सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदमा रहुञ्जेल जिम्मेवारीबाट नभाग्ने भन्दै प्रदेशका नियमित काम–कारबाहीमा विलम्ब नगर्ने बताएका छन् ।
आगजनी र तोडफोडबाट क्षतिग्रस्त संरचनाको अवलोकनपछि आइतबार पत्रकारसंगको भेटघाटमा मुख्यमन्त्री कँडेलले यथाशिघ्र क्षतिग्रस्त संरचनाको व्यवस्थापन गरिने बताए । ‘प्रदेशसभा र प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय पूर्ण रुपमा क्षति भएको पाइयो, अरु कार्यालयमा छिटपुट क्षति भएको रहेछ, ती कार्यालयको व्यवस्थापनका सम्बन्धमा योजना पेश गर्न प्रमुख सचिवलाई निर्देशन दिइएको छ,’ उनले भने, ‘यसैलाई देखाएर बजेट कार्यान्वयनमा ढिलासुस्ती गर्न पाइँदैन भनेर सचिवहरुलाई निर्देशन दिइसकेको छु ।’ परिस्थिति साम्य भएसंगै प्रदेश सरकारका मन्त्रीहरु समेत प्रदेश राजधानी फर्कन थालेको बताए ।
मुख्यमन्त्री कँडेलले जेनजी उमेरलाई प्रयोग गरेर अर्कै उद्देश्य हासिल गर्ने नियतले आन्दोलन गरिएको घटनाक्रमबाट पुष्टि हुँदै गएको टिप्पणी गरे । केही गल्ती भए सजाय गर्ने निकाय र आवधिक निर्वाचनमार्फत हराउन सकिने बाटो हुँदाहुँदै जेनजीका नाममा अराजकता र प्रतिशोध साँधेर व्यक्तिगत र सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने काम भएको उनको भनाई छ ।
मुख्यमन्त्री कडेलले जेनजी आन्दोलनका भएको क्षति र जेनजीको भावना अनुसार रुपान्तरण हुन प्रमुख तीन दल तयार रहेको धारणा राखे । अहिले पनि सचेत जनमत कांग्रेस, एमाले र माओवादीमै रहेकाले संविधानको रक्षा गर्न दलहरुको विकल्प नभएको बताए ।
साथै उनले प्रधानमन्त्री सुशिला कार्कीले जेनजीको भावना अनुसार काम गर्न नसक्ने दाबी गरे । ‘एउटा सु–संगठित पार्टीले शासन चलाउँदा त यो हालत छ, भद्रकालीमा प्रधानमन्त्री माग्नेले सुशासन दिने कुरा पत्याउन सकिन्न, उनले भने, ‘७२ वर्षको व्यक्तिले जेनजीको भावना अनुसार काम गर्ने कुरा पत्याउन, सकिन्न, यद्यपि देश चलाउने कुरालाई उमेरका आधारमा मात्र हेरिनुहुन्न ।’
क्षतिको लगत संकलन गरिँदै
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रदेश सरकारले मुख्यमन्त्री कार्यालयका उपसचिव कृष्ण खरेलको संयोजकत्वमा क्षतिको मूल्यांकन गर्न समिति गठन गरेको छ । समितिले जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरेर क्षतिको लगत संकलन र मूल्यांकन गर्नेछ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि सार्वजनिक र निजी सम्पत्तिमा पुगेको क्षति आँकलन गरी विवरण संकलन गर्न सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीको संयोजकत्वमा कार्यदल गठन गरिसकेको छ ।
कार्यदललाई तीन दिनभित्र क्षतिको मूल्यांकनसहितको विवरण पेश गर्न कार्यादेश दिइएको छ । प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले गठिन कार्यदलले काम शुरु गरिसकेको जानकारी दिए । उनले आगजनीबाट क्षतिग्रस्त कार्यालयबाट सेवा निरन्तरता दिने सम्बन्धमा सहजीकरण गरिएको बताए ।
प्रदेश राजधानी रहेको वीरेन्द्रनगरमा कर्णाली प्रदेशसभा, मुख्यमन्त्री निवास, कृषिमन्त्री निवास, नापी कार्यालय, प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालय, वीरेन्द्रनगर नगरपालिका र विभिन्न वडा कार्यालयहरु पूर्ण क्षतिग्रस्त छन् । त्यस्तै वीरेन्द्रनगरस्थित कांग्रेस, एमाले, माओवादी, राप्रपा र जनमोर्चाका पार्टी कार्यालयहरुमा आगजनी र तोडफोडबाट पूर्ण क्षति पुगेको छ । तोडफोड र आगजनीबाट वीरेन्द्रनगर ४ स्थित मुख्यमन्त्रीको निजी निवास, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, उनका भाई विष्णु खड्काको व्यवसाय, डा डम्बर खड्काको घर, वीरेन्द्रनगर नगर प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनालको घर पनि पूर्ण क्षतिग्रस्त छन् ।
आगजनीबाट सबैभन्दा बढी क्षति हुने संघीय कार्यालयमा नापी कार्यालय रहेको छ । त्यहाँ रहेका जमिन व्यवस्थापन र स्वामित्व प्रमाणीकरणसम्बन्धी महत्वपूर्ण कागजात, सफ्टवेयर सबै नष्ट भएको बताइएको छ ।

कर्णाली समय । २९ भाद्र २०८२, आईतवार २०:२२