सुर्खेत– वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबारदेखि सुरु १७ औं नगरसभामा नगर प्रमुख मोहनमाया ढकालले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।
नीति तथा कार्यक्रममा नागरिक सहभागिता बढाउन नगरपालिकाले सामाजिक सञ्जालमार्फत राय सुझाव संकलन गरेको थियो । प्रस्तुत नीति तथा कार्यक्रममा विगत कतिपय कार्यक्रमले निरन्तरता पाएका छन् भने केही नयाँ कार्यक्रम थपिएका छन् ।
वीरेन्द्रनगरले सम्भावनाको खोजी गर्दै बसाइँसराइ भई आएकाहरुलाई स्वागत गर्दै उनीहरुसंग भएको रैथाने सीप र क्षमता नगरको विकास र समृद्धिमा उपयोग गर्न ज्ञान बैंक स्थापना गर्ने नयाँ नीति अघि सारेको छ । नगर बस सञ्चालन, कर्णाली बसपार्क स्थापना, वीरेन्द्रचौकमा ट्राफिक लाइट, मुख्य चोकमा आकाशे पुल, नगर अस्पताललाई स्तरोन्नति गर्ने भएको छ । नगरबाट वितरण गरिने सेवाहरुको डिजिटलाइज्टेशन, भवनहरुको लेआउट र रंगरोगनमा एकरुपता अपनाउने, साबिकका स्थानीय निकायमा करारमा नियुक्त भई काम गर्दै आएकालाई नगद प्रोत्साहनसहित स्वेच्छिक अवकाशको अवसर दिने, कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने नीति लिएको छ । नगरपालिकाका कर्मचारीले हरेक शुक्रबार स्थानीयता झल्कने पोसाकको अनिवार्य व्यवस्था गरी अलग पहिचानको प्रबन्ध गर्ने भएको छ ।
त्यस्तै घण्टाघर पार्क दक्षिण पट्टि मप विश्वविध्यालयको उत्तर तर्फको क्षेत्रलाई आइटी जोन पार्कको रुपमा विकास गरि खुला अध्ययनको क्षेत्रको रुपमा विकास गर्ने, स्वच्छ खानेपानीका लागि वाटर एटिएम प्रणाली जडान गर्ने जनाएको छ । सञ्चार नीति बनाउने, सूचना प्रविधि पार्क स्थापना, यूवा उद्यमशीलता प्रोत्साहन (स्टार्टअप इन्क्युबेसन सेन्टर) स्थापना गर्ने जनाएको छ ।
भेरी लिफ्टिङ खानेपानी आयोजनालाई तिव्रता पूर्वक निर्माण गरी सम्झौता अवधि २ वर्ष भित्रै सम्पन्न गर्ने, वीरेन्द्रनगर ९ मा रहेको १५ शैयाको नगर अस्पताललाई आगामी आवमा सम्पन्न गर्ने, भेरी आर्यघाटलाई निर्माण सम्पन्न गरी आधुनिक घाटको रुपमा विकास गर्ने, ल्याण्डफिल साइट पूर्वाधार निमाणलाई निरन्तरता दिने, गरिव तथा जेहेन्दार छात्रछात्राहरुको उच्च शिक्षामा सहयोग गर्ने उद्देश्यले मध्यपश्चिम विश्वविध्यालयमा वीरेन्द्रनगर उच्च शिक्षा शैक्षिक छात्रवृति कोष स्थापना गर्ने, कक्षा ८ सम्म हामी र हाम्रो वीरेन्द्रनगर नामको स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने कार्यलाई प्राथमिकतामा राख्ने भएको छ । महिला तथा किशोरी स्वास्थ्यका कार्यक्रमलाई निरन्तरता दिएको छ ।
“वीरेन्द्रनगरको अठोट पकेट क्षेत्रमा जोड” भन्ने नारा अनरुप नगरपालिकाले निर्धारण गरेका विभिन्न बालीका पकेट क्षेत्र अनुसार उत्पादन हुने बालीलाई प्राथमिकतामा राखी सोही बमोजिम बाली वस्तुहरुको पकेट क्षेत्र निर्माण तथा विस्तारका लागि कार्यक्रम संचालन गर्ने नीति अबलम्बन गर्ने भएको छ । कौशी खेतीलाई प्रर्वद्धन गर्ने, लिज र जग्गा करार मार्फत खेती गर्ने कृषकलाई जग्गा भाडामा अनुदान तथा खेती गर्न सम्भावित ठाँउमा आवश्यक पूर्वाधार (सिंचाई, सडक आदि ) निर्माण गर्ने भएको छ । त्यस्तै छेडादेखि गढी भ्यू सम्मको क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गर्दै एकै प्रकृतिका ऐतिहांसिक पर्यटकीय क्षेत्र झल्कने गरी भवनसंहीता जारी गर्ने लागू गर्ने नीति लिएको छ ।

कर्णाली समय । १० असार २०८२, मंगलवार १७:०१