनि हुन् । एमाले उम्मेदवार शाहीले २०७४ को निर्वाचनमा पूर्णबहादुरलाई पराजित गरेका थिए भने २०७९ मा भने उनै शाहीलाई पूर्णबहादुरले पराजित गरेका थिए ।

सुर्खेत–२ कांग्रेस नेता हृदयराम थानीको सदावहार निर्वाचन क्षेत्रका रूपमा चिनिँदै आएको छ । पार्टीको विशेष महाधिवेशनबाट सिर्जित परिस्थिति र स्वास्थ्य कारण देखाउँदै थानीले पनि केही दिन अघि यसपटक निर्वाचन नलड्ने घोषणा गरे । २०५१ सालदेखि निरन्तर निर्वाचन लड्दै आएका थानीले २०५६, २०७० र २०७९ का निर्वाचन जितेका थिए । थानीको स्थानमा कांग्रेसले युवा नेता नारायण कोइरालालाई उम्मेदवार बनाएको छ । कोइरालासँगै एमाले जिल्ला अध्यक्ष कुलमणि देवकोटा, माओवादी केन्द्रका झकबहादुर मल्ल, रास्वपाका रमेश सापकोटा र राप्रपाका कविराम पुरी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

दैलेखमा पुरानै प्रतिष्पर्धी मैदानमा

दैलेख १ मा कांग्रेसका बास्ना थापा, एमालेका रविन्द्रराज शर्मा, नेकपाका अम्मरबहादुर थापा, रास्वपाका नन्दकिशोर बस्नेतले उम्मेदवारी दर्ता गरेका छन् । बस्नेत पूर्व एमाले हुन् । कर्णाली प्रदेशका पूर्व मन्त्री, पूर्व संघीय सांसद समेत रहेका नेकपाका थापा शिक्षा समितिका सभापति थिए । नारायण नगरपालिका २ निवासी कांग्रेसका थापा र एमाले उम्मेदवार शर्मा पारिवारिक नातेदारसमेत हुन् । शर्माले २०७४ सालको संसदीय निर्वाचन जितेका थिए । २०७९ को निर्वाचनमा तत्कालिन सत्ता गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका उम्मेदवार थापाले एमालेका शर्मालाई पराजित गरेका थिए । अहिले पुनः उनीहरुबीच प्रतिष्पर्धा हुँदैछ ।

दैलेख २ मा कांग्रेसका दिक्पाल शाही, एमालेका लक्ष्मी पोखरेल, नेकपाका योगेन्द्र शाही, रास्वपाका बखतबहादुर शाहीले उम्मेदवार दर्ता गरेका छन् । २०७९ को निर्वाचनमा कांग्रेसका शाहीले एमाले उम्मेदवार पोखरेललाई पराजित गरेका थिए । पोखरेल २०७० को संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । यसपटक पुनः कांग्रेस र एमाले उम्मेदवारबीच प्रतिष्पर्धा दोहोरिएको छ ।

डोल्पामा सहोदर दाजुभाई मुख्य प्रतिष्पर्धी

कांग्रेसका कर्णबहादुर बुढा, एमालेका लंक रोकाया, नेकपाका धनबहादुर बुढाले मनोनयन दर्ता गरेका छन् । कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका कांग्रेस उम्मेदवार कर्णबहादुर र नेकपाका धनबहादुर सहोदर दाजुभाई हुन् । यसपटक उनीहरुबीचको प्रतिष्पर्धा रोचक हुने भएको छ । २०७९ मा एमालेबाट चुनाव जितेका धनबहादुर पार्टी विभाजन हुँदा एकिकृत समाजवादी रोजेका थिए । उनी पूर्व सहरी विकास मन्त्री समेत हुन् ।

अन्य जिल्लामा को–को बीच हुँदैछ प्रतिष्पर्धा ?
जाजरकोटमा कांग्रेसका खड्कबहादुर बुढा, एमालेका डम्बरबहादुर सिंह, नेकपाका शक्तिबहादुर बस्नेत, उज्यालो नेपाल पार्टीका नरबहादुर कार्कीले उम्मेदवारी दर्ता गरेका छन् । नेकपाका हेभिवेट नेता बस्नेत पूर्व गृहमन्त्री समेत हुन् ।

रुकुम पश्चिममा कांग्रेसका राजु केसी एमालेका नन्दराम देवकोटा, नेकपाका गोपाल शर्मा, रास्वपाका मानबहादुर शाही, प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) का जनार्दन शर्माले उम्मेदवारी दर्ता गरेका छन् । त्यहाँ नेकपा र प्रलोपा उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । गोपाल कर्णाली प्रदेशका पूर्व अर्थमन्त्री हुन भने जनार्दन पूर्व संघीय अर्थमन्त्री, गृहमन्त्री, शान्ति तथा पुनर्निर्माणमन्त्री भइसकेका छन् ।

सल्यानमा कांग्रेसका केशबहादुर विष्ट, एमालेका गुलाबजंग शाह, नेकपाका रमेश मल्लले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका विष्ट जिल्ला सभापति र एमालेका शाह पूर्व प्रदेश सांसद र पार्टीको प्रदेश अध्यक्ष हुन् । नेकपाका हेभिवेट नेता प्रकाश ज्वालाले यसपटक टिकट नपाउँदा पार्टी संयोजक पुष्पकमल दाहालले आफ्ना पूर्व स्वकीय सचिव रमेश मल्ललाई टिकट दिए ।

कालीकोटमा कांग्रेसका हर्षबहादुर बम, एमालेका नगिन्द्र शाही, नेकपाका महेन्द्रबहादुर शाही, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड), रास्वपाका प्रकाश न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् । २०६४ को संविधानसभा सदस्यमा निर्वाचित प्रकाण्ड पूर्व मन्त्री हुन् । उनी लामो समयपछि संसदीय निर्वाचन लड्दैछन् । नेकपाका महेन्द्र पूर्व संघीय मन्त्री र कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्री समेत हुन् । कालीकोटमा महेन्द्र शाहीविरुद्ध उनकै पार्टीका पूर्व सांसद जीवन बुढाले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

जुम्लामा कांग्रेसका दिपबहादुर शाही, एमालेका शान्तिलाल महत, नेकपाका नरेश भण्डारी, रास्वपाका बिन्द्रा कठायत, राप्रपाका ज्ञानबहादुर शाहीले उम्मेदवारी दर्ता गरे । त्यस्तै, हुम्ला कांग्रेसका जयपति रोकाया, एमालेका दल फडेरा, नेकपाका डा दीपेन्द्र रोकाया, रास्वपाका टासी ल्हाजोम लामाले उम्मेदवारी दर्ता गरे । मुगुमा कांग्रेसका ऐनबहादुर शाही, एमालेका पूर्णबहादुर रोकाय, नेकपाका चन्द्रबहादुर शाहीले मनोनयन दर्ता गरे । कांग्रेस उम्मेदवार शाही जेन्जी आन्दोलन अघि वन तथा वातावरणमन्त्री थिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,