बदलिँदैछ नेपाल, हराउँदैछन् राउटे

प्रकाश अधिकारी- आधुनिक प्रविधि, सहरीकरण, शिक्षा, स्वास्थ्य, पूर्वाधार र जीवनशैलीमा आएको विकासले नेपाललाई नयाँ युगतर्फ अग्रसर गराइरहेको छ । अहिले सबैतिर विकासका ठूल्ठूला पूर्वाधार देखाएर ‘देश बन्दैछ’ भनेर सकारात्मक सन्देशहरु प्रवाह गर्ने गरिन्छ । मुलुक आर्थिक, सामाजिक, प्रशासनिक र भौतिक पूर्वाधारको हिसाबले बदलिँदैछ, जसरी जनताको सोच, आवश्यकता र जीवनशैलीमा पनि परिवर्तन आउँदैछ ।

नेपाल जति परिवर्तन भएपनि राउटे समुदायको परम्परागत घुमन्ते जीवनशैली भने संकटमा फसेको छ । जलवायु परिवर्तनको चौतर्फी असर, आधुनिक समाजको दबाब, जनसांख्यिक असन्तुलनका कारण कारण उनीहरूको संख्या घट्दै गएको छ । यो लेखमार्फत ‘नेपाल बन्दैछ, वा बदलिँदै छ’ भन्ने विषयमा केन्द्रीत नभई एउटा विडम्बना देखाउन खोजिएको छ, देश विकासको यात्रामा अघि बढ्दै गर्दा एउटा मौलिक समुदाय कसरी हराउने अवस्थामा पुगेको छ । फिरन्ते राउटेको संक्रमण दौरबारे यहाँ चर्चा गर्न खोजिएको छ ।

फिरन्ते राउटे समुदायको मुख्य विशेषतामध्ये एउटा हो– आफ्ना सदस्यको मृत्यु लगत्तै बसाइँ सर्ने । पछिल्ला वर्ष मृत्युदर बढी हुँदा उनीहरुको बसाइँ सर्ने क्रम पनि छिटो–छिटो चलिरहेको छ । समुदायका सदस्यको मृत्युले बसाइँ सर्नुपर्ने परम्परागत मान्यतासंगै राउटेहरुले अचेल अर्को चुनौतीको सामना गर्नुपरेको छ । त्यो हो, जलवायु परिवर्तन । यसको असरले राउटेमा सहन सक्ने जैविक क्षमतामा ह्रास आउँदा अन्ततः ठावै छाड्न बाध्य हुनुपरेको छ ।
ताजा उदाहरण हेरौं,

सुर्खेतको रानीघाट क्षेत्रमा बसेका राउटेहरु त्यो ठाउँ छाड्नुपर्दा दुई समूहमा विभाजित हुन पुगे । एउटा समूह वीरेन्द्रनगर १३ करेखोलामा स¥यो भने अर्को समूह बराहताल गाउँपालिकाको बड्डीचौर । हाल करेखोलामा २० परिवारका ७२ जना र बड्डीचौरमा २२ परिवारका ६४ जना छन् । ३ चैतमा रानीघाटमा बलबहादुर शाहीका दुई महिने छोराको मृत्युपछि राउटेहरु वीरेन्द्रनगर २ मा पर्ने गिरिघाट जंगलतर्फ उक्लिएका थिए । राउटे समुदायमा खटिएका स्वास्थ्यकर्मीका अनुसार शिशुले आवश्यक मात्रामा आमाको दुध नपाउँदा, हेरचाह नपाउँदा मृत्यु भयो । ती शिशुका आमाबाबु दुवैमा मदिराको अम्मली थिए । जसले गर्दा शिशुले आवश्यक स्याहार पाउन सकेनन् । रानीघाट आउनुअघि यो समुदायको बसोबास बराहताल गाउँपालिका ७ कल्याणकाँधमा थियो । त्यहाँ एक महिना बसे । खानेपानीको समस्या भएपछि १६ कात्तिकमा सोतखोलामा सरे । त्यहाँ पनि पानीको समस्या भोगेपछि सात दिनपछि राउटेहरु रानीघाट पुगे । पछिल्ला तीनवटा बसाइँसराइँलाई केलाउँदा दुई ठाउँमा खानेपानीको अभाव र एक ठाउँ आफ्ना सदस्यको मृत्युका कारण नयाँ गन्तव्य रोज्न बाध्य भए । गिरिघाटमा पिउनेपानीको अभावका साथै चर्को गर्मीको महसुस गरे । सकभर खोला, नदी नालाको पानी नखाने राउटेहरु मुहान सुक्न थालेपछि चिन्तित देखिन्छन् ।

नेपालकै एक मात्र परम्परागत वन्य जीवनशैलीमा हुर्किरहेको फिरन्ते जाति राउटे अति लोपोन्मुख आदिवासीमा सूचिकृत छ । विडम्बना, यो समुदायको संख्या वर्षेनि ओरालो लाग्दो अवस्थामा रहेपनि राज्यले सामाजिक सुरक्षा भत्ता दिने बाहेक संरक्षण र बचाउमा ध्यान दिएको छैन् । सरकारले दैलेखको गुराँस गाउँपालिका मार्फत यो समुदायको अभिलेख अद्यावधिक, भत्ता वितरणका कामहरु गर्दै आएको छ । राउटेहरु बसाइँ सरेर जुन जिल्ला पुगेपनि गुराँस गाउँपालिकाले भत्ता वितरण गर्ने गर्दछ । सरकारले आव ०६५÷६६ देखि लोपोन्मुख भत्ता दिँदै आएको छ । सुरुको एक वर्ष प्रति व्यक्ति मासिक ५ सय र त्यसयता मासिक एक हजार दिन थालियो । नागरिकता बनाउन नचाहँदा गुँरास गाउँपालिकाले स्थायी परिचयपत्र दियो । परिचयपत्र पनि भिर्न तयार भएनन् । भोलिपल्टै फ्याँके ।

गौरीबहादुर कार्कीद्वारा केही वर्ष अघि प्रकाशित ‘दोसाँधका राउटे’ पुस्तकमा विभिन्न अध्येताहरुका बेग्लाबेग्लै तथ्यांक पाइन्छ । कार्कीले २०३९ सालमा आफ्नो अध्ययनबाट १९० संख्या रहेको उल्लेख गरेका छन् । समाजशास्त्री डोरबहादुर विष्टले (सन् १९७६) मा २००, डा. नन्दबहादुर सिंह (१९९७) ले १३०, केशरसिंह माझीले ३००, हरिहरसिंह राठौर १६४, विष्णुऋषि पाण्डेको अध्ययनबाट ३५० संख्या रहेको उक्त पुस्तकमा उल्लेख छ । त्यतिबेला राउटेहरु टाउको गन्न दिँदैन्थे । त्यसैले वास्तविक संख्या पत्ता नलागेको हो । अहिलेसम्म उनीहरुको औपचारिक गणना भएको छैन् । राष्ट्रिय जनगणनामा राउटेका बारेमा गणकहरुले अनुमानित तथ्यांक पेश गर्दै आएका छन् । गणकहरु बस्ती पुगेर उनीहरुसंगै सोधपुछ गरेर तथ्यांक संकलन गरिएको छैन् । व्यक्तिपिच्छे राउटेको संख्या फरक–फरक भएपनि वर्षेनि घट्दो क्रममा रहेकोमा कसैको फरक मत देखिन्न । ४०÷५० वर्ष अघिको तुलनामा राउटेको संख्या धेरै घट्दो दरमा छ । पछिल्ला सात वर्षको तथ्याङ्क हेर्दा पनि राउटेको संख्या वर्षेनि औसतमा एकका दरले घटेको छ । २०७५ सालमा १४९, २०७६ मा १४८, २०७७ मा १४५, २०७८ मा १४४, २०७९ मा १४३, २०८० मा १३७ थियो । हाल कुल संख्या १३६ रहेको छ । तीमध्ये महिला ७४ र पुरुष ६२ जना छन् । बस्तीमा पाँच वर्ष मुनिका बालबालिकाको संख्या १२ मात्रै छ ।

जन्मदर न्यून हुनु, मृत्युदर उच्च हुनु र जलवायु परिवर्तनका नयाँ–नयाँ असर सामना गर्न नसक्दा खुला जंगलमा आश्रित राउटे समुदायको जीवनयापन संकटासन्न अवस्थामा पुगेको छ । जन्मदर कम हुनुमा तीन थरी जातिका समुदायमा युवायुवतीको असन्तुलित संख्यालाई कारक मानिएको छ । जहाँ एउटै जातिमा केटा र केटीको संख्या बढी छ, तर अन्य दुई जातिमा संख्या कम छ । आफ्नै जातिमा उनीहरु बिहे गर्दैनन् । त्यसले गर्दा एउटै जातिका केटीले केटा नपाउने र केटाले केटी अपाउने अवस्था छ । बिहे गर्ने उमेर घर्किसक्दा समेत वर्षौंसम्म जोडीको पखाईमा बस्नुपर्ने बाध्यता छ । यसले गर्दा जन्मदरमा अवरोध सिर्जना गरेको छ । पछि जोडी नमिल्ने चिन्ताले कलिलैमा बिहे गर्ने प्रचलन बढेको छ । जसले गर्दा कम उमेरमा सुत्केरी हुँदा आमा र शिशुको ज्यान जोखिममा पर्दै गएको छ ।

पछिल्ला पाँच वर्षको अवधिमा राउटे समुदायका २९ जनाले अकालमै ज्यान गुमाएको तथ्याङक छ । त्यसमध्ये १९ बालबालिका र १० वयष्क उमेरका छन् । धेरैजसो वयष्क राउटेको मृत्यु हुनुमा मुख्य कारण अत्यधिक मदिरा सेवन नै हो । स्थानीयबासीका अनुसार मदिरा सेवनका कारण अधिकांश राउटेको स्वास्थ्य नाजुक बनेको छ । बालबालिका, ज्येष्ठ नागरिकहरुमा रक्सी, सूर्तिमोह अधिक हुनु नै उनीहरुको स्वास्थ्यमा विभिन्न समस्या देखापरेको छ । रोग लागेमा उपचार गर्नुहुँदैन । लेखपढ गर्नुहुँदैन् । स्थायी रुपमा बसोबास गर्नुहुँदैन । अन्य समुदायमा बिहे गर्नुहुँदैन भन्ने परम्परागत मान्यता त्याग्न सकेका छैनन् । बाह्रैमास घलेकको भरमा आधा जीउ ढाक्ने राउटेहरु अचेल गर्मी र जाडो दुवैले सताउने गरेको भोगाई सुनाउँछन् । राउटेहरु पहिले–पहिले कन्दमूल खाने, गुना–बाँदरको सिकारलाई उसिन्ने, भातमा पानी बढी हालेर नुन छर्केर खाने गर्थे । सिकार खेल्दा भीरबाट लड्थे । हिँडडुल गर्दा खुट्टामा ठेस लाग्थ्यो । जडीबुटीको औषधि प्रयोग गर्थे । निको हुन्थ्यो । टाउको दुख्यो भने बल्लेटी र तेजपातको रस पिउँथे । पछिल्ला वर्ष सहरका आधुनिक खानपानले यो शैलीमा केही बदलाव आएको छ ।

राउटेहरुहरु सदियौंदेखि दाङ, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालिकोट, कैलालीका जंगलहरुमा सामुहिक रुपमा फिरन्ते जीवन बिताउँदै आएका छन् । ठकुरी वंशका राउटेमा रास्कोटी, कल्याल र सोवंशी थर छन् । नामका पछाडि सबैले ‘शाही’ भन्ने गर्दछन् । बोल्ने बेग्लै भाषा छ, जसलाई ‘खाम्सी’ भनिन्छ । जसको अहिलेसम्म लिपि छैन् । धर्म–संस्कृति, जातपात हिन्दु सम्प्रदायसंग मेल खान्छ । मुखिया नै समुदायको नेता हुन् । लेखपढ, जागिर, सुख–सुविधा, धनदौलतप्रति कुनै आर्कषण छैन् । राउटेहरु काठबाट कोशी, मधुसजस्ता सामानहरु बनाउँछन् । ती सामान अनाजसंग साट्छन् । अचेल भने अनाजको साटो नगद लिन रुचाउँछन् । कोसी, मधुस जस्ता हस्तकलाका सामान बिक्न छाडेका छन् । मौलिक पहिचान जोगाउन खोज्दा शिक्षा र स्वास्थ्यबाट बञ्चित छन् । परम्परा र आधुनिकताबीच सन्तुलन मिलाउन नसक्दा, जलवायु परिवर्तनले कन्दमुल उत्पादनमा ह्रास तथा अनियमित मौसमसंग जुँध्ने उपाय नहुँदा राउटेको जीवनशैली मात्र होइन स्वास्थ्य समेत क्षयीकरणको बाटोमा छ ।

कसरी बचाउन सकिन्छ ?
यो दुर्लभ जीवित सम्पदा, नेपालकै गौरवका रुपमा रहेको, पुर्खौंदेखि फरक सभ्यतामा हुर्किरहेको यो जाति लोप हुने अवस्थामा पुग्नु चिन्ताको विषय हो । चार वर्ण ३६ जातको फूलबारी र ५८ वटा आदिवासी जनजातिमध्ये राउटे वास्तवमा राष्ट्रका गहना हुन् । यिनीहरुको कला, भाषा, संस्कृति, परम्परा, भेषभुषाको जर्गेना गर्नु सरकारको कर्तव्य हो ।
बदलिँदो जीवनशैली र जलवायु परिवर्तनका कारण परम्परागत जीवन पद्धति अपनाउँदै आएको फिरन्ते राउटे समुदाय गम्भीर संकटमा परेकोमा दुईमत छैन् । प्रकृति प्रतिको निर्भरता, घुमन्ते जीवनशैली र आधुनिक विकासका चापसँग जुझ्दै आएको यो समुदाय अहिले आफ्ना सांस्कृतिक, सामाजिक तथा जनसांख्यिक अस्तित्वमै चुनौतीको सामना गरिरहेको छ । मौसमको अनियमितता र बढ्दो आधुनिकीकरणले गर्दा राउटे समुदायको जीवनयापन झनै कठिन बन्दै गएको छ, जसको प्रत्यक्ष असर समुदायको जनसंख्यामा स्पष्ट देखिन थालेको तथ्य स्पष्ट छ । परिवर्तनदेखि लोभिएर लवाइखुवाई, रहनसहन अन्य समुदायजस्तो अपनाउन पनि खोजेपनि आफ्नो पुरानो संस्कार त्याग्न नसक्ने अवस्थामा रहेकाले राउटे समुदाय दोसाँधमा छ । नयाँ पुस्ताले स्वतन्त्रता चाहेपनि पुरानो पुस्ताको दबदबा सहन बाध्य छन् । घनाजंगलमा बस्न रुचाउने राउटेहरु अचेल अन्य समुदाय नजिक र सहरबजार आसपासमा बस्न थालेका छन् । तापक्रम वृद्धिसंगै पहाडका जंगलमा समेत लामखुट्टेले टोक्नु, अन्य समुदायसंग बाक्लिँदो घुलमिल हुनु, खानपिनमा परिवर्तन हुनु, कडा एन्टिबायोटिक औषधिको सेवन गर्नुजस्ता कारणले राउटेहरु दिनप्रतिदिन रोगी बन्न थालेका छन् । बदलिँदो जीवनशैली र जलवायु परिवर्तनका कारण अधिकांश राउटे विभिन्न रोगको संक्रमणबाट थलिन पुगेकाले धेरैको अल्पायुमै मृत्यु हुने गरेको तथ्यले देखाएको छ । यही अवस्था रहिरहे राउटे लोप हुन धेरै वर्ष पर्खनुपर्दैन ।

राउटेलाई कुलतमा फस्न नदिन र जलवायु परिवर्तन अनुकूल जीवनशैलीमा रुपान्तरण गर्न तीनै तहका सरकारको संयुक्त प्रयासको खाँचो छ । यसका लागि राउटे करिडोरलाई परिभाषित गरी सम्बन्धित स्थानीय तह र गैरसरकारी संस्थाहरुले अनुकूलनका कामहरु गर्न सक्छन् । मुख्य कुरा, राज्यले राउटेलाई संरक्षित जातिमा राखेर बचाउका क्रियाकलाप गर्न आवश्यक छ । राउटेलाई गैरराउटे समुदायले हाँसो मजाकको पात्र बनाउने, आफ्नो स्वार्थका लागि कुलतमा लाग्न प्रेरित गर्ने गरेको पाइन्छ, त्यस्तो सोच हटाउन राज्यले अग्रसरता लिन ढिला भइसकेको छ । अहिले वितरण भएको भत्ता दुरुपयोग हुने गरेको छ । नगदको साटो उपभोग्य वस्तु दिने व्यवस्था मिलाउन सके यो समस्यामा केही कम हुनसक्छ । हाम्रा तीन वटै तहका सरकारले राउटेलाई संरक्षित मानव समुदायका रुपमा विकास गर्न, राउटे सभ्यताको जर्गेना गर्न, परिभ्रमण क्षेत्रमा कन्दमुल खेती गर्न, हस्तकलाको सामानको बजारीकरणको व्यवस्था गर्न ध्यान दिनु आवश्यक छ । त्यस्तै राउटेको स्वास्थ्य उपचार लगायतका आधारभूत समस्या समाधान गर्न प्रदेश वा केन्द्र सरकारले ‘मोबाइल टिम’ परिचालन गर्न सक्दछ । तबमात्र लोपोन्मुख अवस्थामा रहेका विश्वकै सानो मानव जाति राउटेले न्याय महसुस गर्न सक्दछन् । मुलुकले विकासमा फड्को मार्ने तर मौलिक विशेषता बोकेको फिरन्ते आदिवासी लोप हुने अवस्थामा पुग्नु पक्कै सुखद होइन ।

(२०८२ बैशाख ६ गते राजधानी दैनिकमा प्रकाशित)

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,