सुर्खेत– सुर्खेत वीरेन्द्रनगर १२ की ९३ वर्षीया नियात्राकार नन्दकला सुवेदीलाई नियात्रा पुरस्कार प्रदान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा शनिबार साहित्य सन्ध्या– हरिप्रिया हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार एवं सम्मान २०७९ लेखिका सुवेदीलाई प्रदान गरिएको हो ।
कार्यक्रममा लेखक नन्दकला सुवेदीको व्यक्तित्व र उनीद्वारा लेखिएको नियात्रा सङ्ग्रह अठासी वर्षमा कैलाश मानसरोवरका बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा वक्ताहरूले जेष्ठ नागरिक नियात्राकार सुवेदी लेखनमा सबै उमेर समूहका लेखकहरूका लागि प्रेरणाकी स्रोत बनेको टिप्पणी गरेका थिए । उनी ४० वर्षको उमेरमा अक्षर चिनेर प्रौढ शिक्षिका हुँदै सामाजिक अभियन्ता कहलिएकी थिइन् ।
८८ वर्षको उमेरमा कैलाश मानसरोवर पर्वतको यात्रा वृतान्त समेटिएको उनले गत वर्ष प्रकाशन गरेकी थिइन् । स्वास्थ्यका कारण उपस्थित हुन नसकेकी सुवेदीको धन्यवाद एवं आशिर्वाद वक्तव्यको अडियो कार्यक्रममा सुनाइएको थियो ।
साहित्य सन्ध्याद्वारा आयोजित सो कार्यक्रममा साहित्यकार श्री उमेश उपाध्यायलाई २०७९ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’, साहित्यकार श्री खेमराज निरौलालाई २०७९ सालको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’, नेपालकै वरिष्ठ स्नायु रोग विशेषज्ञ डा.वसन्त पन्तलाई २०७९ सालको ‘साहित्य सन्ध्या–कृबा’ पुरस्कार तथा सम्मान र अर्घाखाँचीकी विद्यार्थी गोमा कामीलाई २०७९ सालको साहित्य सन्ध्या – मन पुरस्कार तथा सम्मान’ प्रदान गरिएको थियो ।

कर्णाली समय । २ भाद्र २०८०, शनिबार २१:४०