कर्णालीमा मन्त्रालय भागबण्डामा सहमति जुट्यो, मुख्यमन्त्रीले विश्वासको मत लिँदै

सुर्खेत— कर्णाली प्रदेश सरकार गठन भएको करिब तीन सातापछि सत्तारुढ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता साझेदारीका विषयमा सहमति जुटेको छ । बुधबार दुई दलका संसदीय दलका नेताबीच मन्त्रालय बाँडफाँटसहित सरकार सञ्चालनका विषयमा सहमति भएपछि मुख्यमन्त्री मंगलबहादुर शाहीले आजै प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।


मुख्यमन्त्री शाही गत साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका थिए । सरकार गठनपछि मन्त्रालयको भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तार र प्रदेश सरकारको कामकारबाही प्रभावित हुँदै आएको थियो । एमालेसँग सत्ता साझेदारीको टुंगो लागेसँगै अब सरकार विस्तारको बाटोसमेत खुलेको छ ।
बुधबार भएको सहमतिअनुसार कर्णाली प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछ ।

त्यस्तै, एमालेले आर्थिक मामिला तथा योजना, सामाजिक विकास र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाउने सहमति भएको छ ।
मन्त्रालय भागबण्डाका अतिरिक्त दुई दलबीच सरकार गठन र सञ्चालनका विषयमा भएको सहमतिमा प्रशासनिक संरचना सुधारका लागि यसअघि गरिएका निर्णय कार्यान्वयन गर्दै बाँकी सुधारका कामलाई निरन्तरता दिने उल्लेख छ । आर्थिक वर्ष २०८२÷८३ को बजेट पारित गर्दा प्रदेशसभामा रहेका दलहरूबीच भएको सहमतिअनुसार बजेट कार्यान्वयन गर्ने विषयमा पनि दुई दल सहमत भएका छन् । ३० लाख रुपैयाँभन्दा माथिका योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने विगतको नीतिलाई निरन्तरता दिने सहमति भएको छ ।

नयाँ नीति, कार्यक्रम, मनोनयन तथा नियुक्तिका विषयमा भने दुई दलबीच आपसी सहमति भएपछि मात्र कार्यान्वयन प्रक्रिया अघि बढाउने सहमति भएको छ । प्रदेश सरकार सञ्चालन गर्दा सुशासन, मितव्ययिता र पारदर्शिता कायम गर्ने प्रतिबद्धता पनि सहमतिपत्रमा उल्लेख गरिएको छ । सहमतिपत्रमा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल र नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री मंगलबहादुर शाहीले हस्ताक्षर गरेका छन् ।

मन्त्रालय बाँडफाँटमा सहमति हुन नसक्दा मुख्यमन्त्री शाहीले सरकार गठन गरेको लामो समयसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् । एमाले र नेकपाबीच मन्त्रालयको संख्यासहित सरकार सञ्चालनका प्राथमिक विषयमा सहमति भएपछि राजनीतिक गतिरोध अन्त्य भएको छ । अब मुख्यमन्त्री शाहीले बुधबार नै प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । सरकारलाई विश्वासको मत प्राप्त भएपछि मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अघि बढ्नेछ । मुख्यमन्त्री शाहीले विश्वासको मत पाएपछि सरकारलाई पूर्णता दिने र बाँकी रहेका मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी रहेको बताइएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,