प्रकाश अधिकारी- आधुनिक प्रविधि, सहरीकरण, शिक्षा, स्वास्थ्य, पूर्वाधार र जीवनशैलीमा आएको विकासले नेपाललाई नयाँ युगतर्फ अग्रसर गराइरहेको छ । अहिले सबैतिर विकासका ठूल्ठूला पूर्वाधार देखाएर ‘देश बन्दैछ’ भनेर सकारात्मक सन्देशहरु प्रवाह गर्ने गरिन्छ । मुलुक आर्थिक, सामाजिक, प्रशासनिक र भौतिक पूर्वाधारको हिसाबले बदलिँदैछ, जसरी जनताको सोच, आवश्यकता र जीवनशैलीमा पनि परिवर्तन आउँदैछ ।
नेपाल जति परिवर्तन भएपनि राउटे समुदायको परम्परागत घुमन्ते जीवनशैली भने संकटमा फसेको छ । जलवायु परिवर्तनको चौतर्फी असर, आधुनिक समाजको दबाब, जनसांख्यिक असन्तुलनका कारण कारण उनीहरूको संख्या घट्दै गएको छ । यो लेखमार्फत ‘नेपाल बन्दैछ, वा बदलिँदै छ’ भन्ने विषयमा केन्द्रीत नभई एउटा विडम्बना देखाउन खोजिएको छ, देश विकासको यात्रामा अघि बढ्दै गर्दा एउटा मौलिक समुदाय कसरी हराउने अवस्थामा पुगेको छ । फिरन्ते राउटेको संक्रमण दौरबारे यहाँ चर्चा गर्न खोजिएको छ ।
फिरन्ते राउटे समुदायको मुख्य विशेषतामध्ये एउटा हो– आफ्ना सदस्यको मृत्यु लगत्तै बसाइँ सर्ने । पछिल्ला वर्ष मृत्युदर बढी हुँदा उनीहरुको बसाइँ सर्ने क्रम पनि छिटो–छिटो चलिरहेको छ । समुदायका सदस्यको मृत्युले बसाइँ सर्नुपर्ने परम्परागत मान्यतासंगै राउटेहरुले अचेल अर्को चुनौतीको सामना गर्नुपरेको छ । त्यो हो, जलवायु परिवर्तन । यसको असरले राउटेमा सहन सक्ने जैविक क्षमतामा ह्रास आउँदा अन्ततः ठावै छाड्न बाध्य हुनुपरेको छ ।
ताजा उदाहरण हेरौं,
सुर्खेतको रानीघाट क्षेत्रमा बसेका राउटेहरु त्यो ठाउँ छाड्नुपर्दा दुई समूहमा विभाजित हुन पुगे । एउटा समूह वीरेन्द्रनगर १३ करेखोलामा स¥यो भने अर्को समूह बराहताल गाउँपालिकाको बड्डीचौर । हाल करेखोलामा २० परिवारका ७२ जना र बड्डीचौरमा २२ परिवारका ६४ जना छन् । ३ चैतमा रानीघाटमा बलबहादुर शाहीका दुई महिने छोराको मृत्युपछि राउटेहरु वीरेन्द्रनगर २ मा पर्ने गिरिघाट जंगलतर्फ उक्लिएका थिए । राउटे समुदायमा खटिएका स्वास्थ्यकर्मीका अनुसार शिशुले आवश्यक मात्रामा आमाको दुध नपाउँदा, हेरचाह नपाउँदा मृत्यु भयो । ती शिशुका आमाबाबु दुवैमा मदिराको अम्मली थिए । जसले गर्दा शिशुले आवश्यक स्याहार पाउन सकेनन् । रानीघाट आउनुअघि यो समुदायको बसोबास बराहताल गाउँपालिका ७ कल्याणकाँधमा थियो । त्यहाँ एक महिना बसे । खानेपानीको समस्या भएपछि १६ कात्तिकमा सोतखोलामा सरे । त्यहाँ पनि पानीको समस्या भोगेपछि सात दिनपछि राउटेहरु रानीघाट पुगे । पछिल्ला तीनवटा बसाइँसराइँलाई केलाउँदा दुई ठाउँमा खानेपानीको अभाव र एक ठाउँ आफ्ना सदस्यको मृत्युका कारण नयाँ गन्तव्य रोज्न बाध्य भए । गिरिघाटमा पिउनेपानीको अभावका साथै चर्को गर्मीको महसुस गरे । सकभर खोला, नदी नालाको पानी नखाने राउटेहरु मुहान सुक्न थालेपछि चिन्तित देखिन्छन् ।
नेपालकै एक मात्र परम्परागत वन्य जीवनशैलीमा हुर्किरहेको फिरन्ते जाति राउटे अति लोपोन्मुख आदिवासीमा सूचिकृत छ । विडम्बना, यो समुदायको संख्या वर्षेनि ओरालो लाग्दो अवस्थामा रहेपनि राज्यले सामाजिक सुरक्षा भत्ता दिने बाहेक संरक्षण र बचाउमा ध्यान दिएको छैन् । सरकारले दैलेखको गुराँस गाउँपालिका मार्फत यो समुदायको अभिलेख अद्यावधिक, भत्ता वितरणका कामहरु गर्दै आएको छ । राउटेहरु बसाइँ सरेर जुन जिल्ला पुगेपनि गुराँस गाउँपालिकाले भत्ता वितरण गर्ने गर्दछ । सरकारले आव ०६५÷६६ देखि लोपोन्मुख भत्ता दिँदै आएको छ । सुरुको एक वर्ष प्रति व्यक्ति मासिक ५ सय र त्यसयता मासिक एक हजार दिन थालियो । नागरिकता बनाउन नचाहँदा गुँरास गाउँपालिकाले स्थायी परिचयपत्र दियो । परिचयपत्र पनि भिर्न तयार भएनन् । भोलिपल्टै फ्याँके ।
गौरीबहादुर कार्कीद्वारा केही वर्ष अघि प्रकाशित ‘दोसाँधका राउटे’ पुस्तकमा विभिन्न अध्येताहरुका बेग्लाबेग्लै तथ्यांक पाइन्छ । कार्कीले २०३९ सालमा आफ्नो अध्ययनबाट १९० संख्या रहेको उल्लेख गरेका छन् । समाजशास्त्री डोरबहादुर विष्टले (सन् १९७६) मा २००, डा. नन्दबहादुर सिंह (१९९७) ले १३०, केशरसिंह माझीले ३००, हरिहरसिंह राठौर १६४, विष्णुऋषि पाण्डेको अध्ययनबाट ३५० संख्या रहेको उक्त पुस्तकमा उल्लेख छ । त्यतिबेला राउटेहरु टाउको गन्न दिँदैन्थे । त्यसैले वास्तविक संख्या पत्ता नलागेको हो । अहिलेसम्म उनीहरुको औपचारिक गणना भएको छैन् । राष्ट्रिय जनगणनामा राउटेका बारेमा गणकहरुले अनुमानित तथ्यांक पेश गर्दै आएका छन् । गणकहरु बस्ती पुगेर उनीहरुसंगै सोधपुछ गरेर तथ्यांक संकलन गरिएको छैन् । व्यक्तिपिच्छे राउटेको संख्या फरक–फरक भएपनि वर्षेनि घट्दो क्रममा रहेकोमा कसैको फरक मत देखिन्न । ४०÷५० वर्ष अघिको तुलनामा राउटेको संख्या धेरै घट्दो दरमा छ । पछिल्ला सात वर्षको तथ्याङ्क हेर्दा पनि राउटेको संख्या वर्षेनि औसतमा एकका दरले घटेको छ । २०७५ सालमा १४९, २०७६ मा १४८, २०७७ मा १४५, २०७८ मा १४४, २०७९ मा १४३, २०८० मा १३७ थियो । हाल कुल संख्या १३६ रहेको छ । तीमध्ये महिला ७४ र पुरुष ६२ जना छन् । बस्तीमा पाँच वर्ष मुनिका बालबालिकाको संख्या १२ मात्रै छ ।
जन्मदर न्यून हुनु, मृत्युदर उच्च हुनु र जलवायु परिवर्तनका नयाँ–नयाँ असर सामना गर्न नसक्दा खुला जंगलमा आश्रित राउटे समुदायको जीवनयापन संकटासन्न अवस्थामा पुगेको छ । जन्मदर कम हुनुमा तीन थरी जातिका समुदायमा युवायुवतीको असन्तुलित संख्यालाई कारक मानिएको छ । जहाँ एउटै जातिमा केटा र केटीको संख्या बढी छ, तर अन्य दुई जातिमा संख्या कम छ । आफ्नै जातिमा उनीहरु बिहे गर्दैनन् । त्यसले गर्दा एउटै जातिका केटीले केटा नपाउने र केटाले केटी अपाउने अवस्था छ । बिहे गर्ने उमेर घर्किसक्दा समेत वर्षौंसम्म जोडीको पखाईमा बस्नुपर्ने बाध्यता छ । यसले गर्दा जन्मदरमा अवरोध सिर्जना गरेको छ । पछि जोडी नमिल्ने चिन्ताले कलिलैमा बिहे गर्ने प्रचलन बढेको छ । जसले गर्दा कम उमेरमा सुत्केरी हुँदा आमा र शिशुको ज्यान जोखिममा पर्दै गएको छ ।
पछिल्ला पाँच वर्षको अवधिमा राउटे समुदायका २९ जनाले अकालमै ज्यान गुमाएको तथ्याङक छ । त्यसमध्ये १९ बालबालिका र १० वयष्क उमेरका छन् । धेरैजसो वयष्क राउटेको मृत्यु हुनुमा मुख्य कारण अत्यधिक मदिरा सेवन नै हो । स्थानीयबासीका अनुसार मदिरा सेवनका कारण अधिकांश राउटेको स्वास्थ्य नाजुक बनेको छ । बालबालिका, ज्येष्ठ नागरिकहरुमा रक्सी, सूर्तिमोह अधिक हुनु नै उनीहरुको स्वास्थ्यमा विभिन्न समस्या देखापरेको छ । रोग लागेमा उपचार गर्नुहुँदैन । लेखपढ गर्नुहुँदैन् । स्थायी रुपमा बसोबास गर्नुहुँदैन । अन्य समुदायमा बिहे गर्नुहुँदैन भन्ने परम्परागत मान्यता त्याग्न सकेका छैनन् । बाह्रैमास घलेकको भरमा आधा जीउ ढाक्ने राउटेहरु अचेल गर्मी र जाडो दुवैले सताउने गरेको भोगाई सुनाउँछन् । राउटेहरु पहिले–पहिले कन्दमूल खाने, गुना–बाँदरको सिकारलाई उसिन्ने, भातमा पानी बढी हालेर नुन छर्केर खाने गर्थे । सिकार खेल्दा भीरबाट लड्थे । हिँडडुल गर्दा खुट्टामा ठेस लाग्थ्यो । जडीबुटीको औषधि प्रयोग गर्थे । निको हुन्थ्यो । टाउको दुख्यो भने बल्लेटी र तेजपातको रस पिउँथे । पछिल्ला वर्ष सहरका आधुनिक खानपानले यो शैलीमा केही बदलाव आएको छ ।
राउटेहरुहरु सदियौंदेखि दाङ, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालिकोट, कैलालीका जंगलहरुमा सामुहिक रुपमा फिरन्ते जीवन बिताउँदै आएका छन् । ठकुरी वंशका राउटेमा रास्कोटी, कल्याल र सोवंशी थर छन् । नामका पछाडि सबैले ‘शाही’ भन्ने गर्दछन् । बोल्ने बेग्लै भाषा छ, जसलाई ‘खाम्सी’ भनिन्छ । जसको अहिलेसम्म लिपि छैन् । धर्म–संस्कृति, जातपात हिन्दु सम्प्रदायसंग मेल खान्छ । मुखिया नै समुदायको नेता हुन् । लेखपढ, जागिर, सुख–सुविधा, धनदौलतप्रति कुनै आर्कषण छैन् । राउटेहरु काठबाट कोशी, मधुसजस्ता सामानहरु बनाउँछन् । ती सामान अनाजसंग साट्छन् । अचेल भने अनाजको साटो नगद लिन रुचाउँछन् । कोसी, मधुस जस्ता हस्तकलाका सामान बिक्न छाडेका छन् । मौलिक पहिचान जोगाउन खोज्दा शिक्षा र स्वास्थ्यबाट बञ्चित छन् । परम्परा र आधुनिकताबीच सन्तुलन मिलाउन नसक्दा, जलवायु परिवर्तनले कन्दमुल उत्पादनमा ह्रास तथा अनियमित मौसमसंग जुँध्ने उपाय नहुँदा राउटेको जीवनशैली मात्र होइन स्वास्थ्य समेत क्षयीकरणको बाटोमा छ ।
कसरी बचाउन सकिन्छ ?
यो दुर्लभ जीवित सम्पदा, नेपालकै गौरवका रुपमा रहेको, पुर्खौंदेखि फरक सभ्यतामा हुर्किरहेको यो जाति लोप हुने अवस्थामा पुग्नु चिन्ताको विषय हो । चार वर्ण ३६ जातको फूलबारी र ५८ वटा आदिवासी जनजातिमध्ये राउटे वास्तवमा राष्ट्रका गहना हुन् । यिनीहरुको कला, भाषा, संस्कृति, परम्परा, भेषभुषाको जर्गेना गर्नु सरकारको कर्तव्य हो ।
बदलिँदो जीवनशैली र जलवायु परिवर्तनका कारण परम्परागत जीवन पद्धति अपनाउँदै आएको फिरन्ते राउटे समुदाय गम्भीर संकटमा परेकोमा दुईमत छैन् । प्रकृति प्रतिको निर्भरता, घुमन्ते जीवनशैली र आधुनिक विकासका चापसँग जुझ्दै आएको यो समुदाय अहिले आफ्ना सांस्कृतिक, सामाजिक तथा जनसांख्यिक अस्तित्वमै चुनौतीको सामना गरिरहेको छ । मौसमको अनियमितता र बढ्दो आधुनिकीकरणले गर्दा राउटे समुदायको जीवनयापन झनै कठिन बन्दै गएको छ, जसको प्रत्यक्ष असर समुदायको जनसंख्यामा स्पष्ट देखिन थालेको तथ्य स्पष्ट छ । परिवर्तनदेखि लोभिएर लवाइखुवाई, रहनसहन अन्य समुदायजस्तो अपनाउन पनि खोजेपनि आफ्नो पुरानो संस्कार त्याग्न नसक्ने अवस्थामा रहेकाले राउटे समुदाय दोसाँधमा छ । नयाँ पुस्ताले स्वतन्त्रता चाहेपनि पुरानो पुस्ताको दबदबा सहन बाध्य छन् । घनाजंगलमा बस्न रुचाउने राउटेहरु अचेल अन्य समुदाय नजिक र सहरबजार आसपासमा बस्न थालेका छन् । तापक्रम वृद्धिसंगै पहाडका जंगलमा समेत लामखुट्टेले टोक्नु, अन्य समुदायसंग बाक्लिँदो घुलमिल हुनु, खानपिनमा परिवर्तन हुनु, कडा एन्टिबायोटिक औषधिको सेवन गर्नुजस्ता कारणले राउटेहरु दिनप्रतिदिन रोगी बन्न थालेका छन् । बदलिँदो जीवनशैली र जलवायु परिवर्तनका कारण अधिकांश राउटे विभिन्न रोगको संक्रमणबाट थलिन पुगेकाले धेरैको अल्पायुमै मृत्यु हुने गरेको तथ्यले देखाएको छ । यही अवस्था रहिरहे राउटे लोप हुन धेरै वर्ष पर्खनुपर्दैन ।
राउटेलाई कुलतमा फस्न नदिन र जलवायु परिवर्तन अनुकूल जीवनशैलीमा रुपान्तरण गर्न तीनै तहका सरकारको संयुक्त प्रयासको खाँचो छ । यसका लागि राउटे करिडोरलाई परिभाषित गरी सम्बन्धित स्थानीय तह र गैरसरकारी संस्थाहरुले अनुकूलनका कामहरु गर्न सक्छन् । मुख्य कुरा, राज्यले राउटेलाई संरक्षित जातिमा राखेर बचाउका क्रियाकलाप गर्न आवश्यक छ । राउटेलाई गैरराउटे समुदायले हाँसो मजाकको पात्र बनाउने, आफ्नो स्वार्थका लागि कुलतमा लाग्न प्रेरित गर्ने गरेको पाइन्छ, त्यस्तो सोच हटाउन राज्यले अग्रसरता लिन ढिला भइसकेको छ । अहिले वितरण भएको भत्ता दुरुपयोग हुने गरेको छ । नगदको साटो उपभोग्य वस्तु दिने व्यवस्था मिलाउन सके यो समस्यामा केही कम हुनसक्छ । हाम्रा तीन वटै तहका सरकारले राउटेलाई संरक्षित मानव समुदायका रुपमा विकास गर्न, राउटे सभ्यताको जर्गेना गर्न, परिभ्रमण क्षेत्रमा कन्दमुल खेती गर्न, हस्तकलाको सामानको बजारीकरणको व्यवस्था गर्न ध्यान दिनु आवश्यक छ । त्यस्तै राउटेको स्वास्थ्य उपचार लगायतका आधारभूत समस्या समाधान गर्न प्रदेश वा केन्द्र सरकारले ‘मोबाइल टिम’ परिचालन गर्न सक्दछ । तबमात्र लोपोन्मुख अवस्थामा रहेका विश्वकै सानो मानव जाति राउटेले न्याय महसुस गर्न सक्दछन् । मुलुकले विकासमा फड्को मार्ने तर मौलिक विशेषता बोकेको फिरन्ते आदिवासी लोप हुने अवस्थामा पुग्नु पक्कै सुखद होइन ।
(२०८२ बैशाख ६ गते राजधानी दैनिकमा प्रकाशित)

कर्णाली समय । ८ बैशाख २०८२, सोमबार १२:२७