
सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सुनसरी, सिराहा लगायत मधेश प्रदेश विभिन्न स्थानमा पछिल्ला केही दिनयता भएका मानवीय तथा धनजनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
मुख्यमन्त्री शाहीले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत यस्ता दुःखद घटनाले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा राष्ट्रिय एकतामाथि प्रतिकूल प्रभाव पार्नुका साथै मुलुकमा अशान्ति र असुरक्षाको वातावरण सिर्जना हुनु अत्यन्तै चिन्ताको विषय भएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, सामाजिक न्याय तथा राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै वर्तमान संवेदनशिल परिस्थितिमा सबै पक्षले उच्च संयमता अपनाई कानुनको पूर्ण पालना गर्न र शान्ति, सद्भाव, भाइचारा तथा आपसी विश्वासलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गरिएको छ । कर्णाली र मधेशबीच सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपमा गहिरो आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले मधेशले भोगिरहेको दुःखको घडीमा कर्णाली प्रदेश सरकार र कर्णालीबासी पनि उत्तिकै मर्माहत भएको बताएका छन् ।
कुनै पनि जातजाति, भाषा, धर्म वा सम्प्रदायबीच वैमनस्य फैलाउने गतिविधिबाट टाढा रहन उनले आग्रह गरे । उनले अपिलमा भनेका छन्, “सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम, सरोकारवाला निकाय तथा आम नागरिकले शान्ति, सद्भाव, सहिष्णुता, कानुनी शासन र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनतर्फ केन्द्रित हुनुपर्ने देखिएको छ ।” मुख्यमन्त्री शाहीले मधेश घटनाका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शिघ्र स्वास्थ्यलाभको गरेका छन् ।



कर्णाली समय । १५ श्रावण २०८३, शुक्रबार १५:१५