सुर्खेत- दोस्रो कर्णाली प्रदेशस्तरीय आईटीएफ तेक्वान्डो प्रतियोगिताको फाइनल खेल तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । प्रतियोगिताको समापन समारोहमा विजेता खेलाडीलाई कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
प्रतियोगितामा कर्णाली प्रदेशका १० जिल्लाका खेलाडीहरूले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । यस वर्षको प्रतियोगिताको सबैभन्दा प्रेरणादायी खेलाडी भने भेरीगंगा नगरपालिकाकी २० वर्षीया भूमिका राझीको प्रदर्शन बन्यो । उनले तीन महिनाको शिशुलाई काखमै लिएर ५० केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भइन् ।
परिषद्का उपाध्यक्ष प्रमोद हमालले उनको यो साहसिक उपलब्धिले खेलप्रतिको समर्पण, आत्मविश्वास र महिलाको अदम्य इच्छाशक्तिको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए । उपाध्यक्ष हमालले तीन महिनाको शिशु काखमा बोकेर प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भई स्वर्ण जित्नु आफैंमा प्रेरणादायी उपलब्धि भएको बताए । यस्तो उदाहरणले कर्णालीका महिलाहरू खेलकुदप्रति उत्तिकै उत्साहित र प्रतिबद्ध रहेको पुष्टि गर्ने उनको भनाई थियो ।
उपाध्यक्ष हमालले परिवार, मातृत्व र खेलकुदलाई सँगसँगै अगाडि बढाइरहेका महिला खेलाडीहरू राज्यबाट विशेष सम्मान र प्रोत्साहनका हकदार रहेको उल्लेख गर्दै यस्ता खेलाडीलाई लक्षित गरी प्रोत्साहनमूलक नीति ल्याउन आवश्यक रहेको धारणा राखे । प्रतियोगितामा विभिन्न उमेर र तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा भएको थियो। आयोजकका अनुसार प्रतियोगिताले कर्णालीमा आईटीएफ तेक्वान्डोको विकास, प्रतिभा पहिचान तथा राष्ट्रियस्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ।



कर्णाली समय । २० असार २०८३, शनिबार २०:२६