सुर्खेत– अपराधका घटनामा वृद्धि भएपछि वीरेन्द्रनगर नगरपालिकाले सार्वजनिक स्थानमा क्लोज सर्किट (सिसि) टिभी क्यामरा जडान थालेको छ । बढ्दो जनघनत्वका कारण सार्वजनिक अपराध, सवारी दुर्घटनाका घटना बढेपछि नगरपालिकाले ३५५ स्थानमा क्यामेरा जडानको प्रक्रिया थालेको हो ।

यससम्बन्धी कार्य अघि बढाउन वीरेन्द्रनगर नगरपालिका, नेपाल टेलिकमको प्रादेशिक कार्यालय र जिल्ला प्रहरी कार्यालयबीच भएको त्रिपक्षीय सम्झौता छ । सम्झौता अनुसार चालू आवमा पहिलो चरणमा सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै ६ महिनाभित्र १०५ स्थानमा सीसी क्यामेरा जडान गरिनेछ भने दोस्रो चरणमा आवश्यकताका आधारमा थप २५० स्थानमा सिसिटिभी क्यामेरा जडान गरिनेछ ।
सम्झौतामा टेलिकमले अप्टिकल फाइबरसहितको सिसि क्यामेरा र वाईफाई हटस्पट जडान गर्नुपर्नेछ । यसरी जडान भएका क्यामेरालाई चौबिसै घण्टा सञ्चालनमा ल्याउन टेलिकमले अप्टिकल फाइबरसहितको सेवा दिनुपर्नेछ । साथै, टेलिकमले वीरेन्द्रनगर नगरपालिकाको प्रांगण, वडा नं. ६ र ८ स्थित घण्टाघर प्रांगणमा वाईफाई हटस्पट बनाउन इन्टरनेट जडान गर्नेछ । । जडान गरिएका क्यामेराको नगरपालिकाले सञ्चालन, व्यवस्थापन तथा आवश्यक मर्मत सम्भार गर्नेछ । नगरपालिकाले चालू आर्थिक वर्षमा नगर क्षेत्रमा सीसी क्यामेरा जडानका लागि ११ लाख ६९ हजार रुपैयाँ बजेट व्यवस्थापन गरेको छ ।
नगरपालिकाले विभिन्न वडा, राजमार्गका मुख्य स्थान, पर्यटकीय स्थल, चोकहरुमा क्यामेरा जडान गर्ने तयारी गरेको छ । नगर प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर नगरपालिकालाई डिजिटल पालिका र सुरक्षित सहरको रुपमा विकासमा गर्ने उद्देश्यले क्यामरा जडानको कामलाई निरन्तरता दिने बताइन् । नगर प्रमुख ढकालका अनुसार बढ्दो जनसंख्याका कारण लागुऔषध दुर्व्यसनी , चोरी डकैती, झै–झगडा, सडक दुर्घटना तथा अन्य सुरक्षा चुनौतीलाई प्रविधिमार्फत नियन्त्रण गर्न सीसी क्यामेरा जडान गर्न लागिएको हो, नगर गौरवको आयोजनाको रूपमा वीरेन्द्रनगरलाई व्यवस्थित सहर बजाउने योजना अनुरुप विधिको शासनलाई प्रविधिमा जोड्ने प्रयास थालिएको छ ।
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतका प्रमुख कमल लामिछानेले स्मार्ट सिटीको पूर्वाधार तयार गरिरहेको वीरेन्द्रनगरले शुभारम्भ गरेको सीसी क्यामेरा जडानले राष्ट्रको डिजिटल दशक घोषणालाई सघाउ पु¥याउने बताए । ‘यसले वीरेन्द्रनगरको सहरी सुरक्षा अनुगमनमा ठूलो टेवा पुग्दछ, प्रविधिमा आएको परिवर्तनसँगै यससँग जोडिएर आउने साइबर अपराध नियन्त्रणमा मद्दत पुग्दछ, उनले भने, यस्तो अभियान अन्य स्थानीय तहले पनि अनुसरण गर्नुपर्छ, आम नागरिकले पनि सहयोग पु¥याउनुपर्छ ।’ २०३० सम्म सबै पालिकालाई डिजिटलमैत्री बनाउन सरकारले थालेको अभियान पूरा गर्ने गरी गुणस्तरीय दूरसञ्चार सेवा प्रवाहमा टेलिकम लागिपरेको उनको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधीरराज शाहीले नगर क्षेत्रमा जडान गरिने सीसी क्यामेराले यहाँको शान्ति सुरक्षा मजबुत बनाउन सघाउ पु¥याउने विश्वास व्यक्त गरे । ‘यसबाट नागरिकलाई सुरक्षाको अनुभूतिसँगै सुरक्षा व्यवस्थालाई मजबुत बनाउन सीसी क्यामेरामार्फत सबै खाले अपराधमा अनुसन्धान गरी यस्ता घटना न्यूनीकरणमा टेवा पुग्नेछ, उनले भने । प्रहरीलाई अनुसन्धानमा सहज मात्रै होइन, अब वीरेन्द्रनगरमा हुने यस्ता अपराधका घटनामा संलग्न हुने व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउन पनि सहज हुने अपेक्षा गरिएको छ ।


कर्णाली समय । १७ श्रावण २०८२, शुक्रबार १५:५२