माधव नेपाल लक्षित प्रदीप ज्ञवालीको टिप्पणी, ‘केही नेताहरुमा प्रधानमन्त्री बन्छु कि बन्दिनँ भन्ने मात्र चिन्ता छ’

सुर्खेत–नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा देश बनाउने र आफू मात्र बन्ने दुई खाले प्रवृत्ति देखिएको बताएका छन् ।

स्थानीय विकास विभागको आयोजना सुर्खेतमा शुरु स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि प्रदेशस्तरीय प्रशिक्षण शिविरलाई सम्बोधन गर्दै उनले एमालेलाई मन्त्री, प्रधानमन्त्रीको पदको चिन्ता नरहेको बताए । ‘हामीलाई मन्त्रालय, प्रधानमन्त्रीको चिन्ता छैन्, देश बनाउने, सुशासन, विकास र समृद्धिको अभियान कसरी अगाडि बढाउने भन्ने चासो छ,’ एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित ज्ञवालीले भने, ‘तर केही नेताहरुमा रात दिन, सपना विपनामा पनि रोजेको मन्त्रालय र आफू प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर घुर्काउँदै हिँडेका छन् ।’

नेता ज्ञवालीले एमालेविरुद्धको घेराबन्दी अन्त्य गरी मुलुकलाई गठबन्धनबाट मुक्त गर्न सफल भएको बताए । मुलुकको राष्ट्रिय हितमा भएका श्रृंखलाबद्ध प्रहारलाई रोक्न वर्तमान सत्ता समिकरण सफल हुँदै गएको उनको दाबी थियो । समाजवादको आधार निर्माण गर्न बलियो राष्टिय शक्तिको आवश्यकता औंल्याउने उनले त्यसका लागि स्थानीय तहका जनप्रतिनिधिले पार्टीको घोषणापत्र र कार्यदिशाको कार्यान्वयन गर्न ध्यान दिनुपर्ने विचार व्यक्त गरे ।

एमाले स्थानीय विकास विभागका प्रमुख समेत रहेका राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक देवेन्द्र दाहालले प्रदेशस्तरमै प्रशिक्षण कार्यक्रम आयोजनाले जनमुखी नीति तथा कार्यक्रम र बजेट निर्माणमा टेवा पुग्ने विचार व्यक्त गरे । एमाले प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाहले पार्टीबाट निर्वाचित जनप्रतिनिधिले मुलुकमा एमालेप्रति आशा एवं भरोसा जोगाउन सफल हुनुपर्ने बताए । उनले प्रशिक्षणले जनप्रतिनिधि र पार्टीबीच समन्वय, सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

एमाले कर्णाली प्रदेश कमिटीको व्यवस्थापन तथा स्थानीय विकास विभागको आयोजनामा मंगलबादेखि तीन दिने प्रदेशस्तरीय प्रशिक्षण शुरु भएको हो । प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा पार्टी पोलिटब्युरो सदस्य लक्ष्मीप्रसाद पोखरेल, केन्द्रीय सदस्य मिनासिं रखाल, केन्द्रीय स्कूल विभागका सदस्य गेहेन्द्रप्रसाद दाहाल, प्रदेश कमिटीका पदाधिकारी लगायतको उपस्थिति थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,