
सुर्खेत– २०४८ सालदेखि सुर्खेत–१ बाट निरन्तर संसदीय निर्वाचन लड्दै आएका नेपाली कांग्रेस नेता पूर्णबहादुर खड्काले यसपटक चुनावी मैदानमा नउत्रिने घोषणा गरे । सर्वोच्च अदालतमा पार्टीको विशेष महाधिवेशन खारेजसम्बन्धी मुद्दा दायर गरेको सन्दर्भ उल्लेख गर्दै नैतिकताका आधारमा निर्वाचन नलड्ने निर्णय लिएको बताए ।
खड्काले सुर्खेत–१ बाट २०४८, २०५१, २०५६, २०७० र २०७९ का संसदीय निर्वाचन जितेका थिए भने २०६४ सालको संविधानसभामा समानुपातिक प्रणालीमार्फत प्रतिनिधित्व गरेका थिए । उपप्रधानमन्त्रीसहित रक्षा, गृह, सूचना तथा सञ्चार, युवा तथा खेलकुद लगायतका विभिन्न ८ वटा मन्त्रालय सम्हालिसकेका उनी पार्टी केन्द्रीय सदस्य, सहमहामन्त्री र महामन्त्री हुँदै १४ औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थिए । जेन्जी आन्दोलनपछि कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई कार्यवाहक सभापतिको जिम्मेवारी पनि सुम्पेका थिए । विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा निर्वाचित कार्य समितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि कार्यवाहक सभापतिको हैसियतमा खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए ।
पूर्णबहादुरको अनुपस्थितिमा सुर्खेत–१ बाट उनका सहोदर साहिँला भाइ विष्णुबहादुर खड्का उम्मेदवार बनेका छन् । उनी जिल्ला पार्टी उपसभापति हुन् । मंगलबार कांग्रेसका विष्णुबहादुर खड्कासँगै एमालेका ध्रुवकुमार शाही, नेकपाका जीतबहादुर राना, रास्वपाका टेकबहादुर सिंह, राप्रपाका रविकिरण हमाल र उज्यालो नेपाल पार्टीका ठम्मर विष्टले उम्मेदवारी दर्ता गराएका छन् । रविकिरण जेन्जी अभियन्ता पनि हुन् । एमाले उम्मेदवार शाहीले २०७४ को निर्वाचनमा पूर्णबहादुरलाई पराजित गरेका थिए भने २०७९ मा भने उनै शाहीलाई पूर्णबहादुरले पराजित गरेका थिए ।
सुर्खेत–२ कांग्रेस नेता हृदयराम थानीको सदावहार निर्वाचन क्षेत्रका रूपमा चिनिँदै आएको छ । पार्टीको विशेष महाधिवेशनबाट सिर्जित परिस्थिति र स्वास्थ्य कारण देखाउँदै थानीले पनि केही दिन अघि यसपटक निर्वाचन नलड्ने घोषणा गरे । २०५१ सालदेखि निरन्तर निर्वाचन लड्दै आएका थानीले २०५६, २०७० र २०७९ का निर्वाचन जितेका थिए । थानीको स्थानमा कांग्रेसले युवा नेता नारायण कोइरालालाई उम्मेदवार बनाएको छ । कोइरालासँगै एमाले जिल्ला अध्यक्ष कुलमणि देवकोटा, माओवादी केन्द्रका झकबहादुर मल्ल, रास्वपाका रमेश सापकोटा र राप्रपाका कविराम पुरी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
दैलेखमा पुरानै प्रतिष्पर्धी मैदानमा
दैलेख १ मा कांग्रेसका बास्ना थापा, एमालेका रविन्द्रराज शर्मा, नेकपाका अम्मरबहादुर थापा, रास्वपाका नन्दकिशोर बस्नेतले उम्मेदवारी दर्ता गरेका छन् । बस्नेत पूर्व एमाले हुन् । कर्णाली प्रदेशका पूर्व मन्त्री, पूर्व संघीय सांसद समेत रहेका नेकपाका थापा शिक्षा समितिका सभापति थिए । नारायण नगरपालिका २ निवासी कांग्रेसका थापा र एमाले उम्मेदवार शर्मा पारिवारिक नातेदारसमेत हुन् । शर्माले २०७४ सालको संसदीय निर्वाचन जितेका थिए । २०७९ को निर्वाचनमा तत्कालिन सत्ता गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका उम्मेदवार थापाले एमालेका शर्मालाई पराजित गरेका थिए । अहिले पुनः उनीहरुबीच प्रतिष्पर्धा हुँदैछ ।
दैलेख २ मा कांग्रेसका दिक्पाल शाही, एमालेका लक्ष्मी पोखरेल, नेकपाका योगेन्द्र शाही, रास्वपाका बखतबहादुर शाहीले उम्मेदवार दर्ता गरेका छन् । २०७९ को निर्वाचनमा कांग्रेसका शाहीले एमाले उम्मेदवार पोखरेललाई पराजित गरेका थिए । पोखरेल २०७० को संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । यसपटक पुनः कांग्रेस र एमाले उम्मेदवारबीच प्रतिष्पर्धा दोहोरिएको छ ।
डोल्पामा सहोदर दाजुभाई मुख्य प्रतिष्पर्धी
कांग्रेसका कर्णबहादुर बुढा, एमालेका लंक रोकाया, नेकपाका धनबहादुर बुढाले मनोनयन दर्ता गरेका छन् । कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका कांग्रेस उम्मेदवार कर्णबहादुर र नेकपाका धनबहादुर सहोदर दाजुभाई हुन् । यसपटक उनीहरुबीचको प्रतिष्पर्धा रोचक हुने भएको छ । २०७९ मा एमालेबाट चुनाव जितेका धनबहादुर पार्टी विभाजन हुँदा एकिकृत समाजवादी रोजेका थिए । उनी पूर्व सहरी विकास मन्त्री समेत हुन् ।
अन्य जिल्लामा को–को बीच हुँदैछ प्रतिष्पर्धा ?
जाजरकोटमा कांग्रेसका खड्कबहादुर बुढा, एमालेका डम्बरबहादुर सिंह, नेकपाका शक्तिबहादुर बस्नेत, उज्यालो नेपाल पार्टीका नरबहादुर कार्कीले उम्मेदवारी दर्ता गरेका छन् । नेकपाका हेभिवेट नेता बस्नेत पूर्व गृहमन्त्री समेत हुन् ।
रुकुम पश्चिममा कांग्रेसका राजु केसी एमालेका नन्दराम देवकोटा, नेकपाका गोपाल शर्मा, रास्वपाका मानबहादुर शाही, प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) का जनार्दन शर्माले उम्मेदवारी दर्ता गरेका छन् । त्यहाँ नेकपा र प्रलोपा उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । गोपाल कर्णाली प्रदेशका पूर्व अर्थमन्त्री हुन भने जनार्दन पूर्व संघीय अर्थमन्त्री, गृहमन्त्री, शान्ति तथा पुनर्निर्माणमन्त्री भइसकेका छन् ।
सल्यानमा कांग्रेसका केशबहादुर विष्ट, एमालेका गुलाबजंग शाह, नेकपाका रमेश मल्लले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका विष्ट जिल्ला सभापति र एमालेका शाह पूर्व प्रदेश सांसद र पार्टीको प्रदेश अध्यक्ष हुन् । नेकपाका हेभिवेट नेता प्रकाश ज्वालाले यसपटक टिकट नपाउँदा पार्टी संयोजक पुष्पकमल दाहालले आफ्ना पूर्व स्वकीय सचिव रमेश मल्ललाई टिकट दिए ।
कालीकोटमा कांग्रेसका हर्षबहादुर बम, एमालेका नगिन्द्र शाही, नेकपाका महेन्द्रबहादुर शाही, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड), रास्वपाका प्रकाश न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् । २०६४ को संविधानसभा सदस्यमा निर्वाचित प्रकाण्ड पूर्व मन्त्री हुन् । उनी लामो समयपछि संसदीय निर्वाचन लड्दैछन् । नेकपाका महेन्द्र पूर्व संघीय मन्त्री र कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्री समेत हुन् । कालीकोटमा महेन्द्र शाहीविरुद्ध उनकै पार्टीका पूर्व सांसद जीवन बुढाले पनि उम्मेदवारी दर्ता गरेका छन् ।
जुम्लामा कांग्रेसका दिपबहादुर शाही, एमालेका शान्तिलाल महत, नेकपाका नरेश भण्डारी, रास्वपाका बिन्द्रा कठायत, राप्रपाका ज्ञानबहादुर शाहीले उम्मेदवारी दर्ता गरे । त्यस्तै, हुम्ला कांग्रेसका जयपति रोकाया, एमालेका दल फडेरा, नेकपाका डा दीपेन्द्र रोकाया, रास्वपाका टासी ल्हाजोम लामाले उम्मेदवारी दर्ता गरे । मुगुमा कांग्रेसका ऐनबहादुर शाही, एमालेका पूर्णबहादुर रोकाय, नेकपाका चन्द्रबहादुर शाहीले मनोनयन दर्ता गरे । कांग्रेस उम्मेदवार शाही जेन्जी आन्दोलन अघि वन तथा वातावरणमन्त्री थिए ।


कर्णाली समय । ७ माघ २०८२, मंगलवार १७:२८