व्यवसायीले आफै नहटाए नगरपालिकाले फागुन ३० देखि डोजर चलाउने

सुर्खेत- सुर्खेत उपत्यका नगर विकास समितिले यही फागुन ३० गतेदेखि वीरेन्द्रनगर नगरपालिका—६, गोदामलाइन तथा हटिया क्षेत्रमा बनाइएका अस्थायी संरचनाहरु हटाउने तयारी गरेको छ । गत माघ १८ गते समितिले सूचना जारी गरी ३५ दिनभित्र आफूहरुले निर्माण गरिएका अस्थायी संरचनाहरु हटाउन भनेको थियो । उक्त सूचनाको म्याद बुधवार सकिएको छ ।

बुधवार बसेको समितिको समन्वय बैठकले फागुन ३० गतेदेखि सूचनामा उल्लेख गरिएका स्थानभित्रका अस्थायी संरचनाहरु हटाउने निर्णय गरेको हो । जसअनुसार फागुन २४ गते विहीवारदेखि फागुन २८ गते मंगलवारसम्म अस्थायी संरचना हटाउन माइकिङ गर्ने निर्णय भएको नगर विकास समितिका अध्यक्ष एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन । उनका अनुसार सो अवधिमा विहान, दिउँसो र बेलुका संरचना हटाउन माइकिङ गरिनेछ ।

यसैगरी फागुन २९ गते संरचना हटाउन पूर्व तयारी गर्ने र फागुन ३० गते बुधवार बिहान ११ बजे ती संरचना हटाइनेछ । सूचनामा समितिले वीरेन्द्रनगर नगरपालिका—६ गोदामक्षेत्र, साल्ट ट्रेडिङ्गदेखि उत्तर एमाले पार्टी कार्यालयसम्म, पश्चिममा गंगामाला पाउरोटी उद्योगदेखि पूर्व, उत्तर तर्फ घण्टाघरदेखि दक्षिण तर्फ मध्यपश्चिम विश्वविद्यालयदेखि पश्चिम तर्फका सम्पूर्ण अस्थायी घर, टहरा, घुम्टी तथा अन्य संरचनाहरु हटाउन सूचना जारी गरेको थियो ।

समितिका अध्यक्ष एवं नगर प्रमुख ढकालले नगर विकास समितिको स्वामित्व भित्रका सरकारी जग्गामा निर्माण गरिएका अस्थायी संरचनाहरु खाली गराएर त्यसलाई पार्किङको रुपमा विकास गरिने बताइन् । पहिलो चरणमा माथि उल्लेखित स्थानहरुको अस्थायी संरचनाहरु खाली गराएलगत्तै दोस्रो चरण थालिनेछ । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएको र यहाँ पार्किङको समस्या हुँदा सो समस्या समाधान गर्न समितिले सार्वजनिक जग्गा संरक्षण गर्न थालेको उनको भनाइ छ । नगरपालिकाको सहरी गुरुयोजना तयार हुन लागेको हुँदा त्यसका लागि सार्वजनिक जग्गा आवश्यक पर्ने भएकोले समितिले आफ्ना मातहतमा रहेका जग्गाहरु लिन लागेको हो ।

नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले तोकिएको समय अवधिभित्र अस्थायी संरचनाहरु हटाएर नगरपालिकालाई सहयोग गरिदिन आग्रह गरेका छन् । नगर विकास समिति अनुसार ती स्थानमा ८१ वटा अस्थायी संरचनाहरु बनेका छन् । ती संरचनाहरु हटाइए करिव साढे दुई विगाह जग्गा समिति मातहत आउनेछ । सरोकारवाला पक्षहरुले पनि कानूनसम्मत थालिएको कामलाई सहयोग गर्ने जनाएका छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,