गैरजिम्मेवार नेतृत्व र प्रशासनको लाचारीपन मुख्य कारण

सुर्खेत– कर्णाली प्रदेश संयुक्त यातायात व्यवसायी संघले पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा बस नपठाउँदा यात्रुहरु असुरक्षित र पीडादायी यात्रा गर्न बाध्य भएका छन् । सडकको समस्या देखाउँदै यातायात सञ्चालनमा नआएपछि विरोधस्वरुप गाउँपालिकाले शनिबार दुई वटा टिप्परमा राखेर यात्रुलाई वीरेन्द्रनगरमा पु¥यायो ।

यातायात सेवा सञ्चालन नहुँदा बिरामी, बालबालिका र ज्येष्ठ नागरिकलाई सास्ती भएको छ । गाउँपालिकाले टिप्परबाट आफ्ना यात्रु ओसारेको फोटोहरु शनिबार सामाजिक सञ्जालहरुमा भाइरल भएका थिए ।

४२ दिनदेखि यातायात व्यवसायीले सडक बिग्रिएको भन्दै विद्यापुरबाट अगाडि यात्रुवाहक बस पठाउन नमानेका हुन । यातायात व्यवसायीले बाटो बिग्रिएको भनेपनि पूर्णरूपमा सवारी चलाउन मिल्ने र सडक बिग्रिए तत्काल मर्मत गर्ने प्रतिवद्धता जनाएपनि बेवास्ता गरेको गाउँपालिकाको आरोप छ । यातायात व्यवसायीको हड्ताललाई गाउँपालिका अध्यक्ष खड्कबहादुर विकले सिन्डीकेटको आरोप लगाइरहेका छन् । उनले बाटो बिग्रिएको बहानामा गाडी नचलाउनु मानवअधिकारको हनन् भएको बताए । ‘मेरा जनताको मानवअधिकार हनन भएको छ,’ अध्यक्ष विकले भने, ‘व्यवसायीहरुले पैसा कमाउन गाडी किन्नुभएको हो, सेवाको भाव देखिएन ।’ लामो समय बन्द भएको यातायात सेवा सुचारु गर्न बारम्बार यातायात व्यवसायीसँग अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि नागरिकलाई गाउँपालिकाका टिप्परबाट सेवा दिनु बाध्यता भएको गाउँपालिकाले जनाएको छ । पालिकाको दुई वटा टिप्परमा अध्यक्ष, तीन वडाध्यक्षसहित ६० यात्रु शनिबार वीरेन्द्रनगर आएका हुन् ।

उता, कर्णाली प्रदेश संयुक्त यातायात व्यवसायी संघले लगामसम्म गाडी सञ्चालन हुन नसक्नुको मुख्य कारण सडक रहेको बताएको छ । संघका संयोजक नारायण चपाईले भने, ‘सडक मर्मत भएपछि मात्रै सञ्चालन गर्नुपर्ने अवस्था देखिएको छ, सडक निर्माण कार्य चलिरहेकाले पनि गाडी चलाउन समस्या छ ।’ गाउँपालिका अध्यक्षले यातायात व्यवसायीमाथि लगाएको आरोप र अभिव्यक्ति नसच्चाए एवं माफी नमागे गाडी नपठाउने अडान लिएको छ । अध्यक्ष विकले बुधबार पत्रकार सम्मेलनका क्रममा यातायात व्यवसायीमाथि दलाल, भ्रष्ट र लुटेराजस्ता शब्द प्रयोग गरेका थिए ।

गुटुसहित लगाम, बेतान, बिजौरा, घाटगाउँ मिलेर चौकुने गाउँपालिका बनेको हो । यसको केन्द्र गुटु हो । यहाँका नागरिक यातायात व्यवसायीको गैरजिम्मेवारीपनका कारण ४२ दिनदेखि गाडी चढ्न पाएका छैनन् । वीरेन्द्रनगरदेखि चौकुने गाउँपालिकाको मुकामको दुरी ५५ किलोमिटर छ ।

यस सडकखण्डको विद्यापुरदेखि गुटुको बल्देसम्मको २२ किलोमिटर सडक मदन भण्डारी राजमार्ग आयोजना अन्तर्गत पर्दछ । यो खण्डमा मोतिदान कन्स्ट्रक्सन प्रालिले निर्माणको काम गरिरहेको छ । बराहताल गाउँपालिकाको बड्डीचौरदेखि पञ्चपुरी नगरपालिकाको खम्बागाडेसम्म, खम्बागाडेदेखि पञ्चपुरी–९ विद्यापुरसम्म र विद्यापुरदेखि चौकुने–४ बल्देसम्म तीन खण्डमा मदन भण्डारी राजमार्गअन्तर्गत काम भइरहेको छ । पहिलो खण्ड बड्डीचौर खण्डमा पूर्वाधार विकास कार्यालय सुर्खेतले १३ किलोमिटर सडक निर्माणका लागि ठेक्का दिइसकेको भएपनि वातावरणीय प्रभाव मूल्यांकनमा ढिलाई हुँदा काम अगाडि बढ्न सकेको छैन ।

यातायात व्यवसायीले सेवा ठप्प पारेको झण्डै डेढ महिना भएपनि जिल्ला प्रशासन कार्यालयले लाचारीपन देखाएको छ । ४२ दिनपछि आइतबार जिल्ला प्रशासनले चौकुने गाउँपालिकाको नेतृत्व, यातायात व्यवस्था कार्यालय र यातायात व्यवसायीसंग छलफल गर्ने तयारी गरेको छ । प्रजिअ नारायण सापकोटाले गाडी चल्न उपयुक्त छ/छैन् भनेर सम्बन्धित यातायात व्यवसायी, यातायात कार्यालय र पालिकालाई राखेर छलफल गरिने बताए । यस रुटमा काँक्रेविहार, देउती नागरिक, मध्यपश्चिम यातायात प्रालि लगायतका विभिन्न दर्जन बढी यातायात व्यवसायीले संयुक्त व्यवसायी संघ बनाएर ११ वटा फोर्स गाडीहरू आलोपालोमा चलाउँदै आएका थिए ।
(पत्रकार ओम शाहीको सहयोगमा)



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,